हुलाकी राजमार्ग कालोपत्रे हुने

हुलाकी राजमार्ग कालोपत्रे हुने

आश्विन ५, २०७६
दमकर तराईको लाइफ लाइनको रूपमा लिइने हुलाकी सडकको झापा मोरङ खण्ड बल्ल कालोपत्रे हुने भएको छ । काठमाडौंको टेकुस्थित हुलाकी राजमार्ग निर्देशनालयले गत वैशाख २५ गते आर्थिक दैनिकमा एक सूचना प्रकाशित गरेर टेण्डर प्रक्रिया अगाडि बढाएपछि झापाको राजगढदेखि मोरङको विराटनगरसम्मको हुलाकी सडक–खण्ड कालोपत्रे हुने आशा पलाएको हो ।
यसअघि झापाको भद्रपुर देखि राजगढसम्मको २० किमी सडक–खण्ड कालोपत्रे भइसकेको सडक विभाग हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीले जनाएको छ । विराटनगरदेखि पूर्व रतुवा नदीसम्म मोरङ–खण्डको सडकलाई ४ भाग र रतुवादेखि राजगढसम्मको झापा खण्डको सडकलाइ दुई भागमा विभाजन गरी ठेक्का प्रक्रिया अगाडि बढाइएको हो ।
निर्देशनालयले गत भदौ २१ गते प्रकाशित गरेको सूचनाअनुसार झापा खण्डको विज्ञापन नम्बर १३ को रतुवा गौरीगञ्ज खण्डको कालोपत्रे निर्माणका लागि ५ वटा निर्माण व्यवसायी कम्पनीले र विज्ञापन नम्बर –१४ को रतुवा–गौरीगञ्ज खण्डका लागि ६ वटा निर्माण व्यवसायी कम्पनीहरूले टेण्डर हालेका छन् ।
त्यसैगरी मोरङ खण्डको विज्ञापन नं. १५ को रतुवा–डाइनिया–रङ्गेली सेक्सनको निर्माणका लागि ४ वटा कम्पनीले विज्ञापन नं. १९ को रङ्गेली–कर्सिया–कदमाहा–विराटनगर सेक्सनका लागि ३ वटा कम्पनीले विज्ञापन नं. २० को रङ्गेली–कर्सिया–कदमाहा–विराटनगर सेक्सनका लागि ३ वटा कम्पनीले र विज्ञापन नं. २१ को रङ्गेली–कर्सिया–कदमाहा–विराटनगर सेक्सनका लागि ३ वटा निर्माण व्यवसायी कम्पनीले टेण्डर भरेका छन् ।
निर्देशनालयलाई प्राप्त बोलपत्रदाताहरूको आर्थिक प्रस्तावहरूको शिलबन्दी भदौ ३० गते टेकुस्थित निर्देशनालयमा खोलिएको तर मूल्याङ्कन हुन बाँकी रहेको इटहरीस्थित निर्देशनालयका इञ्जिनियर माधव पौडेलले बताए ।
पौडेलका अनुसार हुलाकी सडक कालोपत्रे गर्नका लागि सेण्टरबाट सडकको दुवैछेउ १५–१५ मिटर र सेट ब्याकका लागि ६–६ मिटरसमेत गरी जम्मा २१–२१ मिटर सडक दायाँ–बायाँ खाली गराउनु पर्ने अवस्था छ । तर मुआब्जाका लागि अहिलेसम्म कुनै निर्णय नभएको कुरा उनले बताएका छन् । मुआब्जाको विवाद मिल्नेबित्तिकै काम शुरु हुने इञ्जिनियर पौडेलले बताए ।
हुलाकी सडक कालोपत्रे हुने चर्चा चलेसँगै गत साउन १६ गते गौरीगञ्ज गाउँपालिकाले हुलाकी सडकको बीचबाट दायाँ–बायाँ १५–१५ मिटरभित्र बनेका घर–टहरालगायतका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको थियो । तर गाउँपालिकाले दिएको म्याद गुज्रिसक्दासमेत कसैले पनि सडक छेउको घर–टहरा संरचना हटाउने चेष्टा गरेको देखिँदैन ।
स्थानीय विश्वराज रिजाल भन्छन्, ‘सडकको सेण्टर केलाई मान्ने भन्ने कुरामै अन्यौलता छ । स्थानीय तहले अमिन बोलाएर सडक नापजोख गरी यहाँसम्म भत्काउनु पर्छ भनेर चिन्ह लागाइदिएपछि मात्र स्थानीयले घर–टहरा हटाउनेछन् ।’
ब्लाष्ट

सम्बन्धित खवर