पथरीशनिश्चरेको शैक्षिक अवस्था

पथरीशनिश्चरेको शैक्षिक अवस्था

भिमराज अधिकारी, पछिल्लो समय पथरी शनिश्चरे नगरपालिका शिक्षाको हव बन्दै गएको छ । मोरङ जिल्लाको पूर्वोत्तर क्षेत्रमा अवस्थित यो पालिका निर्माणाधिन पूर्व पश्चिम एसियन हाइवेमा पर्दछ । उत्तरमा सामुदायिक तथा राष्ट्रिय वन र दक्षिणमा पथरी, शनिश्चरे, कीर्तिपुर, हसन्दह, आइतबारे लगायतका बजार सहित घना बस्ति रहेको यस पालिकामा रहेको छ । उत्तर दक्षिण १५ किलोमिटर हाराहारीमा फैलिएको यस पालिकामा शैक्षिक हवका रुपमा विकास भइरहेको पाइन्छ ।

यस पालिकामा २८ वटा सामुदायिक विद्यालय र ४३ वटा संस्थागत विद्यालय रहेको नगर शिक्षा शाखाको तथ्याङ्क छ । नगरको पहिलो सामुदायिक विद्यालय हाल वडा नं. ५ सुँगामा पर्ने सुँगाहाट माध्यमिक विद्यालय हो । वि.सं. २०१६ सालमा स्थापना गर्दा यस विद्यालयको नाम अमर प्राइमरी राखिएको थियो । २०१८ सालमा मात्रै प्राथमिक विद्यालयको अनुमति पाएको यो विद्यालयलाई स्थानीय डौकीसरी राजवंशी , धकलसिंह राजवंशी, कृष्णहरि न्यौपाने, छुतरु राजवंशी, सम्पतलाल राजवंशी र जमुलाल राजवंशीले जग्गा दान गरेर स्थापना गरेका हुन् । यस विद्यालयमा हाल कक्षा १० सम्म अध्ययन अध्यापन हुने गरेको प्रधानाध्यापक चन्द्र प्रसाद राजवंशी बताउनुहुन्छ ।

नगरको दोस्रो विद्यालय हाल पथरीशनिश्चरे वडा नं. ८ मा रहेको बुद्ध माध्यमिक विद्यालय हो । २०२४ पौष १ गते स्थापना भएको यस विद्यालयमा हाल कक्षा १२ सम्म अध्ययन अध्यापन हुन्छ । बुद्ध माविलाई स्थापना गर्न स्थानीय समाजसेवी ज्ञान बहादुर भट्टराईको अतुलनीय योगदान रहेको थियो । पहिले सखुवारा भन्ने ठाउँमा स्थापना गरिएको बुद्ध माविलाई २०३५ सालमा हालको विद्यालय भएको स्थान सोमबारेमा सारिएको थियो । यस विद्यालयमा हाल बोधराज सिग्देल प्रधानाध्यापक हुनुहुन्छ । यो विद्यालयलाई समाजसेवी टेक बहादुर भट्टराईले १६ कट्ठा जमिन दान स्वरुप उपलब्ध गराएको कुरा इतिहासमा पथरीशनिश्चरे भन्ने पुस्तकमा लेखक तथा सङ्कलक दीपेन्द्रराज तिम्सिनाले चर्चा गरेका छन् ।

हाल वडा नं. ५ हसन्दहमा अवस्थित अमरसिंह माध्यमिक विद्यालय पनि २०२४ सालको पौष महिनामा नै स्थापना भएको हो । हाल विद्यालय भएको स्थान देखि पूर्वउत्तरतिर एकपाखे खरको छानाबाट सुरु भएको विद्यालयमा हाल कक्षा १२ सम्म अध्ययन अध्यापन भइरहेको छ । श्री पञ्चमीको दिन पारेर शिक्षा प्रेमी भवानीशंकर थापाले स्थापना गरेको सो विद्यालयमा प्रवासी नेपाली सुक बहादुर बराइलीले अध्यापन कार्य सुरु गरेका हुन् । स्थानीय समाजसेवी भीम बहादुर निरौला, राजकुमार आचार्य लगायतले विद्यालयलाई जग्गा दान दिएपछि हालको स्थान भन्दा केही दक्षिणमा काठको २ कोठे भवन निर्माण भएको थियो । स्थापनाका हिसाबले यो नगरको तेस्रो विद्यालयमा हाल डोमी शाह प्रधानाध्यापक हुनुहुन्छ ।

