संसदीय दलको प्रमुख सचेतकमा विशाल भट्टराई नियुक्त

संसदीय दलको प्रमुख सचेतकमा विशाल भट्टराई नियुक्त

प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

प्रतिनिधिसभा पुनःस्थापनापछि देव गुरुङलाई प्रमुख सचेतकबाट बर्खास्त गरी खोटाङबाट निर्वाचित भट्टराईलाई प्रमुख सचेतकमा मनोनयन गरिएको हो ।

भट्टराईलाई प्रधानमन्त्री ओलीले आजै संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसहितको उपस्थितिमा प्रमुख सचेतकको नियुक्तिपत्र दिएका छन् ।

खोटाङबाट दुईपटक निर्वाचित सांसद भट्टराई नेकपा केन्द्रीय सदस्य पनि हुन् । अनेरास्ववियूको राजनीतिबाट उदाएका उनी २०५१ सालमा महेन्द्ररत्न क्याम्पस ताहाचलको स्ववियू सभापति निर्वाचित भएका थिए ।

विधानअनुसार दलको नेताले उपनेता, प्रमुख सचेतक र सचेतक मनोनयन गर्ने व्यवस्था नेकपामा छ ।

पार्टी विभाजनले कानुनी मान्यता नपाइसकेको अवस्थामा विधिवत्रुपमा नेकपाको संसदीय दल एउटै रहेको छ । सो दलबाट प्रमुख सचेतक गुरुङ र सचेतक शान्ता चौधरी थिए । चौधरी सचेतकमा यथावत रहेको उपनेता नेम्वाङले बताए ।

सम्बन्धित खवर