कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि परिक्षणको दायरा बढाइनुपर्ने सासंदहरूकाे माग

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि परिक्षणको दायरा बढाइनुपर्ने सासंदहरूकाे माग

कास्की : प्रदेशसभाको शून्य र विशेष समयमा बोलेका सांसदहरुले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि परिक्षणको दायरा बढाइनुपर्ने माग राखे । सांसदहरुले रोजगारीका लागि भारत गएका नेपालीहरु लुकिछिपी नेपाल छिरिरहेकोे हुँदा अवस्था थप जटिल बन्दै गएको जिकिर पनि गरे ।

सभाको शुन्यसमयमा बोल्दै बागलुङबाट प्रतिनिधित्व गर्ने सांसद ईन्द्रलाल सापकोटाले जेठ ११ गतेसम्म बागलुङमा भारतबाट ३ सय १५ जना आएको जानकारी दिँदै सबैको पिसिआर परीक्षणको माग गरे । उनले स्वाब संकलन गर्ने भिटिएमको कमी भएको हुँदा स्वाब लिन पनि समस्या परेको गुनासो गरेका थिए ।

यस्तै, क्वारेन्टाइन मापदण्ड र आवश्यकताअनुसार बन्न नसक्दा यसबाट पनि थप संक्रमण फैलिन सक्ने भन्दै उनले सरकारको ध्यानाकर्षण गराए । क्वारेन्टाइन व्यवस्थित पार्न स्थानीय तहलाई प्रदेशले सहयोग गर्नु जरुरी रहेको उनको भनाई थियो ।

अर्का सांसद प्रकाशचन्द्र दवाडीले बन्दाबन्दीको कारण श्रमिकको गासबास खोसिने अवस्था आएको जिकिर गरे । आफ्नो निर्वाचन क्षेत्र गोरखा उत्तरी क्षेत्रका जनता भोकभोकै हुने अवस्था आएको भन्दै उनले ध्याकर्षण गराएका थिए । खेतीपातिको सिजनमा मल बीउ नपाउने अवस्था सृजना भएको जिकिर गर्दै उनले तत्काल मल र बीउ उपलब्ध गराउन माग गरे ।

सभाको शुन्य समयमा भगतप्रसाद मल्ल, कृष्णबहादुर थापा, दोबाटे विश्वकर्मा, मणिभद्र शर्मा, मनकुमारी गुरुङ, मनबहादुर गुरुङ, बिष्णुप्रसाद लामिछाने र लक्ष्मी सुनारले बोलेका थिए ।

यस्तै, सभाको विशेष समयमा बोल्दै सांसद ओमकला गौतमले नागरिकको तुरुन्त कोरोना बीमा गरिनुपर्ने साथै, एक घर एक पिसिआर र राहतको सट्टा रोजगार अनि प्रत्येक स्थानीय तहमा खाद्यान्न भण्डार खडा गर्नुपर्ने माग राखेकी थिइन् । कम्तिमा परिवारमा एक जनाको परिक्षण गरे जोखिम अनुमान लगाउन सकिने उनको भनाई थियो ।

मुख्यमन्त्री गुरुङको गण्डकी प्रदेश ‘ग्रीन जोन’ भएको भन्ने भनाईप्रति कटाक्ष गर्दै गौतमले कोरोना फ्रि छौं भनेर खुसी हुनुको कुनै तुक नरहेको दाबी गरिन् । ‘के मुक्तिनाथ र पशुपतिनाथले नै बचाउने हुन् त हाम्रो प्रदेशका जनतालाई ? लकडाउनलाई व्यवस्थित बनाउन जरुरी छ, गर्न मिल्ने काम सामाजिक दूरी कायम गरेर सुरु गर्नुपर्छ’,उनले भनिन्,‘प्रत्येक स्थानीय तहमा व्यवस्थित क्वारेन्टाइन बनाइयोस् ।

विदेशमा रहेका नागरिकलाई तत्काल ल्याउने व्यवस्था गरियोस् । पोखरामा रहेका विभिन्न होटललाई क्वारेन्टाइनको रुपमा विकास गरेर लगियोस् ।’ कोरोना र राजनीतिक लडाई एक साथ लड्नु पर्ने अवस्थामा नेपालीहरु रहेकने उनले सुनाइन् ।

अर्का सांसद बिन्दुकुमार थापाले आपूर्ति व्यवस्थापन समितिले राम्रो काम गर्दा कुनै समस्या झेल्नु नपरेको सुनाए । आपूर्ति व्यवस्थापन समिति चुस्त दुरुस्त रहेके दावी गर्दै उनले कुनै पनि सामग्रीको बजारमा अभाव नरहेको र कालोबजारीको घटना पनि सुन्नमा नआएको जिकिर गरे ।

भारतबाट नेपालीहरु आई रहेको र मापदण्डअनुसार आरडिटी टेष्ट पनि नभएकोप्रति उनले सरकारको गम्भिर ध्यानाकर्षण गराए । ‘आरडिटी टेष्ट पनि नगरि सिधै जिल्ला छिरी रहेको अवस्था छ । सभामुख मार्फत सामाजिक विकास मन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु ।

रोग फैलाउने उद्योगको रुपमा क्वारेन्टाइन विकास हुँदैछ’, उनले भने,‘पीपिई र स्वास्थ्य सामग्रीको कुरा आइरहेको छ । स्वास्थकर्मीको मनोबल पनि तयार नरहेको सुन्नमा आएको छ । स्वास्थ्य सामग्री यथोचित व्यवस्था होस् ।’क्वारेन्टाइनको गुणस्तर कम रहेको हुँदा खालि भएका होटललाई क्वारेन्टाइन बनाउनतर्फ पनि उनले सरकारको ध्यानाकर्षण गराएका थिए ।

गण्डकी प्रदेश सांसद राजिव पहारीले नेपालले नयाँ नक्सा जारी गरेपछि सबै नेपालीको गर्वले छाती फुलेको बताए । उनले सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि स्पष्ट नीति र दृष्टिकोण बनाएका कारणे नेपालमा कोरोना संक्रमण फैलिन नपाएको दाबी गरे ।

सांसद मिना गुरुङले कोरोना संक्रमण रोक्न जनप्रतिनिधि प्रभावकारी रुपमा लाग्नुपर्नेमा जोड दिइन् । सांसद खिमविक्रम शाहीले विदेशमा अलपत्र अवस्थामा रहेका नागरिकको उद्धार गर्नुपर्ने माग गरे । सांसद धनमाया लामाले रोजगारी सिर्जना गर्ने प्याकेज तत्काल घोषणा गर्न माग गरिन् ।

सांसद ओमकला गौतमले लकडाउनमा पनि कृषि, उद्योग सञ्चालन गर्नुपर्ने माग गरिन् । सभाको विशेष समयमा धनमाया पोखरेल लामा, मोहनप्रसाद रेग्मी, प्रभा कोइरालालगायतले पनि बोलेका थिए ।

सम्बन्धित खवर