६ लाखले लाइसेन्स पाउन बाँकी, मास प्रिन्टर अझै प्रयोगमा आएन

६ लाखले लाइसेन्स पाउन बाँकी, मास प्रिन्टर अझै प्रयोगमा आएन

२०७६ कार्तिक २ गते
थोरै समयमा धेरै स्मार्ट लाइसेन्स छाप्ने क्षमता भएको मेसिन (मास प्रिन्टर) यातायात व्यवस्था विभागमा भित्रिएको दुई महिना बित्यो । निकै हल्लाखल्लाका साथ ल्याइएको यो मेसिन अझै प्रयोगमा भने आएको छैन ।
साना प्रिन्टरबाट छापेर वितरण गर्दा माग धान्न नसक्ने अवस्था आएपछि विभागले मास प्रिन्टर ल्याएको थियो । तर, अझैसम्म विभागले यसलाई नचलाई जतनले थन्क्याएको छ ।
अहिले विभागबाट कसैलाई विभिन्न कर्मचारीको सिफारिसमा तोक आदेश गराएर लाइसेन्स बाँडिदैछ भने कसैले एक वर्ष कुर्दा पनि लाइसेन्स पाएका छैनन् । आर्थिक प्रभावमा तोक आदेश गराउँदै लाइसेन्स वितरण गर्ने काम भइरहेको सेवाग्राहीको आरोप छ । नयाँ मेसिन आएपछि त्यसको सञ्चालनका लागि विभागले तत्परता नदेखाउनुले पनि यस्तो शंकामा बल पुग्ने उपभोक्ताअधिकारवादी रामबहादुर थापा बताउँछन् ।
भारतीय कम्पनी मद्रास प्रिन्टरले यो मेसिन नेपालमा आपूर्ति गरेको हो । मद्रासले नै नेपालमा स्मार्ट लाइसेन्स छपाई व्यवस्थापनको जिम्मा लिएको छ । मास प्रिन्टरले एक घण्टामा १५ सय वटा लाइसेन्स छाप्न सक्छ । करिब ४ देखि ६ महिनामा पुराना सबै लाइसेन्स छापिसकेर नियमित अवस्थामा लैजान सकिने विभागले बताएको थियो । लाइसेन्सको प्रिन्ट हुन बाँकी संख्या अहिले ६ लाखभन्दा माथि छ ।
अहिले विभागका ५ वटा पुरानामध्ये मुस्किलले ३ वटा मेसिनले मात्रै प्रिन्ट गरिरहेका छन् । अन्य बिग्रिएर थन्किएका छन् । चलेका मेसिनमा पनि पटक(पटक समस्या आउँछन
विभागका प्रवक्ता तीर्थराज खनाल मेसिनलाई सिस्टममा जोडिएको बताउँछन् । उनले परीक्षण भने सुरु भइनसकेको बताए । ‘परीक्षणको तयारी गरिँदैछ,’ उनले भने, ‘नियमित प्रिन्टिङ सुरु हुन बाँकी छ । कहिलेबाट सुरु हुन्छ भन्ने तय छैन ।’
विभागका एक प्राविधिक कर्मचारीले मास प्रिन्टर तत्काल सञ्चालनमा आउने छाँटकाट नदेखिएको बताए । मेसिनसहित सामान आपूर्ति र छपाइको जिम्मा लिएको मद्रासले गरेको ढिलासुस्तीमा पनि विभागले आँखा चिम्लिएको उनको आरोप छ ।
‘विभागका उच्च अधिकारीहरुले मद्रास प्रिन्टर्सलाई छिटो काम थाल्न ताकेता नगर्दा पनि समस्या भएको हो । मद्रासले छपाइका लागि आवश्यक सामान अझै पर्याप्त परिमाणमा ल्याइसकेको छैन । अहिले थोरै सामान हुँदै काम थालियो भने केही कार्ड छाप्नासाथ फेरि मेसिन बन्द गरेर राख्नुपर्छ,’ उनले भने ।
मेसिनसँगै स्मार्ट लाइसेन्स प्रिन्ट गर्ने १० लाखवटा कार्ड पनि आपूर्ति गर्ने जिम्मा मद्रासले लिएको छ । त्यसमध्ये करिब ६ लाख कार्ड विभागमा आएको छ ।
विभागमा मागअनुसार लाइसेन्स बाँड्न नसकिएको ‘ब्याक लग’ संख्या दिनानुदिन बढ्दो छ । लाइसेन्स वितरणलाई नियमित गर्ने हो भने दैनिक ४ हजार लाइसेन्स प्रिन्ट हुनुपर्छ । तर, हाल औसत दैनिक १५ सय लाइसेन्स पनि प्रिन्ट हुँदैन ।
महिनामा ५० हजार लाइसेन्स पनि प्रिन्ट हुने गर्न नसकिएको विभागका अधिकारीहरु बताउँछन् । यस्तो अवस्थामा प्रक्रिया पूरा गरेका सेवाग्राहीले लाइसेन्स प्राप्त गर्न महिनौं लाग्ने गरेको छ । अहिले विभागका ५ वटा पुरानामध्ये मुस्किलले ३ वटा मेसिनले मात्रै प्रिन्ट गरिरहेका छन् । अन्य बिग्रिएर थन्किएका छन् । चलेका मेसिनमा पनि पटक(पटक समस्या आउँछन् ।
विभागअनुसार पुरानो मेसिनले आफ्नो ‘लाइफ टाइम’ मा जम्मा एक लाख लाइसेन्स प्रिन्ट गर्न सक्ने क्षमता राख्छन् । तर, करिब ५ लाख लाइसेन्स प्रिन्ट गरिसकेका छन् ।
पुराना मोडलका प्रिन्टरको उत्पादन पनि बन्द भएकाले पार्टपुर्जा पाउन गाह्रो पर्ने गरेको छ । यसका कारण महिनौं पहिले नै प्रक्रिया पूरा गरेका सेवाग्राहीलाई लाइसेन्स दिन विभागलाई धौधौ परिरहेको छ ।
देशभरका १७ वटा लाइसेन्स कार्यालयबाट लाइसेन्स वितरण हुन्छ । प्रिन्ट भने काठमाडौंको मीनभवनस्थित विभागको कार्यालयमा मात्र हुन्छ । सबै कार्यालयहरुमा सेवाग्राहीको चाप रहेकाले लाइसेन्सको माग पनि ठूलो दरमा बढिरहेको छ
कागजी लाइसेन्स हटाएर देशव्यापी रुपमा स्मार्ट लाइसेन्स वितरण थालेपछि लाइसेन्सको माग र छपाइको सन्तुलन मिलेको छैन । जसका कारण एक वर्षसम्म पनि सेवाग्राहीले लाइसेन्स नपाउने समस्या छ । त्यसमाथि बेला(बेलामा छपाइ गर्ने कार्ड सकिने समस्या दोहोरिरहन्छ ।
अहिले झण्डै ६ लाखभन्दा बढी सेवाग्राही सबै प्रक्रिया पूरा गरेर लाइसेन्स कुरिरहेका छन् । देशभर परीक्षाका लागि अनलाइन आवेदनमा दैनिक कोटा प्रणाली लागू गरिएका कारण लाखौं सेवाग्राहीहरु लाइसेन्स लिने प्रक्रियामा सहभागी नै हुन पाएका छैनन् ।
अनललाइन खबर

सम्बन्धित खवर