प्रधानमन्त्री केपी ओलीको पद धरापमा

प्रधानमन्त्री केपी ओलीको पद धरापमा

 

काठमाडौं – प्रधानमन्त्री केपी ओलीको पद धरापमा पर्ने देखिँदैछ । आश्चर्य त स्वयं ओलीको मन्त्रिपरिषदमा भएका एक जना प्रभावशाली मन्त्री नै ओलीलाई हटाउने रणनीतिको भित्री खेलमा संलग्न रहेको दाबी गोप्य सूत्रले गरेको छ ।

प्रधानमन्त्री ओलीको पद धरापमा पर्ने अर्को कारणमा देशीय मात्र नभई विदेशी शक्तिकेन्द्रहरुको चासो र स्वार्थ पनि थपिएको छ । कुनै बेला खुस्किनै लागेको पद जोगाइदिएको उत्तरी छिमेकी चीन पनि यस पटक ओलीसँग रुष्ट बनेको दाबी स्रोतले गरेको छ ।

दक्षिणतिरको भारत त यसै पनि ओलीको कार्यशैली र उनले लिएका निर्णयका कारण असन्तुष्ट थियो नै । तर यस पटक भारत आफै अग्रसर भएर ओली हटाउने खेलमा लाग्ने वातावरण नभएकाले परिस्थिति त्यता उन्मुख भए उसले कुनै प्रतिक्रिया नजनाउने सूत्र दाबी गर्छ ।

ओलीविरुद्ध पार्टीभित्र केन्द्रीय सचिवालयका लगभग सबै एकातिर जस्तो देखिएको छ । खासगरी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० संसदबाट पारित गर्नैपर्ने र अमेरिकी अनुदान लिएर विकासको काम फटाफट गर्नुपर्ने पक्षमा ओलीले अडान लिएपछि उत्तरी चीन पनि रुष्ट बनेको हो ।

नेपालमा चिनियाँ ऋणको बीआरआई र अमेरिकी अनुदानको एमसीसीको चेपुवामा परेर प्रधानमन्त्री ओलीले पद गुमाएमा आश्चर्य नमाने हुन्छ, सूत्र बताउँछ ।

भारतसँगको सीमा विवादमा दरिलो खुट्टा टेकेको र राष्ट्रियताको विषय भएकाले देशका सबै दल र पक्षको साथ पाएका ओलीले कालापानी–लिपुलेक–लिम्पियाधुरा समेटेर नक्शा मात्र सार्वजनिक गराएनन्, संविधान संशोधन गरेरै उक्त भूभागलाई संविधानको हिस्सा बनाए ।

राष्ट्रियताको विषयमा खुट्टा टेकेको र सबै विपक्षलाई पनि एक ठाउँमा उभिन बाध्य बनाएपछि शासकीय रुपमा भ्रष्टाचारले ग्रस्त भएको उनको सरकारलाई विषयान्तर गर्ने मौका मिलेको थियो । तर पार्टीभित्रको उनका विपक्षीहरु उनको कार्यशैलीप्रति रत्तिभर खुशी छैनन् ।

अझ पछिल्लो पटक अमेरिकी अनुदानको एमसीसी स्वीकार नगर्ने हो भने मुलुकको अनुहार अन्तर्राष्ट्रिय जगतमा देखाउनै नमिल्ने गरी एक्लिन सक्नेमा उनी सचेत देखिएको ओलीनिकटका एक नेता बताउँछन् । यो परियोजना लागू गर्न नसके नेपालको विश्वसनीयता गुम्ने मात्र नभई अमेरिकी गठबन्धनका पश्चिमा देशबाट पाउने सहायतामै धक्का लाग्ने सुझाव विज्ञहरुलाई प्रधानमन्त्री ओलीलाई दिएका छन् । त्यसले, जुनसुकै मूल्य चुकाएरै भए पनि एमसीसी संसदबाट अनुमोदन गराउने पक्षमा ओली देखिएका हुन् । यसका लागि प्रधानमन्त्री ओलीलाई पूर्ण साथ दिने बचन प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबाट मिलेको छ ।

