पथरी शनिश्चरेमा थप २ जनामा कोरोना पोजेटिभ

पथरी शनिश्चरेमा थप २ जनामा कोरोना पोजेटिभ

पथरी, मोरङको पथरी शनिश्चरे नगरको क्वारेन्टिनमा रहेकामध्ये थप २ जनामा कोरोना पोजेटिभ देखिएको छ । पथरी बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टिनमा रहेका २ जना महिलामा कोरोना पोजेटिभ देखिएको नगर प्रमुख दिलीपकुमार राईले जनाउनु भयो ।

दुवैजना कुवेतबाट नेपाल आएर असार २४ गतेदेखि सिधै नगरको क्वारेन्टिनमा बस्दै आउनु भएको थियो । उहाँहरुलाई प्रदेश कोभिड अस्पताल विराटनगरमा पठाउने प्रक्रिया अघि बढाइएको छ । नगर प्रमुख राईले कोरोना भाइरस लाग्नबाट बच्नका लागि थप सजगता अपनाउन नगरवासीलाई अनुरोध समेत गर्नु भएको छ ।

हालसम्म नगरको क्वारेन्टिनमा २ सय ३१ पुरुष र ५७ महिला गरी २ सय ८८ जना बसेकोमा २ सय ४७ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण भइसकेको छ । जसमध्ये कोरोना नदेखिएका २ सय ४५ जना घर फर्किसकेको नगरका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले जनाउनु भयो । नगरमा २ सय ५९ जनामा कोरोनाको आरडीटी समेत परीक्षण गरिएकोमा सो परीक्षणमा भने कसैमा पनि कोरोना नदेखिएको पनि उहाँले बताउनु भयो ।

यसअघि पथरी शनिश्चरे कै एकजना पुरुषको राष्ट्रिय प्रयोगशाला टेकुमा परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएकोथियो । त्यस अघि पनि पथरी शनिश्चरेकै तर नगरबाहिर कार्यरत एकजना पुरुषमा पनि कोरोना पोजेटिभ पाइएको थियो । नगरको क्वारेन्टिनमा रहेकाहरु मध्ये यो पहिलो पटक कोरोना पोजेटिभ पाइएको हो ।

सम्बन्धित खवर