हिलाम्य सडक : पैदलयात्रीलाई सधै सास्ती

हिलाम्य सडक : पैदलयात्रीलाई सधै सास्ती

बागलुङ : निरन्तरको बर्षाले कच्ची सडक हिलाम्मे बनेपछि जिल्लाका सबै स्थानीय तहका सर्वसाधारणले सास्तीपूर्ण यात्रा गर्न बाध्य भएका छन् । आर्थिक बर्ष सकिनै लाग्दा खनिएका नयाँ सडक र पुराना सडकको स्तरोन्नतीको कामले सडक प्रयोगबिहिन भएका हुन् ।

सवारी गुडाउन बनाईएका सडकमा पैदल यात्रा गर्न समेत कठिन रहेको बागलुङ नगरपालिका वडा नं. ९ तित्याङका हिरा बहादुर खड्काले बताए । तित्याङमा निर्माण भैरहेको तित्याङ–ठुलढुंगा सडक स्तरोन्नतीको कामले सडक हिलाम्मे बनेको छ । ‘बिहान खेतिपातीमा जाँदा हिँडेको बाटो साँझ फर्किने बेला हिँडिसक्नु हुन्न’ खड्काले भने ‘पानी पर्न थालेपछि जमिन भत्काउन थाल्छन्, सधैंको सास्ती भयो बाटो ।’

सदरमुकाम बागलुङ बजार र मध्यपहाडी लोकमार्गको घोडाबाँधे बुर्तिबाङ, पातिहाल्ने खण्डबाहेक जिल्लाका सडक कच्चि छन् । कच्चि सडकका कारण बर्षायाममा सबैभन्दा बढि मर्कामा पैदलयात्री पर्ने गरेका छन् । ‘बाटो हिलाएको खेतजस्तै भएको छ, गाडी त चल्दैनन्, पैदल हिँड्नसमेत कठिन हुने’ बरेङ गाउँपालिका–१ का सकस बहादुर क्षेत्रीले भने ‘सधैको सास्ती दिने यो कस्तो बिकास हो ?’

बर्षामा भत्काईएका सडकले मानवबस्ती तथा सार्वजनिक निकायका संरचनामा समेत असर गर्ने गरेको छ । स्थानीय सरकारले चलाएकाभन्दा प्रदेश सरकार र केन्द्र सरकारसँगको साझेदारीमा बनिरहेका सडकहरु बर्षा लागेपछि मात्रै काम सुरु हुने गरेका छन् । गण्डकी प्रदेश सरकारको समपुरक अनुदान र बागलुङ नगरपालिकाको सझेदारीमा बनिरहेको तित्याङ–ठुलढुंगा सडक साझेदारीमा निर्माण हुने सडकको ज्वलन्त उदाहरण हो । सडकले सर्वसाधारणलाई सुविधा भन्दा बढी सास्ती दिएको छ ।

लकडाउनका कारण रोकिएका साझेदारीका काम रकम फ्रिज हुने भएपछि अन्तिम समयमा धमाधम भैरहेका छन् । सडकका संरचना बनाउनेभन्दा कटिङका काम धेरै हुँदा हिलो र बाढीले सास्ती दिने गरेको छ । कोभिडका कारण समयमा काम नसकिएकाले सबै निर्माण व्यवसायीले अन्तिम समयसम्म काम गर्नुपरेको निर्माण व्यवसायी दिपेन्द्र खड्का बताउँछन् । ‘निरन्तरको बर्षाले नयाँ बनेका काममा स्थानीयलाई मात्रै होईन हामीलाई समेत बाधा छ’ उनले भने ‘सम्झौताअनुसार काम गर्नुपर्ने छ तर जताजतै समस्या छन् ।’

पूर्वाधार निर्माणका काम म्याद थपेर गर्ने योजना रहेको भएपनि नाली निर्माण र तारजाली भर्नेजस्ता काम समयमा नसक्दा थप समस्या उत्पन्न हुने भएकाले बर्षामा समेत निर्माण कम्पनीलाई काम गर्न लगाईएको बागलुङ नगरपालिकाका इञ्जिनियर मनोज शर्माले बताए । खेतीपातीको समय भएकाले पैदलमार्गसमेत नहुँदा सर्वसाधारणले भने निकै ठुलो समस्या भोग्दै आएका छन् ।

सम्बन्धित खवर