म्याग्दीको मनै लोभ्याउने नारच्याङ झरना (तस्बिरसहित)

म्याग्दीको मनै लोभ्याउने नारच्याङ झरना (तस्बिरसहित)

म्याग्दी – नारच्याङ पहाडको टुप्पोबाट भिर पहरा छिचोल्दै बग्ने चिसो पानीको झरना । एकनासले माथिबाट तलतिर झरिरहने पानीको फोहोरा । पहराबाट छङछङ गर्ने झरनाको आवाज । निकै सुन्दर, आकर्षक अनि मनमोहक । जति र्हेयो त्यति हेरिरहुँ जस्तो लाग्ने नारच्याङ झरना ।

माथि पर्छ नारच्याङको लेकगाउँ, अनि तलतिर बेसीको फाँट । सम्म परेको बेसीको फाँट र लेकगाउँको बीच भिर पहराको सहायता लिँदै निरन्तर खसिरहन्छ नारच्याङ झरना । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा रहेको नारच्याङ झरनामा पर्यटकहरुको चहलपहल बढ्दै जान थालेको छ ।

पहाडको टुप्पोबाट कलकल गर्दै झर्ने निकै सुन्दर, आकर्षक र मनमोहक झरना पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरुको रोजाइमा परेको हो । समुन्द्री सतहदेखि १ हजार ७ सय मिटरको उचाइबाट झर्छ नारच्याङ झरना । यो झरनाको उचाइ तीनसय मिटरभन्दा बढी छ ।

त्यो क्षेत्रमा मानिसहरु बस्न थालेभन्दा पनि पहिलेदेखि त्यहाँ झरना रहेको नारच्याङबासी बताउँछन् । आफ्नै खालको विशेषता बोकेको नारच्याङ झरनामा म्याग्दीसहित देशका विभिन्न स्थानबाट आन्तरिक पर्यटकहरु पुग्ने गरेका छन् भने विदेशी पर्यटक पनि नारच्याङमा बास बसेर झरनाको दृश्यावलोकन गर्न आतुर हुन्छन् । स्थानीय आमा समूहको भवनमा बास बसेका पर्यटकहरु एकपटक झरनामा पुगेरै फर्किन्छन् ।

नारच्याङ झरनाभन्दा माथि मानिसहरुको बसोबास नभएको हुँदा झरना एकदमै सफा छ । पानीमा हेर्दा अनुहार प्रतिबिम्बित हुन्छ । झरनाको तल फेदीमा भुमेथानको मन्दिर पनि छ । झरनाको सुन्दरतासँगै भुमेथानको मन्दिरले थप आकर्षण बढाएको छ ।

हरेक वर्षको जेठ वा असार महिनामा पुजाआजा हुँदै आइरहेको त्यस मन्दिरमा भाकल तथा पूजा गरेमा मनले आँटको कामना पूरा हुने जनविश्वास रहिआएको छ । झरना र मन्दिर जानका लागि त्यहाँसम्म पुग्न केही समय पहिले अन्नपूर्ण युवा क्लबले गोरेटो बाटो बनाएको थियो ।

पछिल्लो समय झरनालाई पृष्ठभूमिमा पारेर तस्बिर खिच्नकै लागि भए पनि पर्यटकहरु नारच्याङ झरनामा जाने गरेका छन् । झरनामा पुगेर आसपासका ठाउँमा साइटसिनको निकै मज्जा लिन सकिन्छ । म्याग्दी सदरमुकाम बेनीबजारबाट ३ घण्टाको यात्रामा सवारीसाधनमार्फत नारच्याङ झरनामा पुग्न सकिन्छ । वनभोजका लागि पनि मानिसहरु नारच्याङ झरनामा जाने गरेका छन् ।

नारच्याङ झरनाले गाउँको सुन्दरता बढाउनुका साथै गर्मीयामको समयमा शीतलतासमेत प्रदान गर्ने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) नारच्याङका अध्यक्ष तेजबहादुर गुरुङले बताए ।

उनका अनुसार झरनाको पानीबाट गाउँमा खानेपानीको आपूर्ति, सिँचाइ गरिनुका साथै खोलामा माछा मार्ने गरिएको छ । दृश्यावलोकनको लागि आकर्षण बोकेको सुन्दर नारच्याङ झरना बहुउपयोगी रहेकाले पछिल्लो समय फोटोसेसन गर्नेहरु ह्वात्तै बढेको उनले जानकारी दिए। नारच्याङ झरनाले गाउँमा थप रौनकता थपेको हुँदा नारच्याङ गाउँमा नेपाली पर्यटकहरुको आगमनमा वृद्धि हुँदै गएको अध्यक्ष गुरुङको भनाइ छ ।

झरनामा पुगेर प्रकृतिसँगै रमाउन पाउँदा आफूलाई निकै आनन्दको अनुभूति भएको नारच्याङ झरनाको भ्रमणमा निस्कनुभएका पोखराका अमृत पौडेलले अनुभव सुनाए ।

समाचार स्रोत–उज्यालो अनलाइन



 

सम्बन्धित खवर