पथरी, मोरङ्गको पथरी शनिश्चरेमा जारी पिट्सबर्ग च्यालेन्ज कप फुटबल प्रतियोगितामा आजको खेलमा दमक फुटबल क्लबले पथरी फुटबल क्लबलाई २–१ गोलान्तरले पराजित गर्दै अघिल्लो चरणको यात्रा तय गरेको छ ।
खेल शुरु भएको ७ मिनेटमै दमकले खेलमा अग्रता लिएको थियो । किस्मत लिम्बूको गोलले अग्रता लिएको दमकका लागी खेलको ५१ औ मिनेटमा रोशन धिमालले थप गोल गर्दै टिमको अग्रता २–० को बनाएका थिए । खेलमा फर्कने प्रयास गरीरहेको पथरीले खेलको ६० औँ मिनेटमा १ गोल फर्काएता पनि थप गोल गर्न नसक्दा हार टार्न सकेन् । दमकले फल गरे पछि पथरीले पेनाल्टी प्रहारको अवसर पाएको थियो । सोही अवसरको सदुपयोग गर्दै पथरीका लागी निमन लिम्बूले गोल गरेका थिए ।
आजको खेलको मेन अफ द म्याच विजेता टिमका किस्मत लिम्बू घोषित हुदैँ नगद २ हजार ५ सय रुपैँया प्राप्त गरे । मेन अफ द म्याचलाई कार्यक्रमका प्रमुख अतिथि पञ्चायत माविका प्रधानाध्यापक अर्जुन कुमार बुढाथोकीले पुरस्कार प्रदान गर्नु भएको थियो ।
थ्री रिभर्स एफ.सी. अमेरिकाको आयोजनामा शुरु प्रतियोगितामा झापा, मोरङ र सुनसरीको ९ र भुटानी शरणार्थीको एक टिम गरी १० टिमले सहभागिता जनाउँदैछन। प्रतियोगीताका सम्पूर्ण खेलहरु पथरीशनिश्चरे १० मा रहेको खेल मैदानमा संचालन भइरहेका छन् ।
प्रतियोगिता अन्तर्गत भोलीको खेल बेलबारी फुटबल क्लब र राष्ट्रिय जागृति क्लब इटहरीबिच हुनेछ। बेलबारीले यस अघिको खेलमा प्रतिभा समाज सुधार यूवा क्लबलाई पराजित गरिसकेको छ भने राष्ट्रिय जागृति क्लब पहिलो खेल खेल्दैछ ।
प्रतियोगिताको प्रथम र दास्रो हुने टिमले क्रमशः १ लाख १ हजार र दोस्रोले ५१ हजार नगद ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने प्रतियोगिता संयोजक गणेश थक्लुङ्गले जानकारी गराए ।
यस्तै प्रतियोगितामा हरेक खेलमा म्यान अफ द म्याच खेलाडीलाई २५ सय, विधागत रुपमा उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट फवार्ड र हाइस्कोररलाई क्रमशः ५ हजार र म्यान अफ द टुर्नामेन्टलाई नगद रु. १० हजार र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगीताको फाइनल खेल कार्तिक १९ गते हुनेछ ।
