न्यू बुटवल सबस्टेसनदेखि भारत सीमासम्मको १८ किलोमिटर प्रसारण लाइन तयार

न्यू बुटवल सबस्टेसनदेखि भारत सीमासम्मको १८ किलोमिटर प्रसारण लाइन तयार

काठमाडौं, नेपाल–भारत सीमापार विद्युत् व्यापारका लागि महत्वपूर्ण मानिएको न्यू बुटवल सबस्टेसनदेखि भारत सीमासम्मको ४०० केभी प्रसारण लाइनको १८ किलोमिटर खण्ड निर्माण सम्पन्न भएको छ ।

मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) नेपाल कम्प्याक्टअन्तर्गत मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल (एमसिए–नेपाल) ले उक्त प्रसारण लाइन खण्ड निर्माण सम्पन्न गरेको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको अनुरोधपछि निर्माणलाई तीव्रता दिइएको र निर्धारित समयसीमाभित्रै काम पूरा गरिएको एमसिए–नेपालले जनाएको छ ।

न्यू बुटवल सबस्टेसनमा आयोजित कार्यक्रममा अर्थ मन्त्रालयका सचिव तथा एमसिए–नेपाल सञ्चालक समितिका अध्यक्ष डा. घनश्याम उपाध्यायले प्रसारण लाइन निर्माण सम्पन्न हुनु नेपालको विद्युत् पूर्वाधार र सीमापार ऊर्जा सञ्जाल विस्तारका लागि महत्वपूर्ण उपलब्धि भएको बताए ।

उनले एमसीसी नेपाल कम्प्याक्टमार्फत नेपालको विद्युत् पूर्वाधार विकासमा सहयोग पु¥याएकोमा अमेरिकी सरकारप्रति आभार व्यक्त गर्दै आयोजना सम्पन्न भएपछि प्राप्त हुने लाभका लागि नेपाल सरकार प्रतीक्षारत रहेको बताए ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सुनिल पौडेलले नेपालले विद्युत् उत्पादन र प्रसारण क्षमता विस्तार गरिरहेको अवस्थामा सीमापार विद्युत् सम्पर्क त्यसको महत्वपूर्ण हिस्सा भएको बताए । नेपालतर्फको प्रसारण लाइन निर्माण सम्पन्न हुनु सरकार, कार्यान्वयन निकाय, विकास साझेदार र स्थानीय समुदायबीचको समन्वयबाट पूर्वाधार निर्माणमा उपलब्धि हासिल गर्न सकिने उदाहरण भएको उनको भनाइ छ ।

नेपाल विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले पनि प्रसारण लाइन निर्माण सम्पन्न हुनु ऊर्जा क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि भएको बताए । यसले नेपाल र भारतबीचको विद्युत् सञ्जाललाई थप सुदृढ बनाउने आधार तयार गरेको उनले बताए ।

नेपालतर्फको १८ किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भए पनि यसबाट तत्काल विद्युत् प्रवाह भने सुरु हुने छैन । प्रसारण लाइन सञ्चालनमा ल्याउन नेपाल–भारत सीमापार विद्युत् प्रवाहका लागि आवश्यक स्वीकृति तथा अन्य प्राविधिक काम पूरा गर्न बाँकी छ ।

एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले नेपाल सरकारको आग्रहअनुसार सीमित समयभित्र निर्माण सम्पन्न गर्न आवश्यक स्रोतसाधन, निर्माण व्यवसायी तथा साझेदारलाई परिचालन गरिएको बताए ।

उनका अनुसार अब प्रसारण लाइनमा विद्युत् प्रवाह सुरु गर्न आवश्यक बाँकी काम पूरा गर्ने दिशामा काम अघि बढाइनेछ । यसले नेपाल र भारतबीच मात्र नभई बृहत्तर क्षेत्रीय विद्युत् सञ्जाल र ऊर्जा सहकार्य विस्तारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

एमसीसी आवासीय राष्ट्रिय नियोगकी निर्देशक डायन फ्रान्सिस्कोले प्रसारण लाइन निर्माणमा नेपाल सरकार, नेपाल विद्युत् प्राधिकरण, एमसिए–नेपाल, निर्माण व्यवसायी, परामर्शदाता, स्थानीय सरकार तथा स्थानीय समुदायको सहयोग महत्वपूर्ण रहेको बताइन् । न्युजकारखाना

सम्बन्धित खवर