पोखराको स्वीस इन्टरनेशनल होटल अब क्वारेन्टाइनस्थल

पोखराको स्वीस इन्टरनेशनल होटल अब क्वारेन्टाइनस्थल

दिपक के श्रेष्ठ

पाेखरा : पोखराको लेकसाइडस्थित स्वीस इन्टरनेशनल होटल सरोवरलाई सरकारले क्वारेन्टाइनमा बस्न चाहनेका लागि प्रयोग गर्न स्वीकृती दिएको छ ।

स्वीस इन्टरनेशनललाई सरकारले क्वारेन्टाइनस्थल तोकेकोबारे जानकारी दिँदै होटलका व्यवस्थापक भरत पहारीले क्वारेन्टाइनको सेवा दिन तयार रहेको जनाए । पहारीका अनुसार होटललाई केमिकलद्वारा पूर्णरुपमा सफाई डी–इन्फेक्सन गर्ने र क्वारेन्टाइनमा बसेका पाहुनालाई बाहिर हिँडडुल गर्न नदिने काम भने सरकारी पक्षले गर्ने.छ । ‘होटललाई पूर्णरुपमा किटाणूरहित गर्ने र सेक्युरिटीको काम सरकारले गर्नेछ ।’

त्यसबाहेकका आन्तरीक प्रबन्ध गर्ने सम्पूर्ण जिम्मेवारी होटलको रहने उनले उल्लेख गरे । क्वारेन्टाइनमा प्रयोग गर्न न्यूनतम १५ वटा कोठा बुक हुनुपर्ने शर्त राखेको होटलले जनाएको छ । क्वारेन्टाइनमा बस्न आउनेकालागि सम्पूर्ण आन्तरीक प्रबन्ध जुटाउने काम लगभग भइसकेको छ । पहारीले भने, ‘यो व्यापार हैन, विशुद्ध सेवा हो ।’

चारतारे होटलको स्वीकृती पाएको स्वीस इन्टरनेशनलमा क्वारेन्टाइन हुन चाहनेले दैनिक ८ हजार रुपैयाँ तिर्नुपर्नेछ । यसमा चार पटकसम्मको खाना र खाजा पनि समावेश हुनेछ ।

सरकारले विदेशबाट आउने वा देशभित्रै रहेकाहरुले चाहे क्वारेन्टाइनको व्यवस्था गर्न ४३ वटा होटल छुट्याएको छ । जसमध्ये उपत्यकाभित्र र गोदावरीमा ४१ होटल छन् भने पोखरामा स्वीस इन्टरनेशनललाई चयन गरिएको हो । त्यस्तै, अर्काे ड्रिमल्याण्ड गोल्ड रिसोर्ट रुपन्देहीमा रहेको छ ।

यसरी बस्नेहरुका लागि चारतारे होटलमा एक शैय्याको लागि आठ हजार र दुई तारे होटलमा पाँच हजार शुल्क तोकिएको छ । यसमा चार पटकसम्मको खाना र खाजा पनि समावेश हुनेछ । पर्यटकीय स्तरका होटलमा एक्लैको लागि तीन हजार र दुई जनाको लागि प्रतिव्यक्ति दुई हजार रुपैयाँ निर्धारण भएको छ ।

सम्बन्धित खवर