आज नेपाल कम्युनिष्ट पार्टीको ७२औं स्थापना दिवस

आज नेपाल कम्युनिष्ट पार्टीको ७२औं स्थापना दिवस

काठमाडौं । आज नेकपा स्थापना दिवस । नेपालका कम्युनिस्ट पार्टीहरुले आज स्थापना दिवस मनाउँदै छन् । ७२ वर्षअघि आजकै दिन भारतको कलकत्तामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ थिए भने अन्य संस्थापक नेताहरुमा निरन्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतिदेवी श्रेष्ठ थिए । नेकपाको स्थापनासँगै मनमोहन अधिकारी, तुलसीलाल अमात्य, केशरजंग रायमाझी लगायतका नेताहरु पनि जोडिएका थिए ।

नेपालमा जहानियाँ राणा शासन कायम रहेका बेला भूमिगत रुपमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टीले सामान्तवाद, दलाल–नोकरशाही पुँजिवाद तथा साम्राज्यवादका शोषण उत्पीडनबाट नेपाली जनता र राष्ट्रलाई मुक्त गर्ने उद्देश्य लिएको थियो ।

कम्युनिस्ट पार्टीका दोस्रो महासचिव मनमोहन अधिकारी बने भने तेस्रो महासचिव तुलसीलाल अमात्य बने । यसबीचमा कांग्रेस नेतृत्वमा रहेको सरकारले वि.सं. २०११ सालमा नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिवन्ध समेत लगाएको थियो । २०१५ सालको पहिलो आम निर्वाचनमा कम्युनिस्ट पार्टीले ४ सिट जितेको थियो ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ तत्कालीन राजा महेन्द्रले जननिर्वाचित सरकार अपदस्थ गरेर पञ्चायती व्यवस्था लागु गरेपछि नेपाल कम्युनिस्ट पार्टी पुनः प्रतिबन्धित भएको थियो । त्यसक्रममा केशरजंग रायमाझी पक्षले पञ्चायती व्यवस्थाको समर्थन गरेपछि कम्युनिस्ट पार्टी बिभाजित बन्यो ।

बिभाजनका बीच झापामा तत्कालीन झापाली क्रान्तिकारीले ‘वर्गशत्रु सफाया’ अभियान चलाउँदै झापा क्रान्ति मार्फत नेकपा माले र हालको एमालेको रुप लिएको हो । पुष्पलाल, मनमोहनहरुको समूह अन्ततः एमालेको धारमा २०४७ पछि एकीकृत भए ।

मोहनविक्रम सिंह, निर्मल लामाहरुले नेतृत्व गरेका बिभिन्न समूह नेकपा चौम, नेकपा मोटो मशाल, नेकपा पातलो मसाल, नेकपा एकताकेन्द्र हुँदै हालको माओवादी धार तयार भयो । मोहनविक्रम सिंह भने अहिले पनि पातलो मसालको नेतृत्व गरिरहेका छन् ।

२०१५ सालमा ४ सिट जितेर अस्तित्वमा आएको नेपाल कम्युनिस्ट पार्टी पञ्चायतकालमा बिभिन्न चिरामा बिभाजित भएको थियो । २०४६ सालको जनआन्दोलनपछि तत्कालीन माले र मार्क्सवादी मिलेर बनेको एमाले संसदमा ६९ सिटसहित सशक्त प्रतिपक्ष बनेको थियो भने तत्कालीन जनमोर्चा र हालको माओवादी ९ सिटसहित तेस्रो दल बन्यो ।

२०५२ सालमा माओवादीले जनयुद्ध शुरु गरेपछि उसले संसदीय राजनीति त्याग्यो । माओवादीले २०५१ सालमा आम निर्वाचन बहिस्कार गर्दा एमाले ८८ सिटसहित पहिलो पार्टी बनेर दक्षिण एशियामै पहिलो कम्युनिस्ट एकल सरकार गठन गर्न सफल भएको थियो ।

२०५४ सालमा एमाले बिभाजित भएपछि २०५६ सालको आमनिर्वाचनमा ७० सिटसहित एमाले पुनः दोस्रो दल बन्यो । ऐतिहासिक जनआन्दोलनपछि २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा नेकपा माओवादी प्रत्यक्षतर्फ बहुमतसहित सबैभन्दा ठूलो दल बन्यो ।

२०७० को दोस्रो संविधानसभा निर्वाचनमा एमाले दोस्रो र माओवादी तेस्रो दल बने । यसबीचमा नेपाल कम्युनिस्ट पार्टीबाट मनमोहन अधिकारी, माधवकुमार नेपाल, पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, बाबुराम भट्टराई र केपी शर्मा ओली प्रधानमन्त्री बने ।

२०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धन बनाएर लडेका दुई कम्युनिस्ट पार्टी एमाले र माओवादीले करीव दुई तिहाइ बहुमत ल्याउन सफल भए । यो नेपाल कम्युनिस्ट पार्टी स्थापनाको करीव ७० वर्षको इतिहासमै सबैभन्दा ठूलो सफलता हो ।

चुनावी गठबन्धनपछि २०७५ जेठ ३ गते एमाले र माओवादीबीच पार्टी एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भयो । नेकपाको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला सर्वोच्च अदालतले यी दुई पार्टी बीचको एकता बदर गरिदिएपछि अहिले एमाले र माओवादी पुरानै अवस्थामा फर्किएका छन् । सरकारको नेतृत्व गर्दै आएको नेकपा एमाले पनि विभाजनको नजिक आइपुगेको छ ।

आन्तरिक विवादले कम्युनिस्ट पार्टीहरु टुक्राटुक्रामा विभाजित हुँदा कार्यकर्ताहरु निराशमात्र हैन, नेताहरुमा पनि वितृष्णा र निरासा छाएको छ ।

सम्बन्धित खवर