सामुदायिक वनको फलफूल खेती

सामुदायिक वनको फलफूल खेती
सिन्धुलीको कमलामाई नगरपालिका ४ स्थित च्याउकोट सामुदायिक वन भित्र रहेको आँप र लिचीको बगैंचा ।

सिन्धुली, चैत ३ गते – सिन्धुली जिल्लामा सामुदायिक वनभित्र फलफुल खेती गर्न सुरु गरिएको छ । सामुदायिक वन भित्र फलफुल खेती गरी गरिबी निबारण गर्ने उद्देश्यले स्थानीय उपभोक्ता आफै उक्त खेती गर्न जुर्मुराएका हुन् । जिल्लामा अहिले च्याउकोट सामुदायिक वन, लालीगुराँस सामुदायिक वन, शितल सामुदायिक वन, हरियाली सामुदायिक वन लगायतले फलफुल खेती सुरु गरेको डिभिजन वन कार्यालयले जनाएको छ ।

दुधौली नगरपालिका–११ टाँडीस्थित शितली सामुदायिक वन समितिका अध्यक्ष लिलाबहादुर पौडेल उक्त सामुदायिक वनभित्र करिब चार हेक्टर जमिनमा २१४ बोट आप र १०२ बोट लिची रोपेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “उपभोक्ताले वन क्षेत्रलाई संरक्षण गरी हराभरा त बनाएका छन् नै । त्यो बाहेक वन क्षेत्रभित्र गरिबी निबारण गर्ने उद्देश्यले फलफुल खेती गरिएको हो ।”

उहाँले फलफुल खेतीबाट हुने आम्दानी समुदायको हुने बताउनुभयो । त्यस्तै गोलन्जोर गाँउपालिका–५ रतनचुरास्थित लालिगुराँस सामुदायिक वनका अध्यक्ष डम्बरबिक्रम थापा पनि सामुदायिक वनभित्र अलैची खेती गर्दै आएको बताउनुहुन्छ । वन समितिको झण्डै चार हेक्टर जमिनमा अलैची खेती गरेको र यसलाई बढाउदै लैजाने योजना रहेको उहाँले सुनाउनुभयो ।
यता कमलामाई नगरपालिका–४ स्थित च्याउकोट सामुदायिक वनका अध्यक्ष भिष्मराज श्रेष्ठ वन समिति भित्र तीन हेक्टर जमिनमा आँप, लिची र कागती खेती गर्दै आएको बताउनुहुन्छ । फलफुल खेतीबाट हुने आम्दानी समुदायकै विकासमा खर्च गरिदै आएको उहाँको भनाई छ ।

त्यस्तै हरिहरपुरगढी गाँउपालिकामा बागमती प्रदेश सरकारको सहयोगमा गत असार महिनामा २० हजार फलफुलका बिरुवा रोप्न सुरु गरिएको छ । वडा नं. २ चैनपुरमा कबुलियती वनमा लिची र वडा नं. ४ को हाक्पारामा हरियाली सामुदायिक वनमा आँपका बिरुवा रोपेको गाँउपालिका अध्यक्ष कारर्साङ लामाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “त्यसक्षेत्रलाई फलफुलको पकेट क्षेत्र बनाउने उद्देश्यले ती विरुवा रापिएको हो । दुवै ठाँउमा गरि करिब ५० बिघामा ती बिरुवा रोपिएको छ ।” रोपिएका फलफुलका बिरुवाको संरक्षण र रेखदेखका लागि मरिण वन डिभिजन कार्यालयले हेरालुको व्यवस्था गरेको गाँउपालिकाले जनाएको छ ।

उपभोक्ताकै आकर्षणका कारण सिन्धुली जिल्लामा हालसम्म ५०८ वटा सामुदायिक वन समिति गठन गरि उपभोक्तालाई हस्तान्तरण भई सकेको सदरमुकामस्थित डिभिजन वन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार हस्तान्तरण भई सकेका यी सामुदायिक वनले जिल्लाको कुल राष्ट्रिय वन क्षेत्रफल एक लाख ५४ हजार ४०७ दशमलब ८५ हेक्टरमध्ये ८९ हजार ९४० दशमलब ४२ हेक्टर क्षेत्रफल ओगटेको छ ।

कार्यालयका डिभिजन वन अधिकृत नारायण श्रेष्ठका अनुसार हस्तान्तरित सामुदायिक वनबाट ५४ हजार ३६३ घरपरिवारका उपभोक्ताहरु प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । सामुदायिक वन भित्र उपभोक्ताले सुरु गरेका फलफुल खेतीले वन संरक्षणमा टेवा पुगेको छ । उहाँले उपभोक्तालाई फलफुल खेती तिर आकर्षित गर्न पहिल पहिला वन कार्यालयले फलफुलका विरुवा बितरण गर्ने गरेको पनि सुनाउनुभयो ।

दुई नगरपालिका र सात वटा गाँउपालिका रहेको सिन्धुली जिल्लामा आर्थिक वर्ष ०५१/०५२ देखि सामुदायिक वन विकास कार्यक्रम लागू भएको हो । सामदायिक वन गठन भएपछि स्थानीय उपभोक्तालाई उद्देश्य, अधिकार र कर्तब्य बारे जनचेतना अभिबृद्धि गर्ने कार्यक्रम, कार्य योजना बनाउने तालिम, बिरुवा सहयोग, वन व्यवस्थापन र अभिलेख राख्ने तालिम दिने काम भई रहेको पनि कार्यालयले जनाएको छ ।

सम्बन्धित खवर