सुनदह सहकारीबाट ठगिनेहरूले उजुरी गर्न इप्रका पथरीको अनुरोध

सुनदह सहकारीबाट ठगिनेहरूले उजुरी गर्न इप्रका पथरीको अनुरोध

पथरी, सुनदह सहकारीबाट ठगिने बचतकर्ताहरूले उजुरी गर्नका लागि इलाका प्रहरी कार्यालय पथरीले अनुरोध गरेको छ ।

आज इप्रकाले सामाजिक सञ्जालमा सूचना जारी गर्दै मोरङको पथरीशनिश्चरे ६ मा रहेको सुनदह सहकारीबाट ठगिमा परेकाहरूले तत्काल उजुरी दिन भनेको छ । गत आइतबार (२८ गते) २५ जना बचतकर्ताले ३३ लाख ६९ हजार ३५५ रुपैँया बराबर रकम ठगि भएको भन्दै तारा खड्का समेत २५ जनाको इलाका प्रहरी कार्यालय पथरीमा उजुरी परेपछि अनुसन्धान भइरहेको इप्रका पथरीले जनाएको छ ।

सोही उजुरीका आधारमा संस्थाका व्यवस्थापक राजेन्द्र तामाङ र कर्मचारी विश्व चौधरी पक्राउ परेका छन् भने संस्थाका अध्यक्ष एल.बी भनिने लाल बहादुर भण्डारी भने फरार रहेको पिडितहरूले जानकारी दिए ।

यस विषयमा इलाका प्रहरी कार्यालय पथरीमा प्रकृयामा नै रहेकाले थप जानकारी दिन नमिल्ने तर केहि दिनमा आधिकारिक रुपमा सार्वजनिक गर्ने डिएसपी लक्ष्मी भण्डारीले बताए ।

सोही मुद्धामा सहकारीबाट ठगिएको भन्दै आज (बुधबार) पनि अन्य १३ जनाले १८ लाख ३० हजार ४७३ रुपैँया बराबरको ठगि भएको भन्दै जाहेरी दर्ता गराएको पिडित फुत्नी मण्डलले जानकारी दिइन् ।

सुनदहबाट ठगिएको भनेर पटक पटक वडा कार्यालयमा समेत बसेर छलफल भएको थियो तर पटक पटक भाका राखेर रकम तिर्ने बचन दिने तर वर्षौँ बित्दा पनि बचत रकम फिर्ता नगरेपछि पिडितहरूले जाहेरि दिएका हुन् । सुनदहमा करिब १ करोड हिनामिना भएको पिडितको गुनासो छ ।

अध्यक्ष भण्डारी नेकपा एमालेका पथरीशनिश्चरे नगर उपसचिव हुन् । सोही राजनीतिक आडमा सहकारी डुबाएको भन्दै सुनदहका व्यवस्थापक तामाङले नै पटक पटक आरोप लगाएका थिए । नगरको सहकारी शाखामा जानकारी गराउँदा पनि वेवास्था गर्ने, अनुगमन नगर्ने गरेपछि भण्डारीले मनखुसी गरेको तामाङको भनाइ थियो । सञ्चालक समितिमा निर्णय नगराइ जग्गामा लगानी गर्ने, अन्य विभिन्न शीर्षकमा खर्च गर्ने, व्यवस्थापक आफु नभएको समयमा भण्डारीले मनिट्रान्सफरबाट रकम पठाएर आफुलाई समेत फसाएको तामाङले बताउदै आएका थिए ।

सुनदह मात्रै हैन कुटो कोदाली पनि डुब्यो

पथरीशनिश्चरे ६ भातेगौँडामा रहेको कुटो कोदाली कृषि सहकारी संस्था लि. पनि डुबेको बचतकर्ताहरूको भनाइ छ । बचतकर्ता फुत्नी मण्डलको १ लाख माथि रकम कुटो कोदालीमा बचत छ तर पटक पटक बचत रकम माग्न जाँदा फिर्ता नगरेको र अहिले कार्यालयमा ताला लगाएको मण्डलले बताइन् ।

यो पनि पढ्नुस् 

सुन्दह सहकारीको करोड बढि रकम झ्वाम पारेका भण्डारी बिरुद्ध प्रहरीमा उजुरी

 

सम्बन्धित खवर