यसपालीको अलविदा नमाज र ईदको नमाज

यसपालीको अलविदा नमाज र ईदको नमाज

सईद उल शेख, भद्रपुर

जेठ १ गते रातिको ९ बजेसम्म देशमा कोरोना भाइरस संक्रमितको संख्या २४९ पुगेको छ । भारतमा संक्रमितको संख्या ७९३३३ र मृतक को २५६४ पुगेको छ, नेपालमा अहिले सम्म कोरोना भाइरसका कारण कसैको ज्यान गएको छैन् । विगत केहि दिनदेखि नेपालमा कोरोना भाइरल संक्रमितको संख्या तिव्रगतिले बढेको छ ।

लकडाउन भएको दिन देखि अहिले सम्म बिभिन्न धर्मका पर्वहरु आए तर पहिला जस्तो सार्वजनिक रूपमा कसैले पनि धूमधामका साथ मनाएनन् । नेपालमा चैत्र ११ गते देखि सुरु भएको लकडाउन कोरोना भाइरससंग लड्नका लागि विश्व स्वास्थ्य संगठनमा कार्यरत विज्ञहरुले अहिले सम्म भ्याक्सिनको विकास गर्न सकेका छैनन् । यस भाइरसले विश्वका प्रख्यात डॉक्टरहरु एवं वैज्ञानिकहरूलाई चिन्तित बनाएको छ ।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरससंग लड्नका लागि समाजिक दूरी,सरसफाई र लकडाउनलाई मुख्य हत्यारको रूपमा लिएको छ । समाजिक दूरी सरसफाईमा विशेष ध्यान दिन र लकडाउन पूर्णरूपमा पालनाका लागि पटक पटक आग्रह गरिरहेका छन् ।

अलविदा नमाज
विश्व मुस्लिम समुदाय अहिले रमज़ान महिनाको रोजा (व्रत) बसिरहेका छन्। यो समुदाय रमजानको इफ्तार धूमधामका साथ मनाउने परम्परा थियो र राति लगभग ८ बजे तरावीह नमाज सामुहिक रूपमा मस्जिदमा अनिवार्य रूपमा पढिन्थ्यो । तर महामारीको रूप लिएको कोरोना भाइरसले गर्दा यसपालि सबैमा प्रतिबंध लगाइएको छ ।

यही पवित्र महीना रमजानको अन्तिम शुक्रवारको दिन सामूहिक रूपमा मस्जिदमा पढ्ने नमाजलाई अलविदा नमाज भनिन्छ । जुन की मुस्लिम समुदायको लागि धेरै महत्वपूर्ण मानिन्छ । इफ्तार,तरावी, नमाज जस्तै मुस्लिम समुदाय अलविदा नमाजलाई प्राथिमकता साथ लिने गर्छन् । यो वर्षको अलविदा नमाज जेठ ९ शुक्रवारको दिन पर्छ ।

लकडाउन खुल्ने संभावना केहि देखिदैन्,दिनहुं कोरोना भाइरस संक्रमित बढ़ेका बढैछन् । यदि यस्तै रह्यो भने मुस्लिम समुदाय अलविदाको नमाज पनि घरमा नै पढ्न बाध्यता हुनेछ । यस बिषयमा (अलविदा नमाज कहां पढ्ने बारे) मुस्लिम आयोगले मुस्लिम धर्मगुरुहरु,मुस्लिम संघ संस्था तथा समुदाय भित्रका बुद्धिजीवीहरु संग छलफल भइरहेको आयोगका अध्यक्ष समीम अन्सारीले टेलीफोन मार्फत जानकारी पनि गराउनु भएको थियो ।

ईदको नमाज
मुस्लिम धर्मगुरुहरु समुदाय संग पटक पटक अपील गरीरहनु भएको छ कि “यसपालिको ईदमा नया कपड़ा नकिनेर त्यही रकम बरु गरीब अनाथहरुमा वितरण गर्नुस्” । ईदको नमाज कहां हुन्छ र कसरी हुन्छ यस बारे यो हप्ता भित्र निर्णय हुनेछ किनभने अहिले पनि ईदको १० दिन बाँकी छ । तर महामारी रोकथामका लागि कुनै ठोस विकल्प देखिदैन् भने बड़ो दुःखका साथ भन्नुपर्छ ईदको नमाज पनि घरमा नै पढ्न बाध्यता आउन सक्नेछ ।

सम्पूर्ण मुस्लिम समुदाय संग अनुरोध छ कि अलविदाको नमाज र ईदको नमाजलाई लिएर धर्मगुरु, मुस्लिम आयोग र नेपाल सरकारले गर्ने आग्रह र निर्णयको पूर्णरूपमा पालना गर्नुहोस् । हाम्रो सोच भन्दा पनि हजारौ गुना बढी खतरनाक भाइरस हो । स्थानीय प्रशासन तथा गांउपालिका, नगरपालिका र वडा कार्यालयहरूको आग्रहलाई जसरी मानिरहनु भएको छ त्यसरी नै आउने दिनमा प्राथमिकता दिनुहोस् ।

सम्बन्धित खवर