लागुऔषध दुर्व्यसन विरुद्ध पथरीशनिश्चरे–१ मा सचेतनामूलक कार्यक्रम सम्पन्न

लागुऔषध दुर्व्यसन विरुद्ध पथरीशनिश्चरे–१ मा सचेतनामूलक कार्यक्रम सम्पन्न

पथरी जेसीजको आयोजनामा मोरङको पथरीशनिश्चरे–१ मा “लागुपदार्थ सेवन विरुद्ध सचेतनामूलक कार्यक्रम” सम्पन्न भएको छ । पथरीशनिश्चरे वडा नम्बर १ को “लागुपदार्थ सेवन विरुद्ध सचेतनामूलक कार्यक्रम” शीर्षकमा विनियोजित बजेटबाट उक्त प्रभावकारी सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको हो।

कार्यक्रममा वडाभित्र रहेका २ वटा सामुदायिक विद्यालय तथा ४ वटा संस्थागत विद्यालयका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागी विद्यालयहरूमा पञ्चायत माध्यमिक विद्यालय, सुनाखरी माध्यमिक विद्यालय, एभरेष्ट आवसीय माध्यमिक विद्यालय, अन्नपूर्ण माध्यमिक विद्यालय, भूपू सैनिक अङ्ग्रेजी माध्यमिक विद्यालय तथा प्यागोडा माध्यमिक विद्यालय रहेका थिए।

कार्यक्रमको मुख्य उद्देश्य समाज, विशेषगरी युवा पुस्तालाई लागुपदार्थ दुर्व्यसन तथा विभिन्न कुलतबाट जोगाउनु, उनीहरूमा सकारात्मक सोचको विकास गर्नु तथा स्वस्थ, सुरक्षित एवं उत्पादनशील समाज निर्माणतर्फ प्रेरित गर्नु रहेको आयोजकले जनाएको छ। कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई लागुपदार्थ सेवनका दुष्परिणाम, यसले व्यक्तिगत, पारिवारिक तथा सामाजिक जीवनमा पार्ने असरबारे जानकारी गराइएको थियो। साथै, युवाहरूलाई कुलतबाट टाढा रहन प्रेरणा दिने विभिन्न सन्देशमूलक प्रस्तुति तथा अन्तरक्रियात्मक गतिविधिहरू समेत सञ्चालन गरिएको थियो।

कार्यक्रममा सहजकर्ता हेल्पिङ्ग ह्याण्ड नेपालका अध्यक्ष बहादुर चौधरी र सशस्त्र प्रहरी इन्स्पेक्टर रवि खकुरेल रहनुभएको थियो। स्थानीय स्तरमा यस्ता कार्यक्रमहरूले युवापुस्तामा सकारात्मक चेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास पथरी जेसिजको रहेको छ।

सम्बन्धित खवर