बेनीको वडा नं. ३ खरको छानामुक्त वडा

बेनीको वडा नं. ३ खरको छानामुक्त वडा

संजय आचार्य, पोखरा

म्याग्दीको बेनी नगरपालिकाले वडा नं. ३ भकिम्लीलाई ‘खरको छानामुक्त वडा’ बनाउन सफल भएको छ ।

रकम अभावमा जस्तापाता खरीद गर्न नसकेर खर तथा परालले छाना छाउँदै आएका नागरिकको घर नगरपालिकाले जस्ता पाताले छाइदिएको हो । बन्दाबन्दीको सदुपयोग गर्दै बेनी नगरपालिका–३ भकिम्लीका जनप्रतिनिधिले खरको छानामुक्त वडा बनाउन सफल भएका हुन् ।

लकडाउनको ५४ औँ दिन आइतबारसम्म भकिम्लीका ६१ वटा घरका छाना फेरिएका छन् । खरले छाएका छाना भत्काएर जस्तापाताले छाइएको छ । जसले गर्दा भकिम्लीका घरमा जस्ता पाताका छाना टल्किएका छन् ।

बेनी नगरपालिकाको शतप्रतिशत अनुदानमा भकिम्लीका ६१ घरमा खरको छाना हटाएर जस्तापाताले छाइएको बेनी नगरपालिका– ३ का वडाध्यक्ष पदम पुनले जानकारी दिनुभयो । अब भकिम्ली खरका छानामुक्त वडा बनेको उहाँले बताउनुभयो ।

खरको छानामुक्त वडा बनाउने अभियान स्वरुप नगरपालिकाले बजेट विनियोजन गरेको उहाँले बताउनुभयो । वडाभित्रका गरिब, दलित र निम्न आय भएका व्यक्तिका छाना फेरिएको छ । त्यसैगरी २१ जना एकल महिलाका पनि छाना फेरिएको वडाध्यक्ष पुनले बताउनुभयो । नगरपालिकाको रु २० लाख २४ हजार अनुदानमा जस्तापाता खरिद गरेर छाना परिवर्तन गरिएको नगरप्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो ।

खरले छाएको छानाबाट वर्षायाममा पानी चुहिएर समस्या भोग्दै आएका नगरवासीका घरको छाना फेर्न चालू आर्थिक वर्ष २०७६÷७७ मा बेनी नगरपालिकाले रु ७० लाख विनियोजन गरेको छ । छाना फेर्नका लागि प्रतिव्यक्ति न्यूनतम रु २० हजारदेखि रु ५५ हजारसम्म अनुदान दिइएको छ ।

बेनी नगरपालिकाका सबै वडामा खरको छाना विस्थापित गर्ने कार्यक्रम सञ्चालन गरिएको नगर कार्यपालिकाका प्रवक्ता रामकृष्ण बराइलीले बताउनुभयो । उहाँका अनुसार बेनी बजारमा खरका छाना रहेका घर नभएकाले बजारबाहेक अन्य सबै वडामा खरका छानामुक्त घर अभियान सञ्चालन गरिएको हो ।

यसैबीच आइतबार नै बेनी नगरपालिका– ३ मा भएका विकास आयोजनाको अनुगमन गरिएको छ । भकिम्लीमा खरका छाना विस्थापित गर्नेलगायतका विकास आयोजनाको नगरप्रमुख हरिकुमार श्रेष्ठ, उपप्रमुख सञ्जु बरुवाल, प्रशासकीय अधिकृत छविलाल सुवेदी, कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा, वडाध्यक्ष पदम पुन, नगर कार्यपालिकाका प्रवक्ता रामकृष्ण बराइलीलगायत प्राविधिकको टोलीले अनुगमन गर्नुभएको थियो । भकिम्लीमा सञ्चालित विकास आयोजनाको अवस्था राम्रो रहेको नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।

“कुनै कारणबस खरको छानो भएको एउटा घरमा आगलागी भए वडानै जलेर खरानी हुने त्रास रहेको थियो”, नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “पैसा अभावमा खरको छानो चुहिएर बर्खा कष्टका साथ बिताउँदै आएका गरिब र विपन्न परिवारलाई यसले ठूलो राहत दिएको छ ।” ‘सबैलाई समान ढङ्गबाट जस्तापाता वितरण गरेका छौं”, वडाध्यक्ष पुनले भन्नुभयो, “सडक र पुल निर्माण मात्रै विकास होइन, नागरिकलाई सुरक्षित रूपमा बसाउन पाउनु पनि स्थानीय सरकारको दायित्व हो ।” विपन्न समुदायको आवासलाई सुरक्षित बनाएर नगरको मुहार फेर्ने अभियानमा नगरपालिका लागेको प्रवक्ता बराइलीले बताउनुभयो ।

 

सम्बन्धित खवर