विद्यार्थी संख्याका हिसाबले नगरको पहिलो ठुलो सामुदायिक विद्यालय हो पथरीशनिश्चरे १ मा रहेको पञ्चायत माध्यमिक विद्यालय । २०३६ साल भाद्र ९ गते स्थापना भएको यस विद्यालयलाई शिक्षा प्रेमी तेज बहादुर थापा, टेक बहादुर विष्ट, वीरबहादुर बस्नेत, कर्ण बहादुर राई, तिलक बहादुर विष्ट, ज्ञानेन्द्र भट्टराई, भोज बहादुर वनेम, बासु धिमाल, टहल बहादुर मोक्तन र प्रलाहद भट्टराई लगायतको अगुवाइमा स्थापना गरेका हुन् । हाल कक्षा १२ सम्म अध्यापन हुने यो विद्यालयमा ३५ सय वढि विद्यार्थी अध्ययनरत् छन् । १ सय बढि शिक्षक कर्मचारी रहेको यो विद्यालयमा अर्जुन कुमार बुढाथोकी प्रधानाधयापक हुनुहन्छ । मोरङका बढि विद्यार्थी हुने विद्यालयहरूको सूचिमा पञ्चायत मावि पनि पर्छ । भौतिक सुविधा देखि यातायात सुविधा, आवास सुविधा समेत रहेको यस विद्यालयमा विज्ञान, मानविकि, शिक्षा शास्त्र, व्यवस्थापन (अंग्रेजी, नेपाली दुवै) ललितकला, कानुन, सिभिल इन्जिनियरिङ लगायतका संकायमा अध्यापन हुनेगरेको छ । विद्यालय तहमा पनि नेपाली, अंग्रेजी माध्यम र प्राविधिक धारमा सिभिल इन्जिनियरिङ अध्यापन हुने भएकाले विद्यार्थीको चाप बढि रहेको प्रधानाध्यापक बुढाथोकी बताउनुहुन्छ । हालै प्रकाशित एसईई २०८० को नतिजामा सामुदायिक विद्यालय मध्ये मोरङमा उत्कृष्ट नजिजा ल्याउने विद्यालय बनेको छ पञ्चायत मावि । उत्कृष्ट हुने छात्रा हुन निकिता राई । राईले ३.९६ जिपिए ल्याएकी हुन् ।

सामुदायिक विद्यालयहरूको विकासको क्रमलाई हेर्दा हालको वडा नं. ९ मा पर्ने सिंह बाहिनी मावि २०३५ साल चैत्र १६ गते स्थापना भएको पाइन्छ । हालको विद्यालय भएदेखि केहि तल गोपाल नेपालको गाइगोठबाट पढाइ सुरु गरिएको यस विद्यालयमा हाल कक्षा १२ सम्म अध्यापन हुदै आएको छ । यो विद्यालय स्थापना गर्न गोपाल नेपाल, गणेश बस्नेत, बखत हादुर खड्का लगायतले अगुवाइ गरेका थिए ।

हाल वडा नं. ४ मा रहेको भागिरथ मावि २०३५ चैत्र २५ गते स्थापना भएको हो । ४ जना विद्यार्थीबाट पढाइ सुरुगरेको यस विद्यालयमा हाल कक्षा १२ सम्म अध्यापन भइरहेको छ । नगरको एकमात्र बालि विज्ञान पढाइ हुने विद्यालय पनि हो भागिरथ मावि । नगरका माध्यमिक विद्यालयहरू मध्ये महिला प्रधानाध्यापक भएको भागिरथमा जानुका जेम्जोङले नेतृत्व गरिरहनुभएको छ ।

