प्रदेश २ अपडेट : बारा पर्सामा चिकित्सक र औषधी अभाव, सबैले सहयोग गर्न मन्त्रि सोनलको आग्रह

प्रदेश २ अपडेट : बारा पर्सामा चिकित्सक र औषधी अभाव, सबैले सहयोग गर्न मन्त्रि सोनलको आग्रह

बारा, आइतबार राति आएको भिषण हावाहुरीबाट क्षत विक्षत भएको बारा र पर्सामा चिकित्सक र औषधीको अभाव खड्किएको छ । यस दुःखको आवस्थामा सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्न प्रदेश २ का भौतिक पूर्वाधार तथा विकास मन्त्रि जितेन्द्र सोनलले आग्रह गरेका छन् ।

बारा र पर्साका अधिकांस अस्पतालमा ब्लडको पनि अभाव खड्किएको छ । मन्त्री सोनलले भनेका छन्, ‘अस्पतालमा घाइतेहरु छटपटाइरहेका छन् । यहाँ डाक्टरहरुको ठूलो अभाव खड्किएको छ, त्यसैले तत्कालै चितवनबाट हुन्छ कि काठमाडौंबाट हुन्छ, चिकित्सकहरुको टोली आइदिनुपर्‍यो ।’

आइतबार राति आएको आँधीहुरीका कारण बारा र पर्सामा हाल सम्म ३२ जनाको मृत्यु हुनुका साथै ४ सयभन्दा बढी घाइते भएका छन् । मृतकको संख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ ।

सैयौंको संख्यामा घाइतेहरुलाई कलैया र वीरगञ्जका अस्पतालहरुमा पुर्‍याइएको छ । घाइतेको अवस्थाबारे जानकारी दिँदै मन्त्री सोनलले भने, ‘मृत्यु हुनेहरुको त भइहाल्यो, तर, अस्पतालहरुमा छटपटाइरहेका घाइतेको अवस्था दर्दनाक छ, गाउँमा अझै कतिपय घाइतेहरुको उद्धार हुन बाँकी छ । औषधि र चिकित्सकको ठूलो अभाव खड्किएको छ ।’

तत्कालै गर्नुपर्ने काम चिकित्सकको अभाव पूर्ति गर्नु रहेको बताउँदै मन्त्री सोनलले आँधीको चपेटामा परेर घरबार गुमाएकाहरुको खानपिन र बासका लागि सहयोगका हातहरु जरुरी रहेको बताए ।

सम्बन्धित खवर