पोखराका घुम्नै पर्ने १० रमणीय स्थलहरु (यसरी बनेको रहेछ तालबाराही र फेवाताल)

पोखराका घुम्नै पर्ने १० रमणीय स्थलहरु (यसरी बनेको रहेछ तालबाराही र फेवाताल)

सञ्जय आचार्य, पोखरा

पोखरा उपत्यका मध्य नेपालमा पर्दछ । नेपालकै दोस्रो ठूलो नगरको रूपमा रहेको पोखरा महानगर सहित ४ वटा गाउँपालिका समेत रहेको पोखरा उपत्यकाबाट बिजयपुर, कोत्रे लगायतका खोलाहरू सेती नदीको जलाधारमा मिसिएर उपत्यका बाहिर निस्कन्छन् । पोखरा उपत्यका तालहरूको दृष्टिकोणले पनि धनी उपत्यका हो ।

यहाका रमणीय तालहरू र सेती नदी हिमाली छायां तथा झरनाहरू प्रमुख पर्यटकीय स्थल हुन् । फेवातालमा पर्ने माछापुच्छ्रेको छायाँ तथा बेगनासमा गरीने डुङगा सवारी बिर्सिनसक्नुका छन् । साथै अन्नपूर्ण पदयात्रामार्ग पनि यहीँबाट सुरू हुन्छ ।

पोखरा महानगरपालिकामा बिन्दवासिनी मन्दिर, धर्मशिला बुद्धविहार, मैत्री चैत्य तथा राधाकृष्ण मन्दिर, भद्रकाली मन्दिर, शोभाभगवती मन्दिर, सिद्धेश्वर महादेव, पुष्करेश्वर शिव मन्दिर, राम मन्दिर, केदारेश्वर मन्दिर आदि ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू रहेका छन् भने सेती नदीको गल्छी, चमेरे गुफा, पातले छाँगो महेन्द्र गुफा आदि यहाँका प्राकृतिक पर्यटकीय स्थलहरू हुन् ।

१. विन्धबासिनी मन्दिर

 

विन्ध्यवासिनी मन्दिर पोखरा शहरमा अवस्थित प्रसिद्ध मन्दिर हो। यो मन्दिरलाई पोखराका चर्चित पर्यटकीय स्थलमध्ये एक प्रमुख स्थलको रूपमा मानिन्छ। यहाँबाट अन्नपुर्ण हिमश्रृङ्खलाको राम्रो दृश्यावलोकन गर्न सकिन्छ। यस मन्दिर धार्मिक र पर्यटकीय दृष्टिले पनि महत्वपूर्ण रहेको छ। यहाँ दर्शनका लागि नेपालबाट मात्र नभई भारत तथा अरु विभिन्न देशबाट भक्तजन आउने गर्दछन्। विन्धबासिनी मन्दिर पोखराबाट सराङ्कोट जाने बाटोमा अवस्थित छ।

२. पताले छाँगो वा डेभिड फल्स 

यो झरना जमीनको सतह भन्दा तल गुप्तेश्वर गुफातर्फ झर्ने यो झरना वर्षायाममा हेर्न लायकको छ । डेभी नाम गरेकी एक स्विस पर्यटक यस झरनाबाट खसेर बेपत्ता भएको हुनाले यस झरनाको नाम डेभिड फल्स रहन गएको हो । एउटा प्राकृतिक सुरुंगको माध्यमबाट यो झरना लगभग ५०० फिट माथिबाट जमिनस्तरभन्दा १०० फिट तल सम्म झर्दछ ।

डेभिड फल्स परिसरभित्र पानीको झरनाबाहेक ‘विसपुल’ र ‘मनोरञ्जन पार्क’ पनि आकर्षक स्थलहरू हुन् । शैक्षिक भ्रमणमा आउने विद्यार्थीहरूले पनि यस स्थललाई पहिलो रोजाइ बनाउने गरेका छन् । डेभिड फल्सको प्राचीन नाम ‘पताले छाँगो’ हो ।

३. गुप्तेश्वर गुफा

गुप्तेश्वर गुफा जमीनबाट करिव १५० मीटर तल अवस्थित रहेको छ । यस गुफाबाट पातले छाँगोबाट खसेको झरना हेर्न सकिन्छ। दक्षिण एशियाका सबैभन्दा ठूला गुफाहरूमा पर्ने यो गुफाभित्र मन्दिरहरू र ठूलो खुला ठाउँ पनि रहेका छन्।

