सिड्लिङको १०औँ वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न

सिड्लिङको १०औँ वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न

पथरी, पथरी शनिश्चरे-२ स्थित बुद्धचोकमा रहेको सिड्लिङ मन्टेस्वरी स्कुलको १०औँ वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न भएको छ । बिहीबार हरियाली सामुदायिक वनमा आयोजित उक्त कार्यक्रममा विविध शैक्षिक तथा सांस्कृतिक गतिविधिहरू सञ्चालन गरिएको थियो ।

१०औँ वार्षिकोत्सवको अवसरमा प्रमुख अतिथि पथरी शनिश्चरे नगरपालिकाका नगरप्रमुख मोहनप्रसाद तुम्बापोले छोटो समयमै विद्यालयले मन्टेस्वरी पद्धतिमार्फत गुणस्तरीय शिक्षा प्रदान गर्दै अभिभावकहरूको मन जित्न सफल भएको भन्दै प्रशंसा गर्नुभयो । उहाँले यस विद्यालयबाट अक्षरारम्भ गरेका नानीबाबुहरूले अध्ययन तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्टता हासिल गरेको उल्लेख गर्दै दीक्षित विद्यार्थीहरूलाई आगामी दिनमा अझ सक्रिय रूपमा शिक्षण-सिकाइसँगै अतिरिक्त गतिविधिमा सहभागी हुन शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा नर्सरीदेखि कक्षा ३ सम्मका विद्यार्थीहरूले विभिन्न आकर्षक प्रस्तुति प्रस्तुत गरेका थिए ।

स्कुलले सो अवसरमा मन्टेस्वरी स्थापना भएदेखि निरन्तर रूपमा कार्यरत कर्मचारी र शिक्षिकालाई सम्मान गरेको थियो। कर्मचारीतर्फ माया पौडेल र रिना राई तथा शिक्षिकातर्फ सविता राईलाई दोसल्ला, प्रशंसापत्र र नगद रु. ५ हजारसहित सम्मान गरिएको थियो ।

सो अवसरमा पथरी शनिश्चरे-२ का वडाध्यक्ष नैना राई, वडा सदस्य चन्द्रकुमार राई, इटहरीस्थित एप्पल मन्टेस्वरी स्कुलकी प्रिन्सिपल चन्द्रकला घिमिरे, स्वस्तिक इन्टरनेसनल मन्टेस्वरी ट्रेनिङ सेन्टरकी प्रशिक्षक लक्ष्मी ढुङ्गाना, लगायत अतिथि तथा अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

मन्टेस्वरीकी प्रिन्सिपल एवं अध्यक्ष बिन्दु चेम्जोङ राईको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन विवेक न्यौपाने, सुम्निमा राई तथा विद्यालयका साना विद्यार्थीहरूले संयुक्त रूपमा गरेका थिए ।

सम्बन्धित खवर