पछिल्लो पटक ओलीले संसदमा एमसीसीबारे विरोध गर्नेहरु अध्ययन बिनै कुर्लिएको र टाउकोले टेकेर हिंडेको भन्दै कडा प्रहार गरेका थिए । अनुदानमा मिलेको ५५ अर्ब रुपैयाँको विकास निर्माणको यो परियोजना गुमाउन नसक्ने प्रष्ट सन्देश देशभित्र र बाहिरका विरोधीहरुलाई दिएपछि कुनैपनि हालतमा एमसीसी रोक्न चाहनेहरु एक ठाउँमा पुगेका हुन् ।

खासगरी चिनियाँ पक्ष अनुदानमा आएको अमेरिकी परियोजना एमसीसी कार्यान्वयन भए ऋणैऋणमा लाद्न खोजिएको बीआरआईप्रति नेपालमा नकारात्मक धारणा बन्नसक्नेमा त्रसित देखिएको छ । त्यसैले चीन अहिले सारा शक्ति लगाएर एमसीसी संसदबाट अनुमोदन हुन नदिन खेलमा लागेको सूत्रको दाबी छ ।

भारतको दादागिरीविरुद्ध प्रष्ट अडान लिएका ओलीलाई शासन सत्तामा चीनले पटक पटक सघाएर आफ्नो पक्षमा पार्न खोजेको थियो । तर प्रधानमन्त्री ओली चीनको सहयोगको नाममा एमसीसी तुहाएर अन्तर्राष्ट्रिय जगतमा नेपाललाई कम्युनिष्ट सत्ता चीनको मात्र पिछलग्गू बनेको देखाउन चाहँदैनन्, त्यसैले यो षडयन्त्रको तानाबाना बुनिएको ओली निकट नेता बताउँछन् ।

प्रधानमन्त्री ओलीले एमसीसी अनुमोदन गराउनेनै भएमा उनीविरुद्ध अविश्वासको प्रस्तावसम्म ल्याउने विषयमा पुष्पकमल दाहाल खेमाका नेताहरुमा छलफल चलेको छ । अरु विषयमा प्रधानमन्त्रीको साथमा रहेका उपप्रधानमन्त्री इश्वर पोखरेलसम्म पनि अहिले दाहाल कित्तामै पुगिसकेको स्रोत दाबी गर्छ ।

कोरोना रोकथाम नियन्त्रण उच्चस्तरीय समितिमा रहेर पोखरेलले खेलेको भूमिकाप्रति प्रधानमन्त्री ओली असाध्य रुष्ट बनेका छन् । अबको मन्त्रिपरिषदको पुनर्गठनमा पद गुमाउनेमा पोखरेल पहिलो हुने देखिएपछि उनी अहिले दाहाल कित्तामा पुगेको बताइएको छ । उता एमसीसी तुहाउन दिएको सल्लाह नमानेपछि रुष्ट बनेको चिनियाँ पक्ष पनि दाहाल र पोखरेललाई समातेर ओलीलाई ठीक लगाउने खेलमा लागेको दाबी गरिएको छ ।

यही मौकामा ओलीलाई हटाएर प्रधानमन्त्री बन्ने खेलमा पोखरेल र दाहाल दुबै लागेको दाबी सूत्रको छ । तर समकालिन राजनीतिका चतूर खेलाडी ओलीले पनि एमसीसीमा केहिगरी दाहाल–पोखरेल चिनियाँ कार्डमा चलेर धोका दिएमा विपक्षी कांग्रेससँग मिलेर पारित गराउने रणनीति बनाएको देउवा निकट स्रोतले जनाएको छ ।

पछिल्ला वर्षमा नेपालको आन्तरिक राजनीतिक मामलामा चीनको खुल्लमखुल्ला प्रवेशपछि ‘हुँच्चिलले नाघेको बिरालो’ जस्तो देखिएको भारत भने आफू मैदानमा आएर कुनै बल नहान्ने तर पार्टीको आन्तरिक खिचलोमा ओलीले पद गुमाएमा हाइसञ्चो मान्ने रणनीतिमा रहेको बताइन्छ । पछिल्ला दिनमा लद्दाखको सीमावर्ती क्षेत्रमा चिनियाँ सैनिकको प्रहारबाट आफ्ना २० सैनिक मारिएपछि भारत निकै मर्माहत भएकाले तत्काल उ नेपाल मामलामा हात नहाल्ने निष्कर्षमा रहेको बताइएको छ । इमेज खवर बाट ।

सम्बन्धित खवर