४. फेवाताल

फेवाताल कास्की जिल्लामा अवस्थित अत्यन्तै प्रसिद्ध ताल हो । पोखरा उपत्यकामा रहेको यो ताल आन्तरिक तथा वाह्य पर्यटकहरूमाझ लोकप्रीय छ । ‘फेवा’ गाउँको छेउमा रहेकाले यो तालको नाम फेवाताल रहन गएको हो। ‘वैदाम’ गाउँको छेउमा पर्ने हुँदा वैदाम ताल पनि भनिने गरिन्छ। र यसको बीचमा ‘बराही मन्दिर’को अबस्थितिले यसलाई बराह मन्दिरमा पनि चिनाउन सफल भएको छ । यो तालमा माछापुछ्रे र अन्नपूर्ण हिमालको मनोरम दृश्य देख्न सकिन्छ । यी दृश्यहरुले सबैको मनलाई आनन्द र हर्स प्रदान गर्दछ। घाम झुल्किदा र अस्ताउदाको दृश्य पनि एकदमै हर्सलाग्दो र मनलाई प्रफुल्लित बनाउने हुन्छ।

यो नेपालको दोश्रो सबैभन्दा ठुलो ताल हो । फेवा ताल समुन्द्रको सतहदेखी ७४२ मिटर (२४३४ फिट) को उचाईंमा अवस्थित रहेको छ । यस तालले लगभग ५.२३ बर्ग किमी (२ बर्ग माइल) क्षेत्रफल ओगटेको छ । यस तालको औषत गहिराइ ८.६ मिटर (२८ फिट) रहेको छ भने अधिकतम् गहिराइ २४ मिटर (७९ फिट) रहेको छ । यस तालको अधिकतम जल क्षमता लगभग ४,३०,००,००० क्यूबिक मिटर (३५,००० एकड फिट) रहेको छ । यस तालको उत्तर दिशामा अन्नपूर्ण श्रृंखला रहेको छ, जुन २८ कि.मि.को दुरीमा छ । यो ताल माछापुच्छ्रे, अन्नपूर्णा र धवलागीरी तथा अन्य पर्वतको टाकुराको प्रतिबिम्बको लागि पनि प्रसिद्ध छ, जुन यस तालको पानीमा स्पष्ट देखिन्छ ।

५. तालबाराही मन्दिर

तालबाराही मन्दिर पोखरा फेवातालमा अवस्थित प्रसिद्ध मन्दिर हो । फेवातालको बिचमा रहेको यो मन्दिरमा दर्शकको भीडभाड रहन्छ । हिन्दु धर्माबलम्बीको मन्दिर भएता पनि सबै धर्मका व्यक्तिहरु यहाँ प्रवेश पाउँदछन् ।

कास्कीका राजा कुलमण्डन शाहले सर्वप्रथम खरको झुप्रो बनाई मन्दिर स्थापना गरेका थिए । यस मन्दिरको अस्तित्व वि.सं. १६६९ देखि कायम रहिआएको छ । कतै कतै वि.सं. १४४७ देखि अस्तित्वमा रहेको भन्ने अभिलेख पनि पाइन्छ । प्राचीनकालमा माटाको ढिस्कामा एउटा शिला थियो त्यहीँ मन्दिर स्थापना गरि बाराहीका रुपमा पूजिन थालिएको थियो ।

तालबाराही देवी सन्यासीको भेषमा रातको समय मन्दिर रहेको वरपरको गाउँ पुग्दा अरु कसैले बास दिएनछन् । एउटी बुढी महिलाले मात्रै उनलाई वास दिइछन् साथै रातमा आँफूसँग भएको रोटी खान दिइछन् । जब भोलिपल्ट देवी जान लाग्नुभयो तब देवीले बूढी आमालाई अब यहाँ जलमग्न हुन्छ अन्तै गएर बस्नु भनेको र भोली पल्टै ठूलो बाढी आएर जलमग्न भइ बीच भागको ढिस्को मात्रै बचेको किम्वदन्ती रहेको छ । वि.सं. २०१७ मा राजा महेन्द्रले अहिलेको स्वरुपमा मन्दिर निर्माण गरेका हुन् ।

पोखराका विभिन्न ठाउँबाट लेकसाइड जाने गाडीहरु पाइन्छ । लेकसाइडको तालबाराही चोकबाट ५० मिटर भित्र गएपछि साना ठूला डुंगाहरु पाइन्छ र तिनै डुंगामा सयर गर्दै मन्दिर परिक्रमा गर्न सकिन्छ ।

