सुनपकुवा साकोसको ३१औँ स्थापना दिवस: एक कर्मचारीसहित दर्जनौँ शेयर सदस्य सम्मानित

सुनपकुवा साकोसको ३१औँ स्थापना दिवस: एक कर्मचारीसहित दर्जनौँ शेयर सदस्य सम्मानित

उर्लाबारी/ सुनपकुवा स्वावलम्बी बचत तथा ऋण सहकारी संस्था उर्लाबारीको ३१ औँ स्थापना दिवस सम्पन्न भएको छ । शनिबार संस्था स्थापना दिवसको अवसरमा उर्लाबारी -३ मंगलबारेस्थित रिमझिम होटलमा आयोजित एक कार्यक्रमबिच एक कर्मचारीसहित दर्जनौँ शेयर सदस्यहरुलाई सम्मानित गरिएको छ ।

सो अवसरमा संस्थाकी कार्यालय सहयोगी शान्ताकुमारी पोख्रेल उत्कृष्ट कर्मचारी पुरस्कारद्वारा सम्मानित भएकी छिन् । यस्तै असल ऋणी(ग्रिनकार्ड) ,उत्कृष्ट ऋणी पुरस्कार, कारोबार बचतकर्ता पुरस्कार, उत्कृष्ट दैनिक बचतकर्ता, एकल महिला सम्मान, ज्येष्ठ सदस्य सम्मान, बाल बचतकर्ता पुरस्कार, ज्येष्ठ बचतकर्ता पुरस्कार, उत्कृष्ट विद्यार्थी पुरस्कार, उद्यमी पुरस्कार, सदस्यता विस्तार योगदान सम्मानलगायतका विभिन्न विधाहरुमा दर्जनौँ शेयर सदस्यहरुलाई सम्मानित गरिएको थियो ।

उनीहरुलाई कार्यक्रमका प्रमख अतिथी नेपाल बचत तथा ऋण सहकारी संघकी संचालक सदस्य गोमा नेपाल, विशिष्ट अतिथी मोरङ जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष प्रेमप्रकाश कोईराला, संस्थाका अध्यक्ष हेमचन्द्र थापालगायतले दोसल्ला ओडाएर नगदसहित करुवाले सम्मानित गरिएको थियो ।

कार्यक्रमकी प्रमुख अतिथी नेपालले आफ्नो शुभकामना मन्तव्य राख्ने क्रममा सुनपकुवाले पूर्ण रुपमा शेयर सदस्यहरुको हितमा रहेर कार्यहरु गरेको बताउदै आगामी दिनहरुमा थप कार्ययोजनाहरु तयार गरी उत्पादनमूखी क्षेत्रहरुमा लगानी गर्न सुझाव दिईन् ।

सो कार्यक्रममा विशिष्ट अतिथी प्रेमप्रकाश कोईराला, संस्थाका प्रमुख सल्लाहकार डिल्लीराम सापकोटालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

संस्थाका अध्यक्ष हेमचन्द्र थापाको सभाध्यक्षतामा सम्पन्न सो कार्यक्रमको संचालन संस्थाका सचिव रविन भट्टराईले गरेका थिए भने स्वागत मन्तव्य संस्थाकी उपाध्यक्ष तिलादेवी खतिवडाले राखेकी थिईन् ।

५ हजार ४ जना शेयर सदस्यहरु रहेको सो सहकारीको कार्यक्षेत्र समग्र उर्लाबारी नगरपालिकासहित पथरीशनिश्चरे नगरपालिका वडा नम्बर १-६, र मिक्लाजुङ गाउपालिका वडा नम्बर ६-९ सम्म रहेको व्यवस्थापक अभिमन्यू अर्यालले जानकारी दिए ।

वि.सं. २०५० सालमा स्थापित उक्त सहकारीको ३० औँ वार्षिक साधारणसभा गत असोज ३ गते सम्पन्न भएको थियो ।

सम्बन्धित खवर