एसइई परीक्षा ः विद्यार्थीको आन्तरिक मूल्यांकन कसरी हुनुपर्छ ?

एसइई परीक्षा ः विद्यार्थीको आन्तरिक मूल्यांकन कसरी हुनुपर्छ ?

सरकारले एसइई परीक्षा नगर्ने र विद्यालयको आन्तरिक मूल्या‌ंकनका आधारमा विद्यार्थीलाई कक्षा ११ मा अध्ययन गर्न दिने निर्णय गरेको छ।

करिब तीन महिनाको अन्योलपछि गरिएको यो निर्णयले अब विद्यार्थीको अध्ययन नरोकिने देखिए पनि आन्तरिक मूल्यांकनलाई लिएर थुप्रै प्रश्न अनुत्तरित रहेका छन्।

विद्यार्थीहरूले आन्तरिक मूल्यांकनको आधार के हुने, कसले कसरी गर्ने, अनुगमन कसरी हुने र कक्षा ११ को भर्ना प्रक्रिया के हुने भन्ने प्रश्नहरू उठाएका छन्।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले ट्विटरमा विद्यालयले गर्ने मूल्या‌ंकनका आधारमा राष्ट्रिय परीक्षा बोर्डले प्रमाणपत्र जारी गर्ने भन्दै त्यससम्बन्धी थप विवरण सम्बन्धित निकायहरूले उचित समयमा उपलब्ध गराउने लेखेका छन्।

बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले आन्तरिक मूल्यांकनका लागि मापदण्ड बन्न बाँकी रहेको बताएका छन्।

पौडेलले भने, विद्यार्थीको मूल्यांकन, उनीहरूलाई प्रमाणपत्र दिने लगायतका सबै विषय अब शिक्षा मन्त्रालयबाट परिपत्र आएपछि मात्रै अघि बढ्छ। विद्यार्थीको मूल्यांकन गर्ने मापदण्डबारे अहिलेसम्म हामीलाई केही भनिएको छैन। हामीले सञ्चारमाध्यमबाट मात्रै थाहा पाएका हौँ।

सरकारको निर्णयपछि अब शिक्षा विभाग र बोर्डले एसईई परीक्षाको मूल्यांकनको मापदण्ड बनाउनु पर्नेछ।

विद्यार्थीको आन्तरिक मूल्यांकनबारे सरकारले मापदण्ड तय गरिनसकेको बेला विद्यार्थीको क्षमता अनुसारको निष्पक्ष मूल्याङ्कन कसरी गर्दा प्रभावकारी होला ?

शिक्षाविद् धनञ्जय शर्मा सरकारले दुई तरिकाले मूल्यांकन गर्न सक्ने बताउँछन्।

उनका अनुसार विद्यार्थीको मनोविज्ञान एसइई परीक्षामा राम्रो गरौँला भन्ने हुनाले कसैलाई पनि मर्का नपरोस् भनेर फेरि विद्यालयस्तरमै परीक्षा गर्न सकिन्छ।

शिक्षाविद् शर्मा भन्छन्, विद्यार्थीहरूलाई सामाजिक दूरीमा राखेर विद्यालयमै बोलाएर परीक्षा गराउन सकिन्छ। अरू कक्षाहरू नभएकाले उनीहरूलाई तयारीका लागि निश्चित समय दिएर मुख्य विषयमा परीक्षा गराउने अनि त्यसकै आधारमा मूल्यांकन गरेर बोर्डलाई पठाउन सकिन्छ।

त्यसबाहेक विद्यार्थीलाई अनलाईन मार्फत् पनि मूल्यांकन गर्न सकिने उनले बताए। तर त्यसरी विद्यार्थीको मूल्याङ्कन गर्नका लागि वस्तुपरक प्रश्नहरू सोध्नुपर्ने उनले बताए ।

विद्यालयले यो वर्ष लिएका वा अब लिने परीक्षाहरूको मूल्यांकन गरेर जिल्ला परीक्षा समितिमा पठाउने र समितिले त्यसलाई प्रमाणित गरेर बोर्डमा पठाएकै आधारमा विद्यार्थीलाई प्रमाणपत्र दिँदा ठीक हुने उनको धारणा छ।

