– केशव निरौला
पथरी / मोरङको पूर्वोत्तर क्षेत्रमा पर्ने पथरीशनिश्चरे नगरपालिका पत्रकारिता र सञ्चार क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउने दिशामा अग्रसर रहँदै आएको स्थानीय तह हो । यस नगरपालिकाले विगतदेखि नै सञ्चार क्षेत्रसँग सम्बन्धित बहुआयामिक गतिविधिहरू सञ्चालन गर्दै आएको छ, जसले पत्रकारिताको एक सशक्त केन्द्रका रूपमा स्थापित गर्न मद्दत पु¥याएको छ । सञ्चार माध्यमहरूको विकास, पत्रकारहरूको सक्रियता, सूचना प्रवाहको पहुँच र सामाजिक उत्तरदायित्वमा देखिएको सहभागिताका आधारमा पथरीशनिश्चरेले मिडिया क्षेत्रको उन्नयनमा विशिष्ट योगदान पुर्याउँदै आएको छ ।
यस नगरपालिकाभित्र सञ्चारसम्बन्धी गतिविधिहरू एकैपटक पछिल्लो समयमा नभई ऐतिहासिकरूपबाटै क्रमशः विकास हुँदै आएको पाइन्छ । विशेषगरी छापा पत्रकारिता, रेडियो, अनलाइन पोर्टल, सामाजिक सञ्जालमा आधारित समाचार प्रवाह र सञ्चार प्रशिक्षणजस्ता कामहरू निरन्तर रूपमा हुँदै आएका छन् । यस्ता कार्यहरूले यहाँको सामाजिक चेतना अभिवृद्धि गर्नुका साथै राजनीतिक, आर्थिक, शैक्षिक र सांस्कृतिक गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने माध्यमको रूपमा काम गरेका छन् ।
नगर क्षेत्रको पत्रकारितामा साविकका तीनओटा गाविसहरू पथरी, शनिश्चरे र हसन्दहको समष्टिगत सञ्चार विकास यात्रालाई समेटेर हेर्नुपर्छ । यी सबै क्षेत्रहरूको साझा योगदानले नै पथरीशनिश्चरेलाई एक सशक्त सञ्चार नगरका रूपमा परिभाषित गर्न सकिने आधार तयार पारेको छ । साविक पथरी गाविसले स्थानीय मुद्रण तथा रिपोर्टिङको सुरुवाती अभ्यासलाई अघि बढाएको हो भने शनिश्चरेले सामुदायिक सञ्चार अभियानमार्फत स्थानीय आवाजलाई मुखरित गर्ने काम गरेको छ । यस्तै, हसन्दहले सांस्कृतिक सञ्चारको माध्यमबाट मौलिक विषयवस्तुहरूलाई उजागर गर्नमा विशेष भूमिका खेलेको देखिन्छ ।
यस प्रकार ऐतिहासिक सन्दर्भ, स्थानीय प्रयास, संस्थागत विकास र पत्रकारहरूको योगदानले गर्दा पथरीशनिश्चरे नगरपालिका आजको मितिमा पूर्वी नेपालकै एक गतिशील सञ्चार केन्द्रका रूपमा उभिन सफल भएको छ । यहाँको पत्रकारिता केवल सूचना सम्प्रेषणमा सीमित छैन, साथमा यो सामाजिक परिवर्तन र चेतनाको वाहकका रूपमा पनि उल्लेखनीय छ ।
ऐतिहासिक सन्दर्भ
पथरीशनिश्चरकोे पत्रकारिताको आधिकारिक सुरुवाती तिथि यही हो भन्ने स्पष्टता छैन । तर, पनि यस क्षेत्रमा पत्रकारिताको उठान चाहिँ छापा पत्रकारिताबाटै भएको कुरामा कसैको पनि फरकमत प्रकट भएको पाइँदैन । भित्तेपत्रिका, हवाईपत्रिका, साहित्यिक पत्रिका, साप्ताहिक पत्रिका तथा दैनिक पत्रिका सबैको प्रकाशन अनुभव यस नगरपालिकाले गरेको देखिन्छ । ‘इतिहासमा पथरी शनिश्चरे’ नामक पुस्तकमा उल्लेख भएअनुसार पथरीशनिश्चरेमा धरान, विराटनगरबाट प्रकाशित दैनिक पत्रिकाहरू २०५३/५४ सालदेखि विक्रीवितरण हुने गरेको थियो । सोही पुस्तकका सङ्कलक/प्रकाशक