मानव बेचबिखन बढ्दो

मानव बेचबिखन बढ्दो

भदौ २०, २०७६
झापामा बर्सेनी मानव बेचबिखन बढिरहेको छ । झापाका मुख्य दुई नाका काँकडभिट्टा र भद्रपुरबाट मानव तस्करले छिमेकी भारतसँगै तेस्रो मुलुक लैजाने गरेका छन् । यस्ता आपराधिक क्रियाकलाप रोक्न प्रहरी युनिटदेखि अनेकौं एनजिओ, आइएनजिओ छरपष्ट देखिए पनि चेलीबेटी बेचिने क्रम भने बढेर गएको छ ।
सीमाक्षेत्रमा घुम्ती राखेर त्यस्ता सङ्घ–संस्थाले कर्मचारीमार्फत् निगरानी बढाउन निर्देशन दिएको हुन्छ । प्रहरी सादा पोसाकमा खटिएको भए पनि मानव बेचबिखन रोक्ने जालो तोड्न सफल भएको छैन । विशेषगरी १८ देखि २४ वर्षसम्मका युवायुवती मानव बेचबिखनको उच्च जोखिममा रहेको तथ्याङ्कले देखाएको छ । झापामा जिल्ला प्रहरी, सानाहात, माइती नेपाल र विश्व सेवा विस्तारले यसको निगरानी गरिरहेका छन् ।
जिल्ला प्रहरी कार्यालयको तीन वर्षको तथ्याङ्कलाई हेर्ने हो भने मानव बेचबिखन हरेक वर्ष बढ्दो छ । आर्थिक वर्ष ०७३र७४ भन्दा आर्थिक वर्ष ०७४र७५ मा बेचबिखनको अवस्था वृद्धि भएको देखिन्छ । पहिलो वर्ष १० ओटा मुद्दा दर्ता भए पनि दोस्रोमा १८ पुगेको छ ।
उद्धारमा १६ जना छन् भने दोस्रोमा ३९ जना पुगेको छ । यस्ता घटनामा संलग्न २३ मध्ये ९ जना अझै फरार रहेका छन् । दोस्रो आर्थिक वर्षमा ३० जना पक्राउ परे भने २० जना अझै पनि फरार रहेको जिल्लाका प्रहरी प्रवक्ता डिएसपी महेन्द्रकुमार श्रेष्ठ बताउँछन् ।
त्यसैगरी आर्थिक वर्ष ०७५र७६ मा भने केही घटेर १५ वटा दर्ता भएकोमा १९ पुरुष र ७ महिला गरी २६ जना पक्राउ परेको डिएसपी श्रेष्ठले बताए । १८ जनालाई उद्धार गरिएको छ भने ३ पुरुष र एक महिला फरार रहेको उनले जनाए
चालू आर्थिक वर्षको हालसम्म तीनओटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । ०७५ फागुन ७ गते भारतबाट १ सय ४२ महिला र ३८ पुरुषलाई उद्धार गरी काठमाडौँ पठाइएको जिल्लाका एसपी दिनेशराज मैनालीले बताए । खुला सीमाका कारण नियन्त्रण गर्न कठिनाइ भए पनि निरन्तर लागिपरेको उनले बताए ।
त्यसैगरी सानाहात नेपालले पन्ध्र वर्षमुनिका ६ जना गरी ६४ जनालाई यो आर्थिक वर्षमा उद्धार गरेको छ । पन्ध्रजना हराएको निवेदन आएकोमा १० जना फेला पारेको छ भने ६ वटा मुद्दा दर्ता भएका छन् । पछिल्लो १ वर्षमा ६ वटा मानव बेचबिखन तथा ओसार–पसार र जबरजस्ती करणीसमेतमा १२ जनालाई पक्राउ गरी कारबाही गरिएको छ भने २ जना हालसम्म फरार रहेको स्टेशन मेनेजर विक्रम वाग्लेले जनाए । गतवर्ष ६४ जनालाई उद्धार गरेको थियो । सङ्घ–संस्थाले ८ ओटा मुद्दा दर्ता गरी दुईओटा फैसला गरेको थियो । त्यसैगरी १५ जनालाई कारबाही गरेको थियो भने ७ जना दलाल फरार रहेको उनले जनाए ।
