खोटाङमा वडा अध्यक्षको १६ वर्षे बालिकासँग विहे

खोटाङमा वडा अध्यक्षको १६ वर्षे बालिकासँग विहे

खोटाङ, हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष रमेश कुमार राउतले १६ वर्ष ४ महिनाकी बालिकासँग विवाह गरेका छन् । कानूनले नै बालविवाह बन्देज गरिसकेको अवस्थामा वडा अध्यक्षले नै बालविवाह गरेको खुलेको हो । इटहरी स्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यलयमा शुक्रबार वडा अध्यक्ष विरुद्ध उजुरी परेपछि उनले बालविवाह गरेको खुलासा भएको हो ।

वडामा भएका विभिन्न भ्रष्ट्राचारको विषयमा परेको उजुरीमा उनले बालिकासँग विवाह गरेको पनि खुलाइएको छ । उजुरी अनुसार २०५८ साल चैत्र २७ गते जन्मिएकी खोटाङकी एक बालिकासँग वडाध्यक्ष राउतले गएको साउन महिनामा विवाह गरेको हुन् । स्थानीय पञ्जिकाधिकारिको कार्यालयमा २०५९ चैत्र १ गते गरिएको जन्मदर्ता तथा बालिकाको विद्यालयको परीक्षापत्रमा समेत २०५८ चैत्र २७ गतेकै जन्म मिति देखिएको छ ।

मुलुकी देवानी संहिता २०७४ अनुसार २० वर्षमूनीको विवाह गैर कानूनी हो । अझ बालिकासँग सहमतीमा नै शारीरिक सम्बन्ध भएपनि बलात्कार भएको ठहर हुने कानूनले व्यवस्था गरेको छ । बालविवाह स्वतः बदर हुने समेत देवानी संहिताले व्यवस्था गरेको छ । राउतले विवाह गर्दा देवानी संहिता कार्यान्वयनमा नआएपनि मुलुकी ऐनको व्यवस्था अनुसार नै विवाहको लागि तोकिएको उमेर २० वर्ष थियो ।

स्रोतका अनुसार वडा अध्यक्ष राउतले बालिकासँग मागी विवाह गरेका हुन् । विवाहको बेला बालिका १६ वर्ष ४ महिनाकी थिइन् । वडा अध्यक्ष राउत हलेसी तुवाचुङ नगरपालिकाको कानुनी मस्यौदा संयोजक समेत हुन् ।

वडा अध्यक्ष राउतले विवाह गरेको तस्वीर समेत प्राप्त भएको छ । तर, वडा अध्यक्ष राउत भने आफूले विवाह नै नगरेको दाबी गर्छन् । ‘म २९ वर्षको भएँ’ वडा अध्यक्ष राउतले भने, ‘मैले विवाह नै गरेको छैन । विपक्षीले मसँग प्रतिशोध लिन उजुरी गरेका होलान् ।’ हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईे आफूलाई वडा नम्बर ६ का अध्यक्षले बालविवाह गरेकोबारे जानकारी नआएको बताउँछन् । ‘मलाइ बाल विवाह भएको विषयमा कुनै जानकारी, उजुरी आएको छैन’ मेयर राईले भने, ‘बालविवाह नै भएको हो भने कानून बमोजिमको कारबाही हुन्छ ।’

नेपालमा २०७५ भदौ १ गतेबाट मुलुकी ऐनलाई विस्थापित गरेर ‘मुलुकी अपराध संहिता’ र ‘मुलुकी देवानी संहिता’ लागु भएको छ । नयाँ मुलुकी संहिता अनुसार विवाहको उमेर महिला पुरुष दुबैको लागि २० वर्ष तोकेको छ । ऐन अनुसार बालविवाह भएको अवस्थामा बिवाह स्वतः बदर हुने कानूनी व्यवस्था छ । देवानी संहिता अनुसार २० भन्दा कम उमेरमा बिहे गराउनेलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्मको जरिवानाको व्यवस्था रहेको छ भने विवाह स्वतः बदर हुनेछ ।

सम्बन्धित खवर