हालको वडा नं. ३ मा २०३६ साल पौष १ गते जनता माध्यमिक विद्यालय स्थापना भएको पाइन्छ । तेज बहादुर थापाको अगुवाइमा स्थापना भएको जनता स्कुलका संस्थापक प्रधानाध्यापक स्व. चण्डीराज चापागाईँ हुन् । हाल यस विद्यालयमा व्यवस्थापन, शिक्षा र मानविकी गरी ३ वटा संकायमा कक्षा १२ सम्म अध्ययन अध्यापन भइरहेको छ ।

वडा नं. ७ लामाटोलीमा २०३६ पौष १ गते नै दुर्गा माध्यमिक विद्यालयको स्थापना भएको पाइन्छ । स्थानीय जगतबहादुर लामाको अगुवाइमा स्याउलाको छाप्रो बनाएर पढाइ सुरु गरेको यस विद्यालयमा हाल कक्षा १० सम्म अध्यापन हुदै आएको छ ।

यसपछि २०३६ साल माघमा वडा नं. ७ कीर्तिपुरमा बाल कल्याण मावि, वडा नं. ५ सुन्दरी चौकमा जनता आधारभूत, २०३७ सालमा वडा नं. ७ किराँती चौकमा चन्द्र किराँतेश्वर मावि, २०३८ सालमा वडा नं. २ सरस्वती आधारभूत विद्यालय, वडा नं. १० ऐयाबारीमा २०३८ सालमा जालपा सिंहदेवी आधारभूत, २०३९ सालमा वडा नं. ८ शुक्रबारेमा दुर्गा आधारभूत, २०३९ सालमै वडा नं. ४ मा सिद्धार्थ आधारभूत, २०४१ सालमा वडा नं. ४ सिरिसे डाँडामा सरस्वती आधारभूत, २०४२ सालमा वडा नं. ४ मा जनकल्याण आधारभूत, २०४५ सालमा वडा नं. १० को मंगलबारेमा हिरक आधारभूत, २०४५ सालमा वडा नं. ३ मा सामाजिक आधारभूत, वडा नं. ६ मा २०४७ सालमा रामजानकी आधारभूत, २०४९ सालमा सुनाखरी मावि, २०५२ सालमा वडा नं. ८ मिलन चौकमा मिलन आधारभूत, वडा नं. ६ शान्तीचौकमा २०५२ सालमा शिक्षासदन आधारभूत, २०५५ सालमा वडा नं. ५ मा सहिद रामलक्ष्मण आधारभूत, वडा नं. ६ मा दुर्गा आधारभूत, २०६३ सालमा वडा नं. ९ मा श्रीजङ्घा आधारभूत र २०६३ सालमा नै वडा नं. ९ मा आदर्श सीता आधारभूत विद्यालय स्थापना भएको पाइन्छ । नगरको कान्छो सामुदायिक विद्यालय आदर्श सीतामा संस्थापक प्रधानाध्यापकको रुपमा रीता कुमारी धिमाल कार्यरत् रहनुभएको छ ।

सामुदायिक विद्यालयका अलावा नगरमा वडा नं. २ देविगञ्जमा विश्वनाथ संस्कृत विद्यालय रहेको छ । जसमा आधारभूत तहसम्मको अध्यापन हुनेगरेको छ । समुदायमा आधारित ३ वटा बालविकास केन्द्र र २ वटा सामुदायिक सिकाइ केन्द्र पनि रहेको नगर शिक्षा शाखा प्रमुख नविन खुलाल बताउनुहुन्छ ।

