सुन्दर र अनौठो सर्प मोरङमा पनि भेटियो, विष लाग्ने ठानेर स्थानीयले मारिदिए

सुन्दर र अनौठो सर्प मोरङमा पनि भेटियो, विष लाग्ने ठानेर स्थानीयले मारिदिए

पथरी, मोरङको उर्लाबारीमा अर्नेट जातको अनौठो सर्प देखा परेको छ । गत विहिबार साँझ उर्लाबारी ४ छाता टोलका अम्बिका प्रसाद लुइटेलको घरमा यस्तो अनौठो जातको सर्प देखा परेको थियो ।

साँझको समयमा ढोकाबाट भित्र पस्दै गर्दा विषालु सर्प ठानेर मारिदिएको लुइटेलले जानकारी दिए । संरक्षण गर्नुपर्ने भएता पनि कहिले नदेखेको भएकाले विषालु भएको हुनसक्ने र आउनसक्ने संभावित दुर्घटनाबाट बच्न मारिएको लुइटेलले बताए ।

सोही प्रजातीको सर्प दाङमा पनि केहीदिन अघि देखा परेको थियो । हेर्दा सुन्दर माला अथवा गहना जस्तो देखिने यो सर्पको विष नलाग्ने बताइएको छ । दाङमा पनि विषालु सर्प भन्ठानेर मारेका थिए । सोही घटना उर्लाबारीमा पनि दोहोरिएको छ । यसको बैज्ञानिक नाम अर्नेट फ्लाइङ स्नेक रहेको छ ।

के हो अर्नेट फ्लाइङ स्नेक ? (सेतोपाटीबाट साभार)

दाङमा पहिलो पटक फेला परेको अर्नेट फ्लाइङ स्नेक स्थानीयले मारिदिएका छन्।

केही दिन पहिले घोराही उपमहानगरपालिका वडा २ सुर्केडाँगीमा फेला परेको उक्त सर्प स्थानीयले मारेका हुन्।

विगत तीन वर्षदेखि सर्पको उद्धार गर्दै आएका घोराहीका वसन्त सुवेदीले आफू पुग्दा जिल्लामा पहिलो पटक फेला परेको अर्नेट फ्लाईङ स्नेकलाई स्थानीयले मारिसकेको अवस्थामा फेला परेको जानकारी दिए। मारेको सर्पको लम्बाइ झन्डै डेढ मिटरसम्म लामो रहेको उनले बताए।

अंग्रेजीमा ‘अर्नेट फ्लाइङ स्नेक’ भनिने यो सर्प एउटा रूखबाट अर्को रूखमा सहजै हाम फालेरै जाने हुँदा यसलाई सर्वसाधारणले उड्ने सर्प पनि भन्ने गर्छन्।

तस्वीर सेताेपाटीबाट

सुवेदीका अनुसार यो सर्पले सोझै बच्चा जन्माउँछ। अन्यथा अधिकांश सर्पले सन्तान उत्पादनका लागि अण्डा पार्ने गर्छन्।

हेर्दा निकै सुन्दर देखिने यो सर्पको बासस्थान तराईका वन जंगल तथा पहाडी क्षेत्र हो तर बढी यो सर्प तराईमा पाइने सुवेदीले बताए।

‘कतिपय स्थानीयले यो सर्पलाई देखेपछि भगवान डुमेनी सर्प भनेर पूजा गर्नुपर्ने राय पनि राखेछन्,’सुवेदीले भने ‘सर्प घरको पर्खालमा चढ्न थालेपछि त्यसले मान्छेलाई टोक्छ भन्ने ठानेर स्थानीयले मारिदिए छन्।’

सुर्केडाँगीका एकजनाले उनलाई अनौंठो सर्प देखिएको भनेर उद्धारको लागि फोन गरेर बोलाएको भए पनि आफू बिहान ११ बजेतिर पुग्दा नबुझेर स्थानीयले सर्प मारिसकेको अवस्थामा फेला परेको सुवेदीले बताए।

https://www.setopati.com/social/219404?

सम्बन्धित खवर