काठमाडौं – नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १९ हजार नाघेको छ । मंगलबार थप ३ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै मुलुकमा संक्रमितको संख्या १९ हजार ६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा।डा जागेश्वर गौतमले मुलुकका विभिन्न जिल्लामा गरी पछिल्लो २४ घण्टामा थप ३ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ सय २१ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या १३ हजार ८ सय ७५ पुगेको छ ।
मुलुकका विभिन्न जिल्लामा निर्माण गरिएको क्वारेन्टिनमा रहेको संख्या १५ हजार ३ सय ३१ रहेको र आइसोलेसनमा ५ हजार १ सय २९ जना रहेका छन् ।
काठमाडौं उपत्यकाका तीन वटै जिल्लामा गरी आज एकैदिन ५३ जना कोरोना संक्रमित भेटिएका छन् । संक्रमितमध्ये अधिकांश प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत सुरक्षाकर्मी रहेका छन् ।
मन्त्रालयका अनुसार नक्सालका २३ जना प्रहरीमा कोरोना संक्रमण देखिएको हो । यसअघि त्यहाँ एक हवल्दारलाई संक्रमण देखिएको थियो । उनको कन्ट्याक्ट ट्रेसिङ गर्दा ३ जना प्रहरीमा पोजिटिभ देखिएको थियो । ती तीन जनाको कन्ट्याक्ट ट्रेसिङ गर्दा थप २३ जनालाई संक्रमण देखिएको बताइएको छ । मंगलबार उपत्यकामा हालसम्मकै धेरै संख्यामा कोरोना संक्रमित पुष्टि भएका छन् ।
यस्तै, कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका अनुसार बझाङका ६५ वर्षीय पुरुषको साउन ९ गते मृत्यु भएको हो । बझाङ जिल्ला बुङ्गल नगरपालिका वडा नम्बर तीन स्थायी घर भएका उनी असार २५ गते भारतको बैंगलोरबाट आएका थिए ।
उनको कोरोना परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको मन्त्रालयले जानकारी दिएको छ । उनी दमका रोगी भएको मन्त्रालयको भनाइ छ । यो सहित नेपालमा कोरोना संक्रमण देखिएका ४९ जनाको मृत्यु भएको छ ।