एवम् पूर्वपत्रकार दीपेन्द्रराज तिम्सिनाका अनुसार त्यतिबेला विमला तुम्खेवा, सुमन राई, भूपेन्द्रराज तिम्सिना, भरत भट्टराई, नरेन्द्र राई आदिले विभिन्न पत्रिकामा रिपोर्टिङ गर्ने गथ्र्ये । अन्य धेरै पत्रकारले धरान, विराटनगर तथा काठमाडौँबाट प्रकाशन हुने विभिन्न पत्रिकाको व्यवस्थापक र संवाददाता दुवैको भूमिका निर्वाह गर्दै आएको पाइन्छ । २०५५ सालदेखि नरेन्द्र राईको अगुवाईमा सामूहिक रूपबाट प्रकाशन प्रारम्भ भएको ‘मोफसल’ साप्ताहिकले नेपाली छापा पत्रकारिताको इतिहासमै भिन्न पहिचान बनाउन सफल मानिन्छ । मोफसल साप्ताहिक त्यतिबेला राजधानीबाहिरबाट प्रकाशित पहिलो ‘क’ वर्गको पत्रिका पनि हो । यो मूलतः मोरङ, झापा र सुनसरीका ग्रामीण क्षेत्रमा अत्यधिक वितरण हुने गर्दथ्यो । यो पत्रिका ‘ग्रामीण पत्रकारिताको प्रयास’ भन्ने भिन्न पहिचानका साथ निरन्तर १५ वर्षसम्म प्रत्येक आइतबार प्रकाशन भएको पाइन्छ । मोफसल साप्ताहिकका तत्कालीन सम्पादक/प्रकाशक नरेन्द्र राई भन्नुहुन्छ– ‘मैले २०५२/५३ सालदेखि पथरीमा पत्रकारिता सुरु गरेको हो । पहिले काठमाडौँका पत्रिकामा समाचार पढाउँथे । पथरीमा भएको समाचारलाई अन्यत्रका पत्रिका स्थान पाउन गाह्रो थियो । त्यतिबेला पथरीबाट पत्रिका प्रकाशन गर्नु भनेको फलामको चिउरा चपाउनु सरह थियो । प्रशस्त टेलिफोन थिएन । फ्याक्स गर्न एक पेजको २० रुपैयाँ तिर्नुपर्थ्याे । कम्प्युटर नभएको अवस्थामा उर्लाबारी, दमकतिर लगेर टाइप, सेटिङ गर्नुपर्थ्याे ।’ तत्कालीन पत्रकारिताको अर्को प्रमुख समस्याको रूपमा ‘दलीयप्रभाव’ ठान्नुहुने राई अहिलेको पत्रकारिताबारे यस्तो अनुभव सुनाउनुहुन्छ– ‘अहिले खोजमूलक र विकास पत्रकारिताले प्राथमिकता पाउन सकेको छैन । तुलनात्मक रूपमा पत्रकारिता नीतिनियमभन्दा बाहिर गएर विश्वसनीयता गुमाउन थालेको अनुभव हुन्छ । राजनीतिइतरको स्वतन्त्र पत्रकारिताको जरुरत छ ।’
मोफसल साप्ताहिकपछि यस नगरबाट प्रकाशन हुने अर्को पत्रिका हो– अनमोलमणि साप्ताहिक । २०६४ सालदेखि प्रकाशन सुरु भएको यस पत्रिकाले पथरीशनिश्चरेबाट निरन्तर प्रकाशन भइरहेको पुरानो साप्ताहिक पत्रिकाको पहिचान स्थापित गरेको छ । मिलन के. राउतको सम्पादकत्त्वमा रहेको यो पत्रिकालाई पछिल्लो समय प्रकाशनको सम्पूर्ण अभिभारा लिई सन्तोष राईले सञ्चालन गरिरहेका छन् । सन्तोष राई नै प्रकाशक रहेर २०६९ सालदेखि अर्को पृथक् पहिचान बोकेको ‘क्रेजी डटकम’ साप्ताहिक प्रकाशन भइरहेको छ । यो मूलतः मनोरञ्जनमूलक समाचार पत्रिका हो, जुन मोसफलमा ‘विधा विशेष’ पत्रिकाको प्रकाशन गर्ने अग्रणीय कार्य मानिन्छ । २०६९ सालमै मोहन भट्टराईको प्रयासमा ‘कुरकुरे डटकम’ नामक पत्रिका दर्ता भई प्रकाशन सुरु भएकामा हाल उक्त पत्रिकाले नाम परिवर्तन गरी ‘जमर्को साप्ताहिक’ बनाएको पाइन्छ । २०७० सालदेखि विजय खम्बुको प्रकाशकत्वमा ‘तिम्मा साप्ताहिक’ र केशव निरौलाले २०७२ सालदेखि ‘शैक्षिक संसार’ साप्ताहिक सुरु गरेका हुन् ।
