पथरी, नेपाली कांग्रेसको वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधि चयन भएको केही घण्टामै मोरङको पथरीशनिश्चरे नगरपालिका–६ गेलाबारीस्थित दुई नेताको घरमा मध्यराति तोडफोड र आक्रमण भएको छ ।
शनिबार सम्पन्न वडा अधिवेशनबाट सर्वसम्मत क्षेत्रीय प्रतिनिधि चुनिएका विनोद कार्की र ईश्वर भट्टराईको घरमा राति करिब ११ः५० बजेतिर आएका करिब २० जनाको समूहले आक्रमण गरेको हो। आक्रमणकारीले भट्टराईको घरको गेट, कार्कीको घरको झ्यालका सिसा, प्लास्टिकका कुर्सी तथा कार्कीले भाडामा लिएको गाडीमा समेत तोडफोड गरी क्षति पुर्याएका छन् ।
घटनाका बेला दुवै प्रतिनिधि घरमा अनुपस्थित थिए । आक्रमणकारी समूहले विनोद कार्कीका दाजु बलराम कार्की र स्थानीय युवा भव्य मग्रातीमाथि हातपात गरेको छ । कुटपिटबाट मग्राती सामान्य घाइते भएका छन्। घरधनी विनोद कार्की २०७९ को निर्वाचनमा कोशी प्रदेशसभा सदस्यका उम्मेदवार थिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार तोडफोडमा स्थानीय ३३ वर्षीय विशाल खड्का, ३५ वर्षीय निशान कार्की र ४० वर्षीय रोशन मण्डल संलग्न रहेको खुलेको छ । मुख्य आरोपी खड्का शनिबारकै अधिवेशनबाट कांग्रेस वडा सदस्यमा चयन भएका व्यक्ति हुन् ।
इलाका प्रहरी कार्यालय पथरीका डीएसपी वीरदत्त पन्तका अनुसार तोडफोडमा संलग्नहरू हाल फरार रहेकाले खोजी तीव्र पारिएको छ । अधिवेशन शान्तिपूर्ण रूपमा सम्पन्न भए पनि आक्रमणको यकिन कारण खुल्न नसकेको र घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







