पाँचथर – हिलिहाङ गाउँपालिका–४ कि १५ वर्षीया किशोरी शीतल योङहाङको हत्याका मुख्य योजनाकारलाई छिट्टै पक्राउ गरेर कारबाही गर्न माग गर्दै पाँचथरको सदरमुकाम फिदिममा सोमबार विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।
हत्या भएको एक साता बितेको र हत्याका मुख्य योजनाकार भनिएका व्यक्ति पहिचान भएर पनि प्रहरीले पक्राउ गर्न नसकेको भन्दै हत्यारालाई छिटो पक्राउ गर्न माग राखेर विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।
शीतल योङहाङको हत्यारालाई कारबाही गर, घाँटी रेट्न पाइँदैन, शीतल याङहाङलाई न्याय दे लगायत लेखेको प्लेकार्ड बोकेर फिदिम स्थित पाँचथर बहुमुखी क्याम्पसका विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । फिदिम बजार परिक्रमा गरेर जिल्ला प्रहरी कार्यालय पाँचथरको अगाडि पुगेर विद्यार्थीहरुले नाराबाजी गर्दै प्रदर्शन गरेका थिए । जिल्लाको हिलिहाङ गाउँपालिका– ४, पञ्चमीकी १५ वर्षीया शीतल योङहाङको गएको वैशाख २९ गते साँझ घाँटी रेटी हत्या गरिएको अवस्थामा घरनजिकैको सडक छेउमा शव फेला परेको थियो ।
घटनामा संलग्न जिल्लाको फाल्गुनन्द गाउपालिका–२ पात्लेभञ्ज्याङका २० वर्षीय युवक भगिरथ बाँस्तोलालाई प्रहरीले गएको ३० गते नै पक्राउ गरिसकेको छ । घटनाका मुख्य योजनाकार फाल्गुनन्द–२ कै २० वर्षीय पदम तामाङ भने फरार रहेका छन् । फरार रहेका तामाङ शीतलको प्रेमी रहेको र प्रेम सम्बन्धमा खटपट आएपछि तामाङले शीतलको हत्या गरेको हुनसक्ने प्रहरी अनुसन्धानबाट खुलेको छ ।
फरार तामाङको खोजी भइरहेको पाँचथरका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक अनिलकुमार पौडेलले बताए । हत्या गरिएकी योङहाङ स्थानीय सिद्ध माध्यमिक विद्यालय कक्षा–१० मा अध्ययनरत थिइन् ।