पथरी, सहकारीमा बचत गरेको रकम ठगी गरेको आरोप थुप्रैलाई लाग्ने गरेको छ । गाउँ गाउँमा सहकारी खोल्ने र सोझा सिदालाई रकम जम्मा गर्न लगाइ ठगी गर्नेको संख्या बढ्दै गइरहेको छ ।
मोरङको पथरी शनिश्चरे ५ मा रहेको सुन्दह सहकारीबाट आफुहरू ठगीमा परेको भन्दै पिडितहरूले इलाका प्रहरी कार्यालय पथरीमा उजुरी दर्ता गराएका छन् । साउन १४ गते पिडित दीपा खड्का, रानु सुवेदी, चन्द्रकला रिमाल लगायत दर्जन बढिले पक्राउ गरी छानविन गर्न भन्दै उजुरी दिएका हुन् ।
सहकारीका अध्यक्ष एल.वि भनिले लाल बहादुर भण्डारी, व्यवस्थापक विश्व चौधरी र कर्मचारी राजेन्द्र तामाङलाई विपक्षि बनाएर १ करोड ५० लाख रकम हिनामिना गरेको आरोप लगाइएको छ । २०७० सालदेखि सञ्चालनमा आएको साकोसले दीपा खड्काको ५ लाख २१ हजार ६७०, रानु सुवेदीको २ लाख ५८ हजार ६८१, चन्द्रकला रिमालको २५ हजार १६७, धनमाया बाँस्तोलाको १ लाख १८ हजार १९१, भानुभक्त खनालको १ लाख ३० हजार, सरिता कार्कीको १ लाख ६३ हजार, दुर्गा चौधरीको १ लाख ९६ हजार ७२०, उष पौदारको ८० हजार, धन बहादुर चौधरीको १ लाख ५० हजार ६७२, तारा खड्काको ७ लाख, प्रमिला उरावको २ लाख ६६ हजार ९५८, भुपाल भट्टराईको ३५ हजार, जैमुन खातुनको ३ लाख, रोहित धिमालको २ लाख २० हजार, सुभिता खड्काको ४६ हजार, धनलाल चौधरीको ६५ हजार लगायत अरु अन्दाजी ३०० जनाको गरी १ करोड ५० लाख रकम हिना मिना गरेको आरोप छ ।
सहकारी स्थापना कालमा भण्डारी अध्यक्ष थिए । बिचमा साधारणसभा गरेर सुन्दह सहकारी छाडेका भण्डारीले कुटो कोदाली कृषि सहकारी दर्ता गरेर सञ्चालन गरिरहेका छन् । पछिल्लो समय सुन्दहमा पूनः भण्डारी नै अध्यक्ष भएर सहकारी सञ्चालन गरिरहेका थिए । आफ्नो बचत रकम पटक पटक माग गर्दा पनि सहकारीले भुक्तानी नदिएपछि सञ्चालक विरुद्ध उजुरी गर्नुपरेको पिडितहरूले बताएका छन् ।