नगरमा संस्थागत विद्यालयको पनि उतिकै चाप रहेको छ । यस क्षेत्रको शिक्षालाई प्रतिपर्धात्मक बनाउन संस्थागत विद्यालयको भूमिका गर्विलो रहने गरेको छ । नगरमा पहिलो संस्थागत विद्यालयका रुपमा २०४३ सालमा पथरीशनिश्चरे १ मा एभरेष्ट अङ्ग्रेजी बोर्डिङ स्कुलको स्थापना भएको पाइन्छ । २०३९ सालमा नै दन्तकाली पूर्व प्राथमिक विद्यालयको नाममा स्थापना भएको यस विद्यालयलाई स्व. चन्द्रमान (सि.एम.) कन्दङ्वाले स्थापना गरेका हुन् । हाल कक्षा १२ सम्म अध्यापन हुने यस विद्यालयले २०६५ सालमा माध्यमिक तह सञ्चालनको अनुमति पाएको हो । यस विद्यालयबाट २०५९ सालमा एस.एल.सी परीक्षमा सहभागि विद्यार्थी सलिना राईले नेपालमै उत्कृष्ट नतिजा ल्याएको तथ्य भेटिन्छ ।
नगरको दोस्रो संस्थागत विद्यालय हो अन्नपूर्ण माध्यमिक विद्यालय । वडा नं. १ मुख्य बजार क्षेत्रमा २०४८ सालमा स्थापित यस विद्यालयले २०५८ सालदेखि एसएलसी परीक्षामा विद्यार्थी सहभागी गराउँदै आएको छ । हाल कक्षा १२ सम्म सञ्चालनमा रहेको यो विद्यालय उमाकान्त रिजालले स्थापना गर्नुभएको हो ।

विद्यार्थी संख्या र व्यवस्थापनका हिसाबले ठुला मानिएका संस्थागत विद्यालय मध्ये रेडस्टार मावि अगाडी देखिन्छ । रेडस्टारले स्नातक तहमा ऋतम्भरा कलेज सञ्चालन गरिरहेको छ भने कक्षा ११ र १२ मा व्यवस्थापन संकायमा पनि विद्यार्थीको चाप उत्तिकै छ । ब्रिटिस काउन्सिलमा समेत अवार्ड पाएको रेडस्टार मावि २०५२ सालमा स्थापना भई वडा नं. २ बुद्धचौकमा अवस्थित छ । एसईई २०८० काे नतिजा अनुसार रेडस्टार संस्थागत विद्यालयहरूमा माेरङमा दाेस्राे बनेकाे छ । रेडस्टारबाट परीक्षामा सहभागी अजय लिम्बु र सतिस आचार्यले ४ जिपिए सहित उत्कृष्टता हासिल गरेका हुन् ।

नगरको अर्को ठुलो विद्यालय हो वाल्मीकि मेमोरियल बोर्डिङ स्कुल । २०५४ सालमा स्थापना भएको यो विद्यालयले २०५८ देखि एसएलसीमा विद्यार्थी सहभागि गराउदै आएको छ । यहि विद्यालयमा अध्ययन गरेका भूपाल कट्टेलले विद्यावारिधी समेत गरिसक्नुभएको इतिहासमा पथरीशनिश्चरे पुस्तकमा लेखक ‘दीपेन्द्रराज तिम्सिना’ले चर्चा गर्नुभएको छ ।

नगरमा हाल न्यू पेगोडा बोर्डिङ स्कुल, पेगोडा मोडल अंग्रेजी विद्यालय, भू.पु. सैनिक बोर्डिङ स्कुल, अरुणोदय अङ्ग्रेजी विद्यालय, जूनतारा बोर्डिङ, प्याराडाइज अङ्ग्रेजी विद्यालय, केबि मेमोरियल, मोरङ मेरिगोल्ड, कञ्चनजङ्घा बोर्डिङ, सांग्रिला एकेडेमी, सुप्रव मोडल, नविनस्टार एकेडेमी, हसन्दह डवबस्को, किर्तिपुर एकेडेमी लगायत ४३ वटा संस्थागत (नीजि) विद्यालय सञ्चालनमा रहेका छन् । नगरको शिक्षा शाखामा दर्ता नभएका केहि बेनामे संस्थागत विद्यालय पनि रहेको गुनासो पनि बेला बेला आउने गरेको छ । केही विद्यालयले अनुमति भन्दा माथिल्लो कक्षा सञ्चालन गरिरहेको पनि सुनिने गरेको छ तर त्यस्ता विद्यालयलाई नीयमनका लागि शिक्षाशाखा लागि परेकाे शिक्षा शाखा प्रमुख खुलाल बताउनुहुन्छ ।

यसका अलावा नगरमा मन्टेश्‍वरी पनि सञ्‍चालनमा रहेका छन् । नगर शिक्षा शाखाको विवरण अनुसार नगरमा सञ्‍चालनमा रहेका विद्यालय, शिक्षक र विद्यार्थीको विवरण चाहि यस्ताे छ :

