राजधानीमा रोकिएका बागलुङे घर फर्किए

राजधानीमा रोकिएका बागलुङे घर फर्किए

पाेखरा : कोभिड–१९ को संक्रमण रोक्न जारी लकडाउनका कारण काठमाडौँमा रोकिएका बागलुङ जिल्लावासीलाई घर पठाउने काम भइरहेको छ । अत्यावश्यक काम लिएर राजधानी शहर पुगेका मानिस लकडाउनबीच घर फर्कन पाएका छन् ।

उपचारार्थ गएका, तिनका कुरुवा, महिला, ज्येष्ठ नागरिक, काम गुमाएका मजदुरलगायतलाई व्यवस्थापन गरेर घर पठाउन थालिएको हो । समस्यामा परेकालाई जिल्ला फर्काउन प्रतिनिधिसभाका सदस्य, दलका नेता र सामाजिक अगुवालेसमेत समन्वय गरिरहेका छन् ।

बागलुङ क्षेत्र नं. २ का सांसद देवेन्द्र पौडेलले बुधबारदेखि घर पठाउने काम थालिएको बताए । ‘बिहीबारसम्ममा ५०० भन्दा बढी घर फर्कनुभएको छ’, उनले भने, ‘शनिबारसम्म समस्यामा परेकालाई घर पठाउने व्यवस्था मिलाएका छौँ ।’ बिहिबार मात्रै ९ वटा बसमा बागलुङेहरु घर फर्केको उनले बताए ।

बढी समस्यामा परेकालाई पहिलो प्राथमिकता दिइएको उनले बताए । लकडाउनका बेला यसरी गरिएको उद्धारको आलोचना पनि भइरहेको छ । सयौँ मानिस एकसाथ गाउँ भित्रिँदा संक्रमणको जोखिम बढ्न सक्ने चिन्ता प्रकट गरिएको छ । केही दिन यता देशभरका स्थानीय तहको पहलमा राजधानीलगायत अन्य ठूला शहरमा फसेका मजदुरलगायत सर्वसाधारणको उद्धार कार्य चलिरहेको छ ।

सम्बन्धित खवर