इलाममा सुविधासम्पन्न ‘मुख्यमन्त्री बहु–तले पार्किङ्ग तथा सिनेमा हल’ बन्ने, आर्थिक वर्ष २०७६–०७७ बाट निर्माणको कार्य सुरु गरिने

इलाममा सुविधासम्पन्न ‘मुख्यमन्त्री बहु–तले पार्किङ्ग तथा सिनेमा हल’ बन्ने, आर्थिक वर्ष २०७६–०७७ बाट निर्माणको कार्य सुरु गरिने

इलाम–इलाममा सुविधासम्पन्न ‘मुख्यमन्त्री बहुतले पार्किङ्ग तथा सिनेमा हल’ निर्माण हुने भएको छ । इलाम नगरपालिका वडा नम्बर ७ को पुरानो बसपार्कमा निर्माण हुन लागेको हलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ ।

९ महिना लगाएर विस्तृत अध्ययन गरी स्ट्रेन्थ इन्जिनियरिङ्ग कम्पनी प्रालि काठमाण्डौले त्यो प्रतिवेदन तयार पारेको इलाम नगरपालिकाको कार्यालय इलामले जानकारी दिएको छ । कम्पनीको प्रतिवेदन (डीपीआर) अनुसार २३ करोड ६१ लाख एक हजार तीन सय ३५ रुपैयाँको लगानीमा चारतले सिनेमा हल सहितको पार्किङ्ग भवन निर्माण हुने भएको हो ।

तीन रोपनी १० आना जमिनमा बन्ने भवनको पहिलो–दोस्रो र तेस्रो तलामा सवारी पार्किङ्ग बन्नेछ । यस्तै चौथो तलामा दुई वटा सिनेमा हल बन्नेछ । जसमा एउटा हल २ सय ५० क्षमताको हन्छ भने अर्को एक सय ६० क्षमताको बन्ने कम्पनीका कार्यक्रम निर्देशक जगन्नाथ आचार्यले बताउनु भयो । भवनमा ४७ साना सवारी र दुई सय मोटरसाइकल पार्किङ्ग गर्न सकिनेछ ।

देशमा नै पहिलो पटक यस प्रकारको सुविधा सम्पन्न भवन निर्माण गर्न लागिएको इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताए । उनले भने, प्रदेश नम्बर १ सरकारले सडक सुशासनको नमुना शहर बनाउने घोषणा गरेकाले सुविधा सम्पन्न यस प्रकारको पार्किङ्ग सहितको भवन निर्माणले यसमा कार्यमा समेत सहयोग गर्नेछ ।

भवन निर्माणको कार्य आउँदो आर्थिक वर्ष २०७६–०७७ बाट सुरु गरिने नगरपालिकाले जनाएको छ । नगरपालिकाको स्रोतले नपुग्ने भएकाले भवन निर्माणका लागि प्रदेश र संघीय सरकारसँग समेत समन्वय गर्ने नगरप्रमुख बस्नेतले जानकारी दिनुभयो । निर्माण सम्पन्न पछिको ९ वर्षमा लगानी असुल भइसक्ने पनि बताइएको छ ।

सम्बन्धित खवर