जनचेतनामूलक कार्य गरिरहे पनि रोजगारी दिने आशा देखाएर दलालले फकाई फुल्याई लैजाँदै गरेकोले बेचबिखनको घटना बढेको सानाहात नेपालका संयोजक जगत वाग्लेले बताए । यौनव्यापार, मानव अङ्ग प्रत्यारोपण, भाडामा सन्तानोत्पादन तथा जबर्जस्ती श्रमका लागि हुने मानिसको अवैध व्यापार नै मानव बेचबिखन भएको वाग्लेको भनाइ छ । पीडितको पुनस्र्थापना हुन नसक्ने अवस्थामा केन्द्रीय कार्यालयमा पठाई सीपमूलक तालिम दिने वा अन्य सङ्घ–संस्थामा पुनस्र्थापना गर्ने गरेको उनले बताए ।
त्यस्तै माइती नेपालले आर्थिक वर्ष ०७५र७६ मा १ सय ३० जनालाई नाकाबाट फर्काएर आफन्तकोमा बुझाएको छ । २४ जनालाई भारतका विभिन्न स्थानबाट उद्धार गरी नेपाल ल्याएको प्रमुख गोविन्द घिमिरेले जानकारी दिए । त्यसैगरी १ सय १४ जनाको उजुरी परेकोमा ३४ जना फेला पारिएको उनले बताए । गतवर्ष ३ सय ३२ जनाको उद्धार गरेको थियो भने हराएका १ सय ९० जनाको निवेदन परेकोमा ६० जना फेला पारेको उनले जनाए ।
त्यसैगरी विश्व सेवा विस्तारले यो वर्ष ४२ सय ३४ जनालाई परामर्श दिएको छ । गतवर्ष १३ सय ७४ जनालाई परामर्श दिएको थियो । संस्थाले ५ सय ८५ जनालाई उद्धार गरी परिवारको जिम्मा लगाएको छ । गतवर्ष भने ५ सय ६२ जनाको उद्धार गरेको थियो । चारओटा मानव बेचबिखन मुद्दा दर्ता भएको संस्थाले जनाएको छ । गतवर्ष १२ ओटा मुद्दा परेकोमा ९ जना पक्राउ गरेको थियो भने यो वर्ष प्रभु शेर्पा, सुनिल सुब्बा र राजेन्द्र लिम्बूलाई पक्राउ गरी प्रहरीको जिम्मा लगाएको संस्थाकी प्रमुख एलिना खनालले बताइन् । यो वर्ष एकजनामात्र फरार रहेको उनले जनाइन् । ८० जना हराएको निवेदनमा १३ जना फेला पारिएको संस्थाकी भद्रपुर संयोजक सृजना आचार्यले बताइन् ।
कसरी हुन्छ मानव बेचबिखन ?
मानव बेचबिखन भनेको मानिसलाई विदेशमा लैजाने, वेश्यावृत्तिमा लगाउने वा शोषण गर्ने उद्देश्यले कुनै प्रकारले ललाई फकाई, प्रलोभनमा पारी झुक्याई, जालसाज, प्रपञ्च मिलाई जबरजस्ती वा करकापमा पार्ने कार्य हो । त्यस्तै दलालले अपहरण, शरीर बन्धक राखी नाजुक स्थितिको फाइदा लिई, बेहोस पारी, पद वा शक्तिको दुरुपयोग पनि यसको कारण हो । साथै अभिभावक वा संरक्षकलाई प्रलोभनमा पारी, डर, त्रास, धाक, धम्की दिई बसिरहेको घर, स्थान वा व्यक्तिबाट छुटाई लैजाने गरेका हुन्छन् ।
त्यस्तै आफूसँग राख्ने वा आफ्नो नियन्त्रणमा लिने वा कुनै स्थानमा राख्ने वा नेपालभित्रको एक ठाउँबाट अर्को ठाउँ वा विदेशमा लैजाने वा अरु कसैलाई दिने मानव तस्करको काम हुन आउँछ । भारतसँग नेपालको खुला सिमाना, पर्याप्त रोजगारीको अवसरको अभाव, गरिबी, बढ्दो राजनीतिक अस्थिरता, बाबुआमा संरक्षक नभएका र जोखिममा परेका महिला बालबालिकाहरू नै बेच(बिखनमा पर्ने गरेका छन् । चेलीबेटी बेचबिखनको मुख्य कारण गरिबी, सामाजिक विभेद, अशिक्षा, अज्ञानता आदि हुन् । मानव बेचबिखन तथा ओसार–पसार (नियन्त्रण) ऐन २०६४ र नियमावली २०६५ मा कानूनी उपचारको व्यवस्था उल्लेख गरिएको छ ।
झापामा मानव बेचबिखन विरुद्धको १३ औं राष्ट्रिय दिवस सरकारको प्रतिबद्धता मानवबेचबिखन तथा ओसार–पसार विरुद्ध ऐक्यबद्धता भन्ने मूल नाराका साथ विविध कार्यक्रम गरी सप्ताहव्यापी रूपमा मनाइँदैछ ।
ब्लाष्ट

सम्बन्धित खवर