इटहरा, मोरङको रतुवामाई नगरपालिकामा शुक्रबार भेटिएका संक्रमित लुकिछिपी नेपाल प्रवेश गरेको खुलेको छ। भारतबाट आएका उनीहरु लुकेर नेपालको सीमा प्रवेश गरेका थिए।
उनीसँगै आएका अन्य दुई जनामा संक्रमण देखिएन । उनीहरूको बुधबारै स्वाब संकलन गरिएको थियो । संक्रमित व्यक्तिलाई कोभिड १९ उपचार केन्द्र विराटनगरमा लैजाने तयारी भइरहेको रतुवामाई नगर प्रमुख रविन राईले बताउनुभयो ।
लुकिछिपी नेपाल प्रवेश गरेका उनीहरुलाई सीमाबाटै नियन्त्रणमा लिएर नगरपालिकाको क्वारेन्टाइनमा राखिएकोले गाउँमा संक्रमण फैलिनबाट जोगिएको राईले बताउनुभयो ।
पछिल्लो संक्रमित व्यक्ति फेला परेसँगै मोरङमा ५ जनामा कोरोना पुष्टि भएको छ । जेठ २ गते रतुवामाई नगरपालिका १ का २५ वर्षीय युवामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । उनी पनि रोजगारी गरेर भारतको मुम्बईबाट फर्केका थिए ।
रतुवामाई नगर प्रमुख राईले भारतमा रोजगारी गरेर लुकीछिपी फर्केकाहरुमा संक्रमण देखिएको बताउनुभयो । अझै ठूलो संख्यामा भारतमा रोजगारी गरेर फर्किरहेको सूचना आएकोले व्यवस्थापनका लागि तयारीमा जुटेको उहाँले बताउनुभयो ।