नगरको प्रशासनिक काम सुचारु नभए ताला लगाउने उर्लाबारीवासीको चेतावनी

नगरको प्रशासनिक काम सुचारु नभए ताला लगाउने उर्लाबारीवासीको चेतावनी

भीमराज अधिकारी, उर्लाबारी
विगत २३ दिन देखि नगरको काम ठप्प भएको भन्दै मोरङको उर्लाबारीवासी आन्दोलित बनेका छन् । उपमेयर लक्ष्मी देवी भण्डारीको नेतृत्वमा १३ जना कार्यपालिका सदस्यहरुले मेयर खड्ग फागोले आफनो मनोमानी गरेको भन्दै अदालतमा मुद्दा हालेका थिए ।

सोही मुद्दामा उच्च अदालत विराटनगरले साउन २७ गते उत्प्रेषण आदेश जारी गरेको थियो । आदेशमा असार २९ गते सम्पन्न चौथो नगरसभाबाट पास भएका कुनैपनि काम तत्काल नगर्न नगराउन भनेपछि नगर तथा वडाबाट हुने सम्पूर्ण कामहरु ठप्प भएका हुन् । सो मुद्दाका बारेमा महिना दिन पुग्न लाग्दा पनि कुनै निचोड नआएपछि नगरवासीहरु आन्दोलित भएका हुन् । नगरका सम्पूर्ण काम रोकिएपछि सेवाग्राहीले सास्ती पाएको भन्दै नगरबासीहरु विहिबार नगरपालिका कार्यालयमा आएका थिए । विना कारण जनतालाई सास्ती दिएको भन्दै भिडले नगरमा ताला बन्दी गर्न खोजेको थियो । नगर प्रमुख र उपप्रमुखले एकै ठाउँमा बसेर मुद्दाका बारेमा जवाफ दिन नगरवासीले माग गरेका छन् ।

जवाफ माग्न उपप्रमुखको कार्यकक्षमा पुग्दा २ बज्दा सम्म पनि उपप्रमुख भण्डारीलाई कार्यकक्षमा नभेटेपछि सो भिडले चर्को नाराबाजी गरेको थियो । नगरमा ताला लगाउने प्रयास गरेता पनि प्रहरीले ताला लगाउन भने दिएन । कामकाज नै ठप्प पारेर सास्ती दिने भण्डारीले मुद्दा फिर्ता लिएर भएपनि नगरको काम सुचारु गर्न नगरवासीले माग गरेका छन् । नगरको काम बन्द भएकाले कुनैपनि जनप्रतिनिधिले यो समयको तलब भक्त नबुझ्न र सरकारी गाडीको प्रयोगमा समेत रोक लगाएका छन् । वडामा भएका सरकारी गाडीसमेत नगरमा ल्याएर बुझाउन नगरवासीले माग गरेका छन् । नगरको काम तत्काल सुचारु नभए सम्पूर्ण वडा र नगरमा तालाबन्दी गरिने र यसको सम्पूर्ण जिम्मेवारी प्रमुख र उपप्रमुखले लिनुपर्ने नगरवासीले चेतावनी समेत दिएका छन् ।


सम्बन्धित खवर