भोलि गण्डकी प्रदेशमा सार्वजनिक बिदा

भोलि गण्डकी प्रदेशमा सार्वजनिक बिदा

कास्की : श्रावण शुक्ल पूर्णिमाको दिनमा मनाइने ऋषितर्पणी अर्थात रक्षाबन्धनको अवसरमा गण्डकी प्रदेशमा भोलि सोमबार सार्वजनिक बिदा दिइएको छ ।

गण्डकी प्रदेशको राजपत्रमा प्रकाशित थप विदा सम्बन्धी सुचना अनुसार प्रदेशमा सोमबार सार्वजनिक बिदा दिइएको हो ।

मन्त्रिपरिषद्को निर्णय अनुसार गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले गत वर्ष चैत २२ गते सूचन जारी गर्दै जनैपूर्णिमा सहित ईद, तमु ल्होसार, माघे संक्रान्ति र सोनम ल्होसारमा थप सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

जनैपूर्णिमा मा देशभर सनातन धर्मावलम्बीले नवयज्ञोपवीत अर्थात्  नयाँ जनै एवं रक्षाबन्धन धारण गरेर मान्ने गर्दछन । यस दिन वैदिक सनातन धर्मावलम्बीले बिहानैदेखि नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर जौ तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेर्ने तथा गुरु पुरोहितबाट रक्षासूत्र अर्थात्  डोरो  बाँध्ने गरिन्छ ।

ऋषिलाई तर्पण गर्ने भएकाले यस दिनलाई ऋषितर्पणी भन्ने गरिएको छ । मन्त्रिएको जनै फेर्ने गरिएकाले नै श्रावण शुक्ल पूर्णिमालाई जनैपूर्णिमा पनि भनिन्छ ।

नेवारी समुदायले भने श्रावण शुक्ल पूर्णिमालाई गुँपुन्ही भनी मनाउने गर्दछन् । क्वाँटी खाने परम्परा नेवारी समुदायको यसै पर्वबाट आएको हो भन्ने तर्क पनि संस्कृतिविद्को रहेको छ ।

एघारथरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने मान्यता  नेपाली समुदायमा रहेको छ ।

नेपालको तराई क्षेत्रमा पनि यसै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाध्ने चलन रहिआएको छ । यसबाट दिदीबहिनी र दाजुभाइका बीचमा प्रेम सम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता समेत रहेको छ ।

सम्बन्धित खवर