मोरङ, अवैध रुपमा घरमा राखिएका तीनवटा बन्दुक जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाइएको छ । विराटनगर–४ का सुरेश प्रधान र विराटनगर–११ का भीमराज पोखरेलले हतियार बुझाएको प्रहरीले बताएको छ । मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीका अुनसार प्रधानले आफ्नै घरमा राखेको सर्टगन प्रकारका स्वचालित २५ बोरको एक नाल र १२ बोरको एक नाल गरेर दुईवटा र पोखरेलले घरमा रहेको एउटा भरुवा बन्दुक बुझाएका हुन् । इजाजत बिनाका र नवीकरण नभएका अवैध हतियार बुझाउन सरकारले ३५ दिनको अल्टिमेटम दिएसँगै मोरङमा हतियार बुझाउने क्रम सुरु भएको केसीले बताए ।
व्यक्तिले आफ्ना घरमा राखेका हतियार प्रहरी कार्यालयमा बुझाउन थालेका हुन् । सरकारले अल्टिमेटम दिएपछि अवैध रुपमा राखिएका हतियार तत्काल नजिकको प्रहरी कार्यालयमा बुझाउन सबैलाई आब्हान पनि गरिएको प्रहरीले जनाएको छ । एसपी केसीले प्रहरी कार्यालयमा बुझाइएका हतियारहरु सुरक्षित रुपमा भण्डारण गरिने जानकारी दिए । अवैध रुपमा हतियार राख्ने र दिएको समय सीमा भित्रमा प्रहरीमा नबुझाउने गरेमा गैर कानुनी रुपमा हतियार राखेको कसूरमा कारवाही अघि बढाइने उनको भनाइ छ ।
प्रहरीले अवैध हतियार खोजीलाई प्राथमिकतामा राखिएको जनाएको छ । त्यही क्रममा प्रहरीले मोरङको मिक्लाजुङ–१ स्थित कोलबोटे र रमितेको बीचमा रहेको लावा खोला किनारबाट एउटा भरुवा बन्दुक फेला पारेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट सादा पोशाकमा गस्तीमा खटिएको विशेष टोलीले खोला किनारमा बन्दुक फेला पारेको हो ।
खोला किनारमा भेटिएको बन्दुकका विषयमा पनि अनुसन्धान अघि बढाइएको जानकारी केसीले दिए । सरकारले अवैध हतियारका वलमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेत्रृत्वको नेकपाले विभिन्न गतिविधी गरिरहेको भन्दै विप्लव समूहप्रति लक्षित गरेर अवैध हतियार बुझाउन ३५ दिने अल्टिमेटम दिएको छ ।