नगरमा रहेका सामुदायिक विद्यालयको शिक्षक विवरण

नगरमा रहेका सामुदायिक र संस्थागत विद्यालयको विद्यार्थी विवरण

स्राेत : शिक्षा, युवा तथा खेलकुद विकास शाखा 

हालै प्रकाशित एसईई २०८० को नतिजामा पनि रेडस्टार माविका २ जना विद्यार्थीले सर्बोत्कृष्ट नतिजा ल्याएका छन् भने सामुदायिक विद्यालय तर्फ माेरङमा उत्कृष्ट नतिजा पञ्‍चायत माविले ल्याएकाे छ । अन्य विद्यालयबाट सहभागी विद्यार्थीले पनि उत्कृष्ट नजिता ल्याएका छन् । यसरी समग्रमा हेर्दा नगरको शिक्षा उन्नयनका लागि सामुदायिक र संस्थागत विद्यालयले उत्तिकै भूमिका निर्वाह गरेका छन् भन्न सकिन्छ ।

नगरको उच्च शिक्षा हासिल गर्ने एकमात्र थलोका रुपमा पथरी बहुमुखीलाई लिइन्छ । २०६४ सालमा स्थापना भएको पथरी बहुमुखीलाई त्रिभूवन विश्व विद्यालयले २०६४ कार्तिक १८ गते क्याम्पस सञ्चालनको अनुमति दिएपछि पढाइ सुरु भएको हो । २०६३ सालमा स्थानीय शिक्षकहरू सोमनाथ निरौला, अर्जुन कुमार बुढाथोकी, चण्डी प्रसाद राई लगायतले सल्लाह गरेर क्याम्पस खोल्ने तयारी गरिएको थियो । त्यसपछि पथरीका स्थानीय अगुवा र राजनैतिक दलका नेताहरूसंग सल्लाह गरेर आवश्यक प्रकृया थालिएको हो । तत्कालिन अवस्थामा मोहन तुम्बापोको संयोजकत्वमा सुरु गरिएको क्याम्पस व्यवस्थापन समिति अध्यक्षमा हाल राम कुमार बस्नेत हुनुहुन्छ । प्रशासकीय जिम्मेवारीमा शान्तिराम तिम्सिना हुनुहुन्छ । पथरी आसपासमा निकै राम्रो छाप रहेको पथरी बहुमुखीमा केहि समय देखि विद्यार्थी संस्था घट्दो क्रममा रहेको छ । यो स्नातक तहमा व्यवस्थापन, शिक्षा शास्त्र, मानवीकि र समाज कार्य पढाइ हुने यस क्याम्पसमा स्नातकोत्तर तहमा शिक्षा शास्त्र अन्तर्गत नेपाली र व्यवस्थापन संकायमा अध्ययन अधयापन हुने गरेको छ ।

पथरीमा नै संस्थागत तर्फ ऋतम्भरा कलेज स्थापना हुनु र उर्लाबारीबाट समेत यातायातको व्यवस्थान गरी विद्यार्थी लैजानुले पथरी बहुमुखीको भविष्य माथि चिन्ता गर्नुपर्ने आवश्यकता देखिएको छ ।

नगरले पनि शिक्षाका लागि राम्रै लगानी गर्ने गरेको छ । आर्थिक वर्ष २०८१/०८२ का लागि शिक्षा शाखाले १ करोड ५७ लाख रुपैँया बिनियोजन गरेको छ । बजेटमा बालबिकास केन्द्रका सहजकर्ताको पारिश्रमिक देखि शिक्षकहरूलाई आइसिटि तालिमसम्मका कुरा समेटिएका छन् । वडाहरूले पनि आफ्नो सिलिङ बजेटमा सामुदायिक विद्यालयमा अध्ययन गर्नका लागि प्रोत्साहन हुनेगरीका कार्यक्रम समेटेको पाइन्छ । यसका अलावा नगरमा सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्न र नियमन गर्न नियमनकारी निकायको नियमित अनुगमन गर्नुपर्ने आवश्यकता देखिन्छ ।

 

सम्बन्धित खवर