सहकारी एकीकरणको कार्यविधि विपरित मनकामना र महिला साकोस

सहकारी एकीकरणको कार्यविधि विपरित मनकामना र महिला साकोस

भीमराज अधिकारी, पथरी

सहकारी एकीकरणका लागि बनेको सरकारी कार्यबिधि विपरित रहेर २ वटा सहकारी एकीकरणको तयारीमा जुटेका छन् । मोरङको पथरी शनिश्चरे १ मा रहेको मनकामना बचत तथा ऋण सहकारी संस्था लि. र इटहरी ४ सुनसरीमा रहेको महिला बचत तथा ऋण सहकारी संस्था लि. नियम मिचेर एकीकरणको तयारीमा जुटेको शेयर सदस्यहरुको गुनासो छ ।

सहकारी संघसंस्था एकीकरण सम्बन्धी कार्यविधि २०७७ को नियम मिचेर एकीरणको तयारीमा जुटेका यी संस्थाले एकीकरणको अन्तिम तयारी भइरहेको बताएका छन् । कार्यविधिको परिच्छेद ३ को ११ नं. बुँदामा कार्यालयले अपनाउनुपर्ने कार्यविधि उल्लेख गरिएको छ । ११ को ‘ग’ मा भनिएको छ ‘‘कार्यालयले एकीकरण सम्बन्धी १५ दिने सूचना तयार गरी एक जिल्ला भन्दा बढि कार्यक्षेत्र भएमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको पत्रिकामा र अन्यमा कुनै एकमा कम्तीमा एक पटक प्रकाशन गर्ने गराउने, स्थानीय रेडियोहरुबाट प्रशारण गराउने, कार्यालय, जिल्ला सहकारी संघ लिमिटेड, विषयगत जिल्ला सहकारी संघ लिमिटेड, सम्बन्धित संस्थाको सूचना पाटिमा टाँसगरी गुनासो उजुरी माग गर्ने ।’’
तर मनकामना र महिला बचत दुवैले ७ दिनको म्याद राखेर धरानबाट प्रकाशन हुने पत्रिकामा सूचना प्रकाशन गरेका छन् । यसरी हेर्दा यी दुबै संस्थाले कि कार्यविधि नै अध्ययन नगरी हचुवाको भरमा एकीकरण गर्दै छन्, की चाँही कार्यविधिलाई बेवास्ता गर्दै शेयर सदस्यका आखामा छारो हालिरहेका छन् सेयर सदस्य नगेन्द्र दाहालले बताए ।

 

यस्तै अर्को बुँदा परिच्छेद २ को ४ मा एकीकरणको व्यवस्थापन सम्बन्धी व्यवस्था राखिएको छ । ४ ख मा भनिएको छ ‘‘एकीकृत हुने संघ संस्थाहरुको शेयर सदस्य तथा संचालक समिति, लेखा समिति र अन्य उपसमितिका सबै सदस्य वा पदाधीकारी अथवा आवश्यकता अनुसारको उपस्थीतिमा एकीकरण सम्बन्धी अन्तरक्रिया छलफल कार्यक्रमको संचालन गरी सहमती जुटाउने ।’’ तर मनकामना साकोसले हाल सम्म पनि संचालक समिति र लेखा समिति बाहेक अरुसंग कुनैपनि छलफल गर्ने, सहमती जुटाउने काम गरेको छैन् । यसरी हेर्दा पनि केही व्याक्तिको इसारामा मनकामना इटहरी जान खोजेको शेयर सदस्यहरुको बुझाइ रहेको छ ।

मनकामनाले ७ दिने सूचना आफ्नो फेसबुक पेज सामाजिक संजालमा राखेपछि अधिकांशले एकीकरणको विपक्षमा धारणाहरु राखिरहेका छन् । नगरभित्रकै अरु सहकारीहरुसंग एकीकरण गर्नुपर्ने भनेर अधिकांशले दवाव दिइरहेका छन् । सुरुका समयमा एकीकरणको पक्षमा रहेर सहयोग गरिरहेका कार्यसमिति सदस्यहरुले अहिले बैठक नै बहिस्कार समेत गरेका छन् ।

एकीकरणका लागि तयारी मात्रै होला भनेर सहयोग गरियो तर अहिले नै यस्तो हतारमा एकीकरण गर्छन भन्ने लागेको थिएन, त्यही भएर अहिले हामीले बैठकमा नजाने, गएपनि हस्ताक्षर नगर्ने गरेको सदस्य प्रदिप पराजुलीले बताए । महिला साकोससंग एकीकरण गर्नुहुदैन भन्ने पक्षमा रहेका शेयर सदस्यहरुले हस्ताक्षर सङ्कल समेत गरिरहेका छन् ।

सम्बन्धित खवर