बेलबारीको सिर्जना मृत्यु प्रकरणले राजनीतिकरुप लिएपछि घटना पेचिलो बन्दै, चरित्र हत्या गर्न खोजेको पर्वतको जिकिर

बेलबारीको सिर्जना मृत्यु प्रकरणले राजनीतिकरुप लिएपछि घटना पेचिलो बन्दै, चरित्र हत्या गर्न खोजेको पर्वतको जिकिर

मोरङको बेलबारी नगरपालिका ६ कसेनीकी २७ वर्षीय मुना भनिने सिर्जना राईको मृत्यु प्रकरणले नयाँ मोड लिएको छ। राईको मृत्युले राजनीतिरुप लिएपछि घटना थप पेचिलो बन्दै गएको छ। यस घटनालाई लिएर घर र माइती पक्षबीचमा विवाद समेत बढेको छ। यही वैशाख ५ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा सिर्जनाको मृत्यु भएको थियो। माइती पक्षले अनावश्यक दुःख दिएको भन्दै परिवारका सदस्यले उनको काजकिरिया समेत गरेका छैनन्।

माइती पक्षले हत्या भएको दाबी गरिरहेकै बेला सिर्जनाकी दिदी विर्सना राईले घटनाको सत्यतथ्य पत्ता लगाएर दोषीमाथि कारवाही हुनुपर्ने माग गर्दै इलाका प्रहरी कार्यालय बेलबारीमा निवेदन दिएकी थिइन्। उनले घटना अस्वभाविक रहेको र मृत्युलाई स्वभाविक मान्न नसकिने दाबी गरिन्।’मदिरा सेवन गरेर मेरी बहिनीमाथि उनको श्रीमानले पटक–पटक कुटपिट गर्ने गरेका थिए,’ विर्सनाले भनिन्, ’त्यही कुटाईका कारण मृत्यु भएको हुनसक्ने भन्दै सत्यतथ्य छानबिनको माग गरिएको हो।’

विर्सनाको अनुहार तथा शरीरमा चोटपटक र निलडाम पनि रहेका कारण मृत्युलाई स्वभाविक मान्न नसकिने उनको तर्क छ ।सिर्जनाका काकासमेत रहेका वडाअध्यक्ष उदयबहादुर राईले पनि घटनाको छानबिन गरेर सत्यतथ्य पत्ता लगाउनुपर्ने माग गर्दै आएका छन्।

सिर्जनाका श्रीमान पर्वत राईसहित घर पक्षका परिवारका सदस्यले शनिबार पत्रकार सम्मेलन गरेर स्वभाविक मृत्युलाई वडा अध्यक्ष उदयबहादुरले हत्या भनेर अनावश्यक दुःख दिएको आरोप लगाएपछि घटना थप पेचिलो बनेर गएको हो। पर्वतले आफूमाथि श्रीमतीको हत्या गरेको आरोप लगाउँदै वडाअध्यक्षले अनावश्यक दुःख दिन खोजेको गुनासो गरे।

पर्वतका आफन्तले अनावश्यक प्रचार गरेर घटनालाई मोड्ने र आफूलाई दुःख दिने प्रयास गरेको भन्दै वडाअध्यक्षलाई कारवाहीको माग समेत गरेका छन्। पर्वतले श्रीमती सिर्जनाले पेट दुख्यो भनेपछि उपचारका लागि लगेको र उपचारकै क्रममा मृत्यु भएको दाबी गर्दै आएका छन् ।अत्यधिक मदिरा सेवन गरेकाले जण्डिस भएर सिर्जनाको मृत्यु भएको उनको दाबी छ।श्रीमती र्मायो भनेर माइती पक्षले आफ्नो चरित्र हत्या गर्न खोजेको पर्वतको जिकिर छ।

तर उपचारमा संलग्न चिकित्सकले मृत्युलाई स्वभाविक मान्न नसकिने भनेपछि प्रहरीले शवको पोस्टमार्टम गराएको माइती पक्षको भनाइ छ। माइती पक्षले सिर्जना बिरामी भएर लगेको भनिए पनि यस विषयमा आफूलाई कुनै जानकारी नदिइकन सुटुक्क उपचारका लागि लिएर गएको भन्दै आपत्ति जनाएका छन्।

वडाअध्यक्ष राईले पनि आइतबार एक विज्ञप्ति जारी गर्दै आफूमाथि विभिन्न आरोप लगाउने काम भएको गुनासो गरे। ’चिकित्सकले नै पोस्टमार्टम नगरिकन हामी परिवारका सदस्यलाई शव दिदैनौं भने।त्यही भएर घटनाको छानबिन हुनुपर्छ भनेर मैले माग गरें,’ विज्ञप्तिमा भनिएको छ,’ अध्यक्ष भएका नाताले वडामा जोसुकैको असामहिक निधनप्रति चासो व्यक्त गर्नु मेरो कर्तव्य पनि हो। त्यही पनि भतिजी भएकाले यो घटना मेरो परिवारसँग जोडिएको विषय हो।’

वडामा शान्ति सुरक्षा कायम गर्न खोज्दा अनेक लान्छना लगाइनु गलत भएको जिकिर विज्ञप्तिमा गरिएको छ।एक सातापछि घटनामा राजनीतिक रंग मिसिएर गएको हो। घटनाको अनुसन्धान प्रभावित पार्ने गरी सत्तापक्ष र प्रतिपक्षबीच बेलबारी ६ मा मृत्युको विषयलाई लिएर जुहारी चल्न थालेको छ। कांग्रेसको पकड मानिएको वडामा अध्यक्षसहित तत्कालिन एमालेले प्यानलनै जितेको थियो। सिर्जनाका माइती पक्ष तत्कालिन एमाले र हालको नेकपा समर्थित हुन्। घरपरिवार कांग्रेस समर्थक । माइती नेकपा र घर परिवार कांग्रेस समर्थक बनेपछि घटनाले राजनीतिक रुप लिएको हो।

इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर रामकुमार राईले घटनाको अनुसन्धान नै प्रभावित पार्ने खालका गतिविधि नगर्न आग्रह गरेका छन् । शवको प्रारम्भिक पोस्टमार्टम रिपोर्ट पनि आइसकेको छ। पोस्टमार्टम रिपोर्टमा भिसेरा परीक्षण रिपोर्ट आइसकेपछि मात्रै सबै कुरा खुल्ने उल्लेख गरिएको बताउँदै इन्सपेक्टर राईले भने, ’प्रहरीले घटनाको गम्भीर रुपमा अनुसन्धान गरिरहेकाले भिसेरा रिपोर्ट प्राप्त भइसकेपछि सबै यथार्थ बाहिर आउँछ। घटनालाई लिएर अनआवश्यक कुरा बाहिर ल्याउन हुँदैन।’

भिसेरा रिपोर्टको पर्खाइमा रहेको प्रहरीले सिर्जनाका श्रीमान् पर्वतमाथि यसअघि नै सोधपुछ भने गरिसकेको छ। सोधपुछका क्रममा उनले श्रीमतीको उपचारका क्रममा मृत्यु भएको र कुटपिट गरिएको कुरा अस्वीकार गरेको प्रहरीले जनाएको छ।
(स्रोत–अन्नपूर्णपोष्ट)   

सम्बन्धित खवर