घिमिरे परिवारमा बज्रपात, एमडब्लुआरआरले ग¥यो सहयोग

घिमिरे परिवारमा बज्रपात, एमडब्लुआरआरले ग¥यो सहयोग

पथरी, परिवारका सबैमा मानसिक समस्या देखिएपछि घिमिरे परिवारमा ठुलो बज्रपात परेको छ । घिमिरे परिवारलाई समाजिक संजाल समुह एमडब्लुआरआरले शनिबार घरमै पुगेर खाद्यान्न सहयोग गरेको छ ।

मोरङको पथरी शनिश्चरे ५ कोशेलीचौकका सुजन घिमिरे यतिबेला विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान (घोपा क्याम्प) मा उपचार गराइरहेका छन् । ३४ वर्षका सुजनको २०६१ साल देखि मानसिक रुपमा समस्या देखिएको स्थानीय बेदनाथ खतिवडाले बताउनुभयो । सुजनको समस्या देखिएपछि औषधी निरन्तर रुपमा सेवन गर्दै आएता पनि पछिल्लो समय आर्थिक अभावका कारण औषधी छुटेपछि सुजनलाई झन समस्या भएको हो । धोपाको मानसिक वार्डमा उपचाररत सुजनलाई निकै लामो समय सम्म बेडमै राखेर उपचार गर्नुपर्ने डाक्टरहरुले सुझाव दिएको खतिवडाले बताउनुभयो ।

सुजन आफु मात्रै नभएर उनका भाइ बहिनीहरुलाई पनि गम्भिर खालको मानसिक समस्या रहेको छ । सुजनका माइला भाइ सुवास विगत ४ वर्ष देखि बेपत्ता छन् । उनमा कुनैपनि समस्या थिएन । परिवार पाल्ने जिम्मेवारी काँधमा आएका बेला अचानक हराएका सुवास हाल सम्म सम्पर्कमा नभएको खतिवडाले बताउनुभयो ।

सुजनका कान्छा भाइ पदम २९ वर्षका छन् । उनमा पनि मानसिक समस्या छ । कहिले घर छाडेर हिड्ने त कहिले आफै आउने गर्छन् । छिमेकमा काम सघाएर उतै खाने गरेका छन् पदमले ।

जेठी बहिनी सुस्मिता २७ वर्षकी छन् । सुस्मिताको पनि समस्या उस्तै छ । एक एक छिनमा फरक फरक व्यवहार छ सुस्मिताको । उनलाई पनि दाजु सुजनसंगै उपचारका लागि घोपा लगिएको थियो तर रकम अभावका कारण अहिले घर ल्याइएको छ । दाजु बहिनीको उपचारका लागि एकैपटक रकमको जोहो गर्न नसकेपछि घर ल्याउनुपरेको स्थानीय (नेपाली कांग्रेस कार्यवाहक नगर सभापती) इश्वर बहादुर थापाले बताउनुभयो । सुस्मिताले १२ कक्षा सम्म अध्ययन गरेकी छन् । सामान्य अवस्थामै रहेकी सुस्माको २०७२ सालको महाभूकम्प पछि मानसिक रुपमा समस्या देखिएको हो ।

सुजनकी कान्छी बहिनी जानुका पूर्ण रुपमा अपाङ्ग (साँपे) रहेकी छिन् । उठ्न, हिडडुल गर्न, बोल्न नसक्ने जानुकालाई पूर्ण रुपमा अरुको सहारा चाहिन्छ ।

घरको अवस्था अत्यन्तै नाजुक रहेको छ । सुजनका आफ्नै काका विराटनगरमा रहेका छन् । काकाले पनि उपचार गर्दा गर्दा आफु थाकेको भनेर अब गाउँलेले नै सकेको सहयोग गर्नु भनेको थापाले बताउनुभयो ।

सुजनको उपचारका लागि परिवारको सदस्य चाहिने भएपछि आमा तुलशा सुजनलाई लिएर अस्पतालमा हुनुहुन्छ । परिवारमा अहिले छरछिमेकीले रेखदेख गरिरहेका छन् । घरमा विद्युत समेत छैन् । मानसिक रुपमा समस्याले च्यापेपछि सुजन र भाइबहिनीले नै तार, बोर्डहरु भत्काएर फालेका छन् । ओड्ने ओछ्याउने समेत राम्रो छैन् । अब उनिहरुको दिर्घकाला सम्मको उपचारका लागि घिमिरे परिवारको नाममा बैंक खाता खोलेर रकम बचत गर्नुपर्ने भएको थापाले बताउनुभयो । नियमित औषधी सेवन गरेमा सुजन निको हुन सक्ने र सुजनले नै परिवार समहाल्न सक्ने भएकाले सबैले सकेको सहयोग गर्नका लागि थापाले अनुरोध गर्नुभएको छ ।

वडा तथा नगरमा सहयोगका लागि पहल थालिएको छ । घोपामा समेत सहुलियतका लागि पहल गरिएको सुजनका काका अर्जुन घिमिरेले बताउनुभयो । उनिहरुको उपचारका लागि सुजनका साथिहरु बेदनाथ खतिवडा, मनोज धिमाल लगाएतले सहयोग गरिरहनुभएको छ ।

एमडब्लुआरआरको सहयोग

मानसिक रुपमा समस्यामा परेको सूचना सामाजिक संजाल (फेसबुक) मा थाहा पाएपछि एमडब्लुआरआरले सहयोग गरेको छ । विभिन्न सामाजिक कार्यहरुमा अग्रसर भइरहने यो समुहले २५ केजी चामल, आलु, दाल, नुन, तेल, साबुन लगाएतका सामाग्रीहरु सहयोग गरेको समुहकी प्रतिनिधि नमिरा पौडेलले बताउनुभयो । विद्यार्थी र कर्मचारीहरुले आफ्नो खाजाको रकम थोरै थोरै जम्मा गरेर पहिलो चरणमा खाद्य सामाग्री सहयोग गरेको पौडेलले बताउनुभयो ।

घरमै पुगेर गरेको सहयोगका लागि परिवार स्थानीयले धन्यवाद दिनुभएको छ । अझै सकेको सहयोगका लागि छिमेकीहरुले समेत अनुरोध गर्नुभएको छ ।

सम्बन्धित खवर