अम्रिसोको बिरुवा विक्री गर्न सकस

अम्रिसोको बिरुवा विक्री गर्न सकस

 

सिन्धुली – गोलान्जोर गाँउपालिका–५ धुरेडाँडा निवासी किसान हरिशरण बस्नेतलाई अम्रिसोको बिरुवा कसरी विक्री गर्ने भन्ने सकस परेको छ । उहाँको बारीमा यतिखेर १० लाख माथि अम्रिसोको बिरुवा छन् । यो बर्ष ल कडाउनका कारण अम्रिसोको बिरुवा बिक्री गर्न नपाएको उहाँको गुनासो छ ।

गत बर्ष अम्रिसोको बिरुवा बिक्री गरी चार लाख रुपैयाभन्दा बढी आम्दानी लिनु भएका किसान बस्नेतको यो बर्ष २० लाख रुपैयाँ जति आम्दानी लिने लक्ष्या थियो । “ल कडाउनले गर्दा लक्ष्य त सपनामा उडिगयो नी”, उहाँले भन्नुभयो, “अम्रिसोको बिरुवा बेचेर बल्लतल्ल चार लाख रुपैया आम्दानी लिए । पाखैभरी बिरुवा छ, बिक्री भएको छैन ।”

यो बर्ष गृहमन्त्रालयको पास लिएर गण्डकी प्रदेसका किसानले बढी अम्रिसोको बिरुवा लगेको उहाँले सुनाउनुभयो । प्रतिगोटा चार रुपैयामा अम्रिसोको बिरुवा गाँउघरमा पनि बिक्री हुदै आएको उहाँको भनाई छ । उहाँका अनुसार यो सिजन अम्रिसोको बिरुवा बेच्ने सिजन हो । अम्रिसो खेती गर्नेहरुलाई विरुवा सार्ने र हुर्काउने उपयुक्त मौसम भएकाले विरुवा विक्री पनि यतिबेलै गर्नु पर्ने बस्नेतलाई चटारो छ ।

“राम्रो कमाई हुने भएकाले धान र मकै रोप्न छाडेर ४० रोपनी जति जमिनमा व्यवसायिक रुपमा नै अम्रिसो खेती गर्दै आएको छु,” उहाँले भन्नुभयो, “गत बर्षभन्दा अघिल्लो बर्ष चार लाख ६५ हजार रुपैया जति आम्दानी लिएको थिए । बिरुवा, कुचो र घाँस बिक्रि गरि अम्रिसो खेतीबाट आम्दानी लिन सकिन्छ ।”

सोही ठाँउका किसान चन्द्रबहादुर बस्नेतले पनि झण्डै ७० रोपनी जमिनमा अम्रिसो खेती गर्दै आउनु भएको छ । उहाँ पनि यतिखेर अम्रिसोको बिरुवा बिक्रि गर्न बजारको खोजिमा हुनु हुन्छ । उहाँको पनि एक लाख भन्दा बढी नै अम्रिसोको विरुवा छ । बर्षाको मौसम अम्रिसोको बिरुवा सार्ने र हुर्काउने उपयुक्त सिजन भएपनि ल कडाउनका कारण समस्या भएको उहाँको गुनासो छ । बिगत बर्षमा जिल्ला बाहिरबाट अम्रिसोको बिरुवा माग भई बिक्रि हुने गरेको उहाँले बताउनुभयो ।

“गाँउका सबै किसान मिलेर बिक्रि गर्दछौं,” उहाँले भन्नुभयो, “हरियो टुसा पलाएको एउटा बिरुवाको मूल्य चार रुपैया जिल्ला दर रेट रहेको छ ।” हिर्दिङ निवासी शिक्षक लेखबहादुर बस्नेतका अनुसार महाभारत क्षेत्र अन्तर्गत पर्ने यस ठाँउमा सबै भन्दाबढी अम्रीसो पाइन्छ । यहाँका सौर्यडाँडा, आहालडाँडा, सहनशिल, गौरीशंकर, पानीघाट, आहरडाँडा लगायतका कवुलियती वन समुहमा लाखौ रुपैया मूल्य बराबरको अम्रिसोको विरुवा बिक्रिका लागि तयारी अवस्थामा रहेको छ । उहाँले राम्रो आम्दानी हुने भएकाले यहाँका किसानले कबुलियती वन बाहेक धान मकैलाई मासेर खेतबारीमा समेत व्यवसायिक रुपमै अम्रिसो खेती गर्दै आएको बताउनुभयो ।

उहाँका अनुसार यहाँका कबुलियती वनबाट २० लाख वटासम्म गुणस्तरिय बिरुवा बेच्न सकिन्छ । रतनचुरामा समुह र निजी गरी झण्डै एक हजार छ सय रोपनीमा अम्रिसो खेती गरिएको छ । यहाँ गठन भएका २५ वटा कबुलियत वन समूहमा ६२५ बढी किसान आबद्ध भएका छन् ।

किसानले रतनचुरामा उत्पादीत अम्रिसोको विरुवा र फुललाई जिल्ला भित्रै तथा विभिन्न सडक आयोजनाका साथै रामेछाप, काभ्रे, दोलखा लगायतका जिल्लामा समेत पुर्‍याएर विक्री गरी आम्दानी लिदै आएका छन् । घाँस भने समुहभित्रैका किसानलाई विक्री गर्ने गरीएको छ । यहाँको अम्रिसो खेतीका लागि डिभिजन वन कार्यालय तथा वभिन्न गैरसरकारी संस्थाको समेत सहयोग रहेको छ ।

अम्रिसो खेतीकै कमाईले यहाँका किसानले छोराछोरी पढाउनेदेखि लिएर घर खर्च टार्नुका साथै गुजरा चलाउदै आएका स्थानीय बासिन्दाको भनाई छ ।

सम्बन्धित खवर