यी विभिन्न पत्रपत्रिकामध्ये पनि यस नगरपालिकाबाट प्रकाशन सुरु भएका ‘क्रेजी डटकम’ र ‘शैक्षिक संसार’ मनोरञ्जन र शिक्षा विधा विशेष पत्रिकाका रूपमा भिन्न महत्त्वसाथ गणनायोग्य ठहरिन्छन् । यहीँबाट गोपाल विकको प्रकाशकत्व र भद्रमान विकको निर्देशनमा ‘जनसुधार साप्ताहिक’ र भरत भट्टराईको प्रकाशकत्व तथा पर्शुराम न्यौपानेको व्यवस्थापकीय भूमिकामा ‘क्रान्तिपुर साप्ताहिक’ पनि प्रकाशन भएको पाइन्छ । यस पालिकाअन्तर्गत तीनओटा दैनिक पत्रिका दर्ता भए पनि दुईओटाको चाहिँ प्रकाशित अङ्क नै भेटिन्छ । यिनमा पत्रकार अर्जुन जम्नेली राईको प्रकाशकत्वमा प्रकाशन सुरु भएको ‘पूर्वी कमान्ड दैनिक’ नगरकै पहिलो दैनिक पत्रिकामा दर्ज भएको छ । यो करिब २ महिना नियमित प्रकाशन भयो । यस्तै रामकुमारी राईको सम्पादकत्वमा ‘पथरी टाइम्स’ नामक दैनिक पत्रिका पनि प्रकाशन भएको पाइन्छ भने अमिर राईलगायतको सक्रियतामा ‘सिम्रिक हटलाइन’ नामक दैनिक पत्रिका दर्तारत छ ।
प्रकाशन मिडियामा मात्र नभई प्रसारण मिडियामा पनि पथरीशनिश्चरे नगरपालिकाको पृथक् पहिचान बनेको पाइन्छ । एउटै पालिकामा तीनओटा रेडियो स्टेसन हुनु यहाँको अर्को चिनारी हो । नगरमा २०६९ सालमा पहिलो एफएमको रूपमा स्थापित ‘सिम्रिक एफएम’ र २०७४ सालदेखि एकैपटक प्रसारण सुरु गरेका ‘पथरी एफएम’ तथा ‘रेडियो रिदम’को सञ्चारीय भूमिका उल्लेखनीय ठहर्छ । यी एफएमबाट पथरीशनिश्चरेको आवाज पूर्वी नेपालका विभिन्न भूखण्डमा लोकप्रियताका साथ सम्प्रेषण भएको पाइन्छ ।
यस नगरपालिकामा औपचारिक रूपमा २०७५ सालदेखि अनलाइन पत्रकारिताको सुरुवात भएको पाइन्छ । प्रदेश भिजन प्रालिमार्फत सम्पादक भीमराज अधिकारीले ‘प्रदेश दैनिक’ नामक अनलाइन सञ्चालनमा ल्याउनुभएको हो । सम्पादक अधिकारीले छापासँग समेत नाम मेल खाने गरी प्रदेश दैनिक अनलाइन सुरु गरेको पाइन्छ । यस्तै अशोक खनाल सञ्चालक रहेर ‘पथरी अनलाइन’ सञ्चालन सुरु भयो ।
पत्रकार गोपाल काफ्लेले २०७६ सालदेखि साइनो मिडिया प्रालिमार्फत ‘साइनो खबर डटकम’ सञ्चालन गरिरहेका छन् । सोही वर्षदेखि पत्रकार मोहन भट्टराईको अग्रसरतामा भुल्के मिडिया प्रालिमार्फत ‘पहिलो अनलाइन डटकम’ सुरु भएको हो । त्यस्तै पत्रकार फिपराज बेघाको प्रधान सम्पादकत्वमा २०७९ सालदेखि ‘सेवारो पोस्ट डटकम’ सञ्चालन भइरहेको छ । यसदेखि बाहेक यहीँका पत्रकारले अन्यत्र कार्यालय दर्ता गरेर तथा अनौपचारिक रूपबाट पनि विभिन्न डिजिटल अनलाइन पोर्टल एवम् मिडिया च्यानलहरू चलाउने गरेको पाइन्छ ।
यसरी सबैभन्दा पहिले छापा पत्रकारिताबाट अघि बढेको यस नगरको पत्रकारिताले रेडियो हुँदै अनलाइन टेलिभिजनसम्ममा नयाँ प्रविधिमार्फत विकासको गति लिइरहेको छ ।
वर्तमान अवस्था
