पथरीमा एउटै समितिका दुई प्रतिवेदन, विवाद उत्कर्षमा

पथरीमा एउटै समितिका दुई प्रतिवेदन, विवाद उत्कर्षमा

पथरी, मोरङको पथरीशनिश्चरेमा एउटै समितिका २ वटा प्रतिवेदन बनाएको विषय बाहिरिएको छ । वडा नं. २ मा निर्माण भइरहेको सामूदायिक भवनको विवाद समाधानका लागि गठित समितिले २ वटा फरक फरक प्रतिवेदन बनाएर भवनलाई झन विवादित बनाएको छ ।

विवाद समाधानका लागि गठित समितिले विवाद समाधान गर्न नसकेपछि सामूदायिक भवन निर्माणको विषय झन विवादित र पेचिलो बन्दै गएको हो । नगरका उप प्रमुख यमुना विष्ट बास्तोलाको नेतृत्वमा वडा नं. १ का वडाध्यक्ष बाबुराम एङ्देन र वडा नं ८ का वडाध्यक्ष बाबुराम दाहाल सहितको स्थलगत अध्ययन र विवाद समाधानका लागि समिति गठन गरिएको थियो । समितिले दुई अलग अलग प्रतिवेदन बुझाएपछि मन्दिर क्षेत्रलाई विवादको चुलीमा पु¥याइएको छ । उप प्रमुख संयोजक रहेको समितिले वडा नं. ८ का वडाध्यक्ष एवं समितिका सदस्य बाबुराम दाहाललाई सूचना नै नदिई एकलौटी प्रतिवेदन बुझाएपछि दुई खाले प्रतिवेद बनेका छन् । उप प्रमुखको समितिले सामूदायिक भवन बनाउन आवश्यक भनी सिफारिस गरेको छ । सिफारिसमा रोक्नु पर्ने कुनै कारण नदेखिएको उल्लेख छ । अर्का सदस्य दाहालले भने आफूलाई कुनै सूचना नदिई विवादका विषयमा एकल निर्णय गरेको भन्दै असहमति जनाउँदै अर्को प्रतिवेदन तयार गर्नु भएको छ ।

उप प्रमुखको टोलीले तयार गरेको प्रतिवेदनमा दाहालको हस्ताक्षर छैन् । यता दाहालले भने मन्दिरको आफ्नो जग्गामा मन्दिर बनाइसकेकोले बाँकी रहेको भवन मापदण्ड विपरित (३ कट्ठा भन्दा आधा कममा) बनिरहेको प्रतिवेदन तयार गर्नु भएको छ । दाहालले सामूदायिक भवन सबै जात धर्म, लिङ्ग, वर्ण र समूदायको भएकोले त्यो सबैको अपनत्व हुने गरी बन्नु पर्ने भन्दै मन्दिर भित्र काटमार निषेध भएको र त्यहाँ सामूदायिक भवन बन्दा एक धर्मको मात्र प्रतिनिधित्व हुने प्रतिवेदनमा उल्लेख छ । यस्तै साना सडक हुँदै पुगिने सामूदायिक भवन स्थल मुल बाटोबाट ५ सय मिटर टाढा भएकोले प्रयोग गर्न अप्ठ्यारो हुने उल्लेख छ ।

नगरको भूमिका राजनीतिक प्रेरित भएको आरोप

नगरपालिकाले सबै समूदायको प्रतिनिधित्व हुने गरी प्रतिवेदन नबनाएको स्थानीयको आरोप छ । पुरानो समितिका अध्यक्ष पर्शुराम गुरुङले भन्नुभयो –‘ एकपक्षीय मानिस कोठामा बसेर तयार गरिएको प्रतिवेदन हामीलाई स्वीकार्य छैन् । समितिका एकजना सदस्यले हस्ताक्षर नै नगरेको प्रतिवेदनले विवाद अझै छ भन्ने प्रष्ट हुन्छ । नगरपालिकाले राजनीतिक प्रेरित प्रतिवेदन तयार ग¥यो, हामी प्रतिवेदन स्वीकार्न तयार छैनौं ।

यस अघि विभिन्न १६ जनाले हस्ताक्षर गरेको ज्ञापन पत्रमा मापदण्ड विपरित सामूदायिक भवन बनाउँन थालिएको भन्दै आपत्ति जनाएका थिए । कुनै धर्म विशेषको विशेष स्थानमा सामूदायिक भवन बनाउँदा सबै जात, धर्म, लिङ्ग र वर्णको अपनत्व नहुने ज्ञापन पत्रमा उल्लेख छ । ज्ञापन पत्रमा किरात उत्थान समूह, नेपाल मगर संघ, पथरी शान्ति वप्तिष्ट मण्डली, किरात याक्थुङ चुम्लुङ, तमु ध्युला छोज धिं लगायतका संस्थाका प्रतिनिधिले हस्ताक्षर गर्नु भएको छ । यस्तै दलित एकता समाज, नेवार समाज कल्याण कोष, नेपाल तामाङ घेदुङ, चौतारी स्पोर्टिङ क्लव, देवीगञ्ज स्पोर्टिङ क्लव र तमु गुरुङ एकता समाजका प्रतिनिधिले हस्ताक्षर गर्नु भएको छ । यसैगरी ज्ञापन पत्रमा हस्ताक्षर गर्नेमा सेन्जुलुङ सांस्कृतिक मञ्च, विगतमा जग्गादिने जग्गादाता र स्थानीय २ जनाले हस्ताक्षर गर्नु भएको छ ।

सम्बन्धित खवर