भीमराज अधिकारी, पथरी
वनको जग्गामा कुनैपनि पक्की संरचना निर्माण गर्न पाइदैन । निर्माण गरेको पाएमा त्यसलाई हटाउने गरेको वन समिति, कर्मचारीहरुले पटक पटक भन्दै आएका छन् । मोरङको कानेपोखरी ७ बजार क्षेत्रमा भने गतिलो फाउनडेसन सहितको पक्की संरचना निर्माण भइरहेको पाइएको छ ।
कानेपोखरी चोकको दक्षिण रोड पश्चिममा पक्की संरचना निर्माण गरेको पाइएको हो । सो क्षेत्र जनजागृति सामुदायिक वन क्षेत्रको पर्दछ । स्थानीय पार्वती अधिकारीले सो घर बनाउन थालेको बताएकी छन् । आफ्नो श्रीमान पनि नभएको, छोरीहरु सहित ४ जनाको परिवारमा कान्छी छोरी पनि असक्त रहेको पार्वर्तीले दुःखेसो पोखिन । आफु लामो समय देखि सोही ठाउँमा बस्दै आएकाले ओत लाग्नका लागि सामान्य घर बनाउन खोजेको अधिकारीले बताइन् ।
‘लामो समय देखि दिदि माइतमा नै बस्दै आएकी हुन्, अब अन्त जाने कुरापनि आएन, छोरा पनि छैनन् सहारा नभएपछि यही घर बनाउन खोजेको हो । घर ठुलो बनाउन हैन, बर्खामा पानी जम्छ त्यसैले माटो पुर्न फाउण्डेसन उठाएको हो । माथी त टिनको बेरा हुन्छ पैसा छैन्’ अधिकारीकी बहिनी सीता थापाले बताइन् । वन समितिले घर नबनाउन भनेको तर दिदि डिप्रेसनको बिरामी समेत रहेको, आफ्नो अन्त जाने कतैपनि केही नभएका कारण बाध्यताले बनाउनु परेको थापाले बताइन् ।
वन क्षेत्रमा कुनैपनि संरचना बनाउन नपाइने जनजागृतिका अध्यक्ष पूर्ण बहादुर अधिकारीले बताए । लामो समयदेखि बस्दै आएको र विपन्न भएका कारण सामान्य घुम्ती राखेर पसल गर्नका लागि सबैले सहमती दिएको तर घर बनाउने कुरामा कुनैपनि हालतमा नपाइने अधिकारीको भनाइ छ । वन समुहले सो घर भत्काउनका लागि ७ दिनको म्याद दिएर पत्र समेत काटेको बताए । सो समयमा संरचना नहटे डोजर लगाएर भएपनि हटाउन बाध्य हुने अधिकारीको भनाइ छ । पहिलेको बस्ती बढ्न सक्ने भनेर सिमेन्टको पिलर समेत राखिएको भएता पनि अटेर गरेर संरचना निर्माण गरे नियम अनुसार कार्वाही गरिने अधिकारीले बताए ।
घर निर्माण भइरहेको क्षेत्र नजिकै रोड माथि डिभिजन वन कार्यालय कानेपोखरी छ । तर घर निर्माण सुरु हुँदा न त सामुदायिक वनले देख्यो न त डिभिजन वनले नै, सो क्षेत्र सामुदायिक वन भएकाले आफुहरुले राष्ट्रिय वनमा समय दिँदा थाहा नपाएको सहायक वन अधिकृत तुलसीलाल यादवले बताए । आफुले थाहा पाउनासाथ पत्र काटेर सामुदायिक वनलाई तत्काल सो क्षेत्रबाट संरचना हटाउन भनेको यादवले बताए ।
कानेपोखरी बजारका सम्पूर्ण घरहरु नै वनको जग्गामा बनेका छन् । पूर्वपश्चिम राजमार्ग बनेसंगै वि.सं. २०२७/०२८ सालमा केही झुप्राहरुबाट सुरुभएको बजार अहिले शहर बनेको छ । कानेपोखरी क्षेत्रलाई खाली गराउन पटक पटक पहल समेत भएको हो तर कसैले पनि सो क्षेत्र खाली गरेर वन वनाउन सकेनन् । अहिले दिनदिनै वढ्दै गएको बस्तीले कालान्तरमा वनलाई ठुलो क्षति गर्ने सम्भावना देखिन्छ ।