अर्का शिक्षाविद् विद्यानाथ कोइराला पनि विद्यार्थीको मूल्यांकन गर्दा १० कक्षा पुगेपछि विद्यार्थीले दिएका परीक्षाको औसत अंक वा थप एउटा परीक्षा गरेर मूल्यांकन गर्दा ठीक हुने बताउँछन्।

परिस्थितिले दिएको अवसर

एसइईलाई भनेर बनाएकै प्रश्नपत्र विद्यार्थीलाई दिएर त्यसकै उत्तरका आधारमा विद्यार्थीको मूल्यांकन गर्न सकिन्छ, कोइरालाले भने, अथवा तीनवटा परीक्षा त विद्यार्थीले १० कक्षामा दिइसकेकै हुन्छन्। पहिलो त्रैमासिकलाई ३० प्रतिशत, दोस्रोलाई ३० प्रतिशत र तेस्रोलाई ४० प्रतिशत छुट्याएर त्यसकै आधारमा मूल्यांकन गर्न सकिन्छ।

परीक्षा गराउने विकल्पमा जाने भए विद्यार्थीलाई अभिभावक वा शिक्षकसँग उत्तर सोध्न पाउने र अनलाइन खोज्न पाउने विकल्प दिनुपर्ने उनले बताए।

विद्यार्थीले कहाँबाट ल्याएको भन्ने उल्लेख गर्नुपर्छ। त्यसो गर्दा उनीहरूलाई अध्ययन र अनुसन्धान गर्ने बानी पनि बस्छ र माथिल्ला कक्षाहरूमा सजिलो हुन्छ, शिक्षाविद् कोइरालाले भने।

परीक्षा गराउन कठिन

तर थुप्रै विद्यार्थीहरू उपत्यका वा सदरमुकाम छोडेर घर गएकाले त्यस्तो व्यवस्थापन गर्न कठिन हुने निजी तथा आवासीय विद्यालय संगठन प्याब्सनका सहअध्यक्ष डिके ढुंगाना बताउँछन्।

लाखौं विद्यार्थी अहिले विद्यालय फर्किएर परीक्षा दिने अवस्था छैन। आन्तरिक मूल्यांकन नै ठीक हुन्छ भनेर हामीले पहिला पनि सुझाव दिएका थियौं, ढुंगानाले बिबिसीसँग भने, तर विद्यार्थीको मूल्यांकन विगतको एउटा परीक्षाको आधारमा मात्रै नभइ विद्यार्थीको अन्य परीक्षा पनि समेटेर गर्नुपर्छ।

सरकारले नौदेखि १२ कक्षालाई माध्यामिक तह भनेर स्वीकारेको अवस्थामा १०र११ कक्षाको परीक्षा बोर्डले गर्न आवश्यक नरहेको शिक्षाविद्हरूले बताउँदै आएका थिए।

तर शिक्षासम्बन्धी ऐननियममा भने १० को परीक्षा पनि बोर्डले नै लिने भन्ने व्यवस्था कायमै छ। त्यसको संशोधन बाँकी रहेकाले १० र ११ को परीक्षा पनि बोर्डले नै गर्दै आएको छ।

अहिले केवल मन्त्रिपरिषद्ले मात्रै निर्णय गरेको अवस्थामा अब ऐनमा संशोधन गर्नुपर्ने विज्ञहरू बताउँछन्।

त्यसरी संशोधन गर्दा यो वर्षलाई मात्रै नभई आगामी वर्षहरूमा पनि १० र ११ कक्षाको परीक्षा आन्तरिक रूपमा विद्यालयले नै गर्ने व्यवस्था उचित हुने धारणा सामाजिक सञ्जालहरूमा पनि देखिएको छ।

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका नेता गगन थापाले एसईई परीक्षालाई लिएर सरकारले गरेको निर्णय सही भएको भन्दै ट्वीट गरेका छन्।

गत वर्ष चैत ६ गतेदेखि हुने भनिएको परीक्षा कोरोनाभाइरसको महामारीको त्रासका कारण चैत ५ गते स्थगित गरिएको थियो।

यो वर्ष एसइई परीक्षामा ४ लाख ८२ हजार ७ सय ७ जना परीक्षार्थी सहभागी हुन लागेका थिए।

विविसी नेपाली सेवाबाट

सम्बन्धित खवर