पथरी, मोरङको लाटिझोडा साझेदारी वन व्यवस्थापन समूहले अन्तरक्रिया कार्यक्रम गरेको छ । सोमबार सुन्दरहरैँचामा पत्रकार तथा नागरिक समाजसंग अन्तरक्रिया कार्यक्रम गरेको हो । यसैविच समूहले एसइइमा उत्कृष्ट अंक ल्याउने १४ जना विद्यार्थीलाई नगद छात्रवृति सहित सम्मान गरेको छ ।
वन समूहले वैज्ञानिक वन र यसका उपलब्धीका विषयमा अन्तरक्रिया गरेको हो । अन्तरक्रियामा वैज्ञानिक वनका फाइदाहरु र यस विधिबाट रुख काट्दा अपनाइने बिधिका बारेमा सहायक वन अधिकृत विक्रम अमात्यले सहजीकरण गर्नुभएको थियो । हरेक वनलाई विभिन्न कुपमा विभाजन गरेर हरेक हिसाबले सहज हुनेगरि, त्यहाको भौगोलिक अवस्था, जैविक विविधता समेतलाई ख्याल गर्दै वैज्ञानिक वन व्यवस्थापन गरिँदै आएको आमात्यले बताउनुभयो । हाल ८० वर्षको बालीचक्र बनाएर काम भइरहेको र सालको रुख भन्दा अन्य रुखको बहुल्यता भएका जंगलमा सोही अनुसार बाली चक्र बनाएर काम भइरहेको पनि अमात्यले जानकारी दिनुभयो ।
लाटिझोडाले वनबाट उत्पादन भएको काठ, आम्दानी भएको आर्थिकबाट विभिन्न सामाजिक काम समेत गरिरहेको कार्यवाहक संयोजक नीरा पोखरेलले बताउनुभयो । उपभोक्ताको माग अनुसार काठ वितरण गर्ने बाहेकका काम पनि साझेदारीको जिम्मेवारीमा पर्ने भएकाले सबैक्षेत्रमा काम गरिरहेको पोखरेलको भनाइ थियो । लाटिझोडा साझेदारीको क्षेत्रमा पर्ने विभिन्न विद्यालयका १४ जना छात्र छात्रालाई नगद ३ हजार सहति प्रमाण पत्रले सम्मान गरिएको पनि पोखरेलले जानकारी दिनुभयो । एसइइमा उत्कृष्ट अंक ल्याएका उनिहरुलाई आगमाी दिनमा पनि हौसला प्रदान गर्न र आफ्नो वार्षिक कार्यक्रममा पनि छात्रवृत्तिको कार्यक्रम रहेको पनि पोखरेलले बताउनुभयो ।
मोरङमा ४ वटा साझेदारी वन समूहहरु रहेका छन् । साझेदारी र सामुदायिक वनमा लागू भएको वैज्ञानिक वनले जैविक विविधतालाई नै सखाप बनाएको भनेर विरोध समेत हुँदै आएको छ ।