‘हाम्रो चाहना स्थायित्व र समृद्धि’ः भारतीय विदेशमन्त्री एस जयशंकर

‘हाम्रो चाहना स्थायित्व र समृद्धि’ः भारतीय विदेशमन्त्री एस जयशंकर


०६ भदौ २०७६
भारतीय विदेशमन्त्री एस जयशंकरले दक्षिण एसियाली क्षेत्रको शान्ति र विकासका लागि नेपालको भूमिका अतुलनीय रहेको बताएका छन्। नेपाली नेताहरूसँग भएको भेटवार्तामा उनले दुईपक्षीय केही विवादित विषय टुंगो लगाउँदै शान्ति र विकासमा सहकार्य गर्नुपर्ने सुझाव दिएका छन्।
नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन बुधबार काठमाडौं आएका विदेशमन्त्री जयशंकर बिहीबार स्वदेश फर्किएका छन्।
नेपाली नेताहरूले पनि भारत–नेपाल सम्बन्धलाई महत्त्वका साथ अघि बढाउन चाहेको धारणा राखेको पनि भेटमा सहभागीले बताएका छन्।
पछिल्लो समय नेपाल र भारतका राजनीतिक नेतृत्वबीच भइरहेको सघन भेटवार्ताले विश्वासको वातावरण बनेको धारणा जयशंकरको थियो। विदेशमन्त्री जयशंकरले विगतका कतिपय सहमति कार्यान्वन गरी विद्यमान समस्या समाधान गर्दै अघि बढ्न आवश्यक रहेको बताएका थिए।
उनले सीमापार अपराध नियन्त्रण गर्न द्विपक्षीय संरचनाको सुरक्षासम्बन्धी संरचनाको नियमित बैठकमा जोड दिएका थिए। विदेशमन्त्री जयशंकरले डुबान समस्या र पञ्चेश्वर परियोजनाको बाँकी मुद्दा टुंग्याएर डीपीआर बनाउने काम तत्काल अघि बढ्ने बताए।
तराईमा अर्को वर्षदेखि डुबानको समस्या उठ्न नसक्ने गरी समाधान गरिने प्रतिबद्धता उनको थियो। प्रमुख प्रतिपक्ष दलका नेता एवं कांग्रेस सभापति शेरबहादुर देउवाले जयशंकरसँगको भेटमा कनेक्टिभिटी, डुबान र पञ्चेश्वरको विषय उठाएका थिए।
जयशंकरले यी विषयमा सरकार र प्रतिपक्षको स्वर एउटै रहेको भन्दै यही स्पिरिटमा नेपाल अघि बढे विकास टाढा नरहेको बताएको भेटमा सहभागी पूर्वराजदूत डा. दिनेश भट्टराईले बताए।

सम्बन्धित खवर