कोरोनाको कहरले यातायात क्षेत्र संकटमा

कोरोनाको कहरले यातायात क्षेत्र संकटमा

काठमाण्डौं – सरकारले गत चैत ११ देखि लकडाउन बिस्तारै खुकुलो हुँदै गए पनि सार्वजनिक सवारीसाधन भने आउने साउन ७ सम्मका लागि सञ्चालनमा रोक लगाएको छ । त्यसपछि पनि कहिले खुल्छ भन्ने अझै अनिश्चित छ । यसले गर्दा सार्वजनिक सवारी क्षेत्रसँग जोडिएका व्यवसायी र त्यसमा काम गर्ने मजदुर संकटमा धकेलिँदै गएका छन् । चार–चार महिना बेरोजगार हुँदा सवारीचालक र सहचालकहरू, टिकट काउन्टर चलाएर बस्नेहरू, सार्वजनिक सवारीलक्षित होटल तथा चियापसल सञ्चालन गर्नेहरू, राजमार्ग र सहर–बजारआसपास वर्कसप चलाएर बस्नेहरू, सबैजसो बेरोजगार भएका छन् ।

नेपालमा सार्वजनिक सवारीका साधन बस, माइक्रोबस र टेम्पो गरेर झन्डै तीन लाख सञ्चालनमा छन् । ती क्षेत्रमा रोजगारी पाइरहेकाहरूको संख्या नौ लाखजति छ । मिटर ट्याक्सीको संख्या १६ हजार छ । यसमध्ये कत्ति पनि सञ्चालनमा नरहेका बस, माइक्रोबस र टेम्पोका ९ लाख श्रमिक र व्यवसायी पूर्ण रूपमा बेरोजगार भएका छन् ।  नौ लाख मान्छे बेरोजगार हुनुको अर्थ तिनमा आश्रित कम्तीमा थप २५ लाखजति मानिसको जीवन अप्ठेरोमा धकेलिनु हो । सार्वजनिक सावारीमा आधारित भएर चल्ने व्यवसाय मोटर पाटर््स, मर्मत–सम्भार, पेट्रोल पम्पलगायतको व्यापार घटेको र तिनको समेत आम्दानीमा असर परिरहेको छ ।

कुल लगानीको ३० प्रतिशत सम्बन्धित ब्यबसायीको हुन्छ भने बाँकी बैंकको ऋण हो । यसको अर्थ सवारीसाधन नचल्दा त्यसको अर्थतन्त्रमा बहुआयामिक असर पर्छ र राज्यको राजस्व असुलीमा समेत असर देखा पर्छ । यसरी बहुआयामिक समस्या प्रतिनिधित्व गर्ने यातायात क्षेत्र कहिले, कसरी खोल्ने भन्ने विषयमा सरकारले तत्काल निर्णय गर्नुपर्ने देखिन्छ । सार्वजनिक सवारी नचल्नु भनेको नागरिकको बीचमा पनि विभेदको अवस्था सिर्जना गर्नु हो । आफ्नै सवारीसाधन हुने र नहुनेबीचमा सामाजिक द्वन्द्वको अवस्था पनि सिर्जना गर्छ । कोरोनाको संक्रमणको अवस्था अहिले पनि नियन्त्रणमा आइसकेको छैन ।  यस्तो अवस्थामा सार्वजनिक सवारी चलाउन दिँदा मानिसबीच भौतिक दूरी कायम गर्न कठिन हुने, लक्षण नदेखिएका संक्रमितको आवतजावत र सम्पर्क बढ्दै जाँदा रोग झन् फैलिन सक्ने जोखिम पनि त्यत्तिकै छ ।

यि र यस्तै बिषयहरुलाई भम्भिरतापुर्वक लिंदै सरकारले सार्वजनिक सवारीसाधन चल्न दिँदा जोखिम न्यून गर्ने उपाय अवलम्बन गर्ने गरी व्यवसायी र सरकारबीच वार्ता तत्काल थाल्नु जरुरी छ । एउटा जिल्ला र अर्को जिल्लाबीच सवारी चल्न नदिने या एउटा नगर र अर्को नगरबीच सवारी निषेध गर्ने, सवारीमा संक्रमण फैलन नदिने उपायहरू अवलम्बन गर्न कडाइ गर्नेजस्ता केही निश्चित मापदण्ड अपनाएर सवारी चल्न दिनु उपयुक्त हुन्छ ।

सम्बन्धित खवर