६. बेगनास ताल

पोखरादेखी पूर्वमा रहेको लेखनाथ अन्तर्गत पर्ने रमणीय ताल हो बेगनासताल । यस तालको क्षेत्रफल ३.७३ वर्ग कि. मि. (३७३ हेक्टर) रहेको छ । यस तालको ७.५ देखि १०.६ मिटर गहिराइ रहेको छ भने बि.स. २०४४ सालमा बाँध बाधेपछि कूल क्षेत्रपल १५३ हेक्टर बृद्धि भएको छ । यहि बाँधबाट निकालिएको नहरले नगरपालिकाको खुदी फाँट र मालमूल फाँटमा सिंचाइ सुबिधा समेत हुँदै आएको छ ।

७. सराङकोट

सराङकोट पोखरादेखी उत्तरमा रहेको ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल हो । यहाँका अन्य स्थलहरू भुमे कालिका मन्दिर, चिसाखोला वेदविद्याश्रम, वाहकोट देवीको मन्दिर, वागेश्वरी मन्दिर, पदेंली शिव मन्दिर आदि हुन भने सराङकोट भ्यूटावर, चण्डीको डिल (पाराग्लाईडिङ), मेथलाङ डाँडा, वाहाकोट (पाराग्लाईडिङ), खपौदी र राताडाँडा आदि प्राकृतिक पर्यटकीय स्थलहरू यसकै आसपासमा रहेका छन् ।

सराङकोटबाट पोखराको रमाइलो दृष्यावलोकन गर्न सकिन्छ। सिरसिरे बतास चलिरहने यो ठाँउ प्याराग्लाइडिङका लागि नेपाल मै प्रसिद्ध रहेको छ। सराङकोटबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरी, पोखरा उपत्यका र फेवाताल लगायतको दृश्यावलोकन गर्न सकिन्छ।

८. महेन्द्र गुफा

महेन्द्र गुफा पोखरा नजिकै रहेको प्रसिद्ध गुफा हो। आन्तरिक तथा बाहृय पर्यटकको पहिलो गन्तव्यस्थल पनि हो । पोखरा र सेरोफेरो मात्रै घुम्ने पर्यटकहरु पहिला महेन्द्र गुफा घुमेपछि अन्य गन्तव्य तर्फ पाइला चाल्छन् । पोखरा महानगरपालिका बाटुलेचौरमा अवस्थित गुफाको लम्बाई १ सय २५ मिटर लामो छ ।

गुफा २०१७ सालमा विधिवत उद्घाटन भएको थियो । तत्कालिन राजा महेन्द्रले उदघाटन गरेपछि गुफाको नाम महेन्द्र रहन गयो । गुफा भित्र छिर्ने बाटो निकै ठुलो छ । र्सवसाधारण सहज आवतजावत गर्न सकिन्छ । निस्कने बाटो भने केही जटिल छ । प्रवेशद्वारबाट १ सय २५ मिटर भित्र पुगेपछि गणेशको थान, शिवलिङ छ । गुफाको दाया बाया भागमा विभिन्न आकृति सजिलै देख्न सकिन्छ । गुफा पोखराको पृथ्वीचोकबाट झण्डै ८ किलोमिटर उत्तर पश्चिममा पर्छ । गुफाको प्रवेशद्वारसम्म मोटर पुग्छ ।

९. कास्कीकोट

कास्कीकोट पोखरादेखी उत्तर पश्चिममा अवस्थित रहेको छ । यो सराङकोटदेखी पश्चिममा रहेको छ । यस स्थानमा गुप्तकालीका मन्दिर, कुलमण्डन शाहकालको दरबार तथा अन्य भग्नावशेषहरू, भुमेस्थान मन्दिर, खड्कगाउँकोट, देउराली मन्दिर आदि ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू रहेका छन् भने थामको गहरा भ्युटावर, ठूलीपोखरी, कालिका मन्दिर आदि रहेका छन् । यस स्थानबाट हिम श्रृखला अवलोकन गर्न सकिन्छ ।

१०. सेतो गुम्वा वा शान्ति स्तुपा

फेवातालमाथिको डाँडामा अवस्थित सेतो गुम्वा पनि स्वदेशी विदेशीको आकर्षणको केन्द्र मानिन्छ । पोखरा पुग्नेहरु एकपटक उक्त गुम्बामा पुग्ने गर्छन् । यहाँबाट पोखराको सुन्दर दृश्य, फेवाताल, हिमाल, सराङकोटको डाँडालगायतका सुन्दर दृश्यहरु देखिने हुँदा निकै रमाइलो महशुस हुने गर्छ ।

सम्बन्धित खवर