नरेन्द्र राईको अगुवाईमा २०५५ सालदेखि सामूहिक रूपबाट प्रकाशन प्रारम्भ भएको ‘मोफसल’ साप्ताहिक निरन्तर १५ वर्षसम्म (प्रत्येक आइतबार) प्रकाशन भएर अहिले बन्द अवस्थामा छ । २०६४ सालदेखि प्रकाशन सुरु भएको अनमोलमणि साप्ताहिक पत्रिका भने अहिले पनि निरन्तर प्रकाशन भइरहेको पाइन्छ । यसले पथरीशनिश्चरेबाट निरन्तर प्रकाशन भइरहेको पुरानो साप्ताहिक पत्रिकाको पहिचान स्थापित गर्न सफलता प्राप्त गरेको छ । मिलन के. राउतको सम्पादकत्त्वमा रहेको यो पत्रिकालाई पछिल्लो समय प्रकाशनको सम्पूर्ण अभिभारा लिई नगरका सूचना सम्पादकसमेत रहनुभएका सन्तोष राईले सञ्चालन गरिरहनु भएको छ । पत्रकार सन्तोष राई नै प्रकाशक रहेर २०६९ सालदेखि अर्को पृथक् पहिचान बोकेको ‘क्रेजी डटकम’ साप्ताहिक पनि प्रकाशन भइरहेको छ । २०६९ सालमै पत्रकार मोहन भट्टराईको प्रयासमा ‘कुरकुरे डटकम’ नामक पत्रिका दर्ता भई प्रकाशन सुरु भएकामा हाल उक्त पत्रिकाले नाम परिवर्तन गरी ‘जमर्को साप्ताहिक’ को नाममा निरन्तर प्रकाशन भइरहेको छ । २०७० सालदेखि विजय खम्बुको प्रकाशकत्वमा सुरु भएको ‘तिम्मा साप्ताहिक’ २०७८ सालदेखि विधिवत् रूपमा अनलाइन संस्करणमा सञ्चालन भइरहेकोे पाइन्छ । शिक्षा विधासँग सम्बन्धित गरेर पत्रकार केशव निरौलाले २०७२ सालदेखि प्रकाशन सुरु गरेको ‘शैक्षिक संसार’ साप्ताहिक पत्रिकाले केवल ७ वर्षको यात्रा तय गरेर अहिले बन्द अवस्थामा छ ।
यस्तै यहीँबाट गोपाल विकको प्रकाशकत्व र भद्रमान विकको निर्देशनमा प्रकाशन भएका ‘जनसुधार साप्ताहिक’ र भरत भट्टराईको प्रकाशकत्व तथा पर्शुराम न्यौपानेको व्यवस्थापकीय भूमिकामा रहेका ‘क्रान्तिपुर साप्ताहिक’ अहिले प्रकाशनमा छैनन् । दैनिक पत्रिकाको सबालमा यस पालिकाअन्तर्गत दर्ता भएका तीनओटा पत्रिका अहिले बन्द छन् । पत्रकार अर्जुन जम्नेली राईको प्रकाशकत्वमा प्रकाशन सुरु भएको ‘पूर्वी कमान्ड दैनिक’ नगरकै पहिलो दैनिक पत्रिकामा दर्ज हुँदै करिब २ महिना नियमित प्रकाशन भएको थियो भने त्यसपछि प्रकाशन हुन सकेन । यस्तै ‘पथरी टाइम्स’ र ‘सिम्रिक हटलाइन’ नामक दैनिक पत्रिका पनि बन्द छन् ।
दैनिक पत्रिकाजस्तै नगरमा स्थापना भएका तीनओटै एफएम रेडियोमा अहिले कुनै पनि सञ्चालन हुन सकेका छैनन् । २०६९ सालमा पहिलो एफएमको रूपमा स्थापित ‘सिम्रिक एफएम’ र २०७४ सालदेखि एकैपटक प्रसारण सुरु गरेका ‘पथरी एफएम’ तथा ‘रेडियो रिदम’ बन्द भएका हुन् ।
मिडियाको देशव्यापी अवस्थाजस्तै यहाँका पनि दैनिक पत्रिका र एफएम सञ्चालन हुन सकेनन् तर अनलाइन पत्रकारिता भने मौलाएको पाइन्छ । २०७५ सालदेखि यस नगरपालिकामा औपचारिक रूपबाट सुरु भएको अनलाइन पत्रकारिता अहिले अझ फस्टाएको छ । प्रदेश भिजन प्रालिमार्फत भीमराज अधिकारीको सम्पादकत्वमा सुरु भएको ‘प्रदेश दैनिक’ अनलाइन अहिले त झन् समूहगत रूपबाट अझ सशक्त हुँदै सञ्चालनमा छ । २०७६ सालदेखि प्रबन्धक गोपाल काफ्लेले साइनो मिडिया प्रालिमार्फत सुरु गर्नुभएको ‘साइनो खबर डटकम’ र सोही वर्षदेखि मोहन भट्टराईकै अग्रसरतामा भुल्के मिडिया प्रालिमार्फत सुरु भएको ‘पहिलो अनलाइन डटकम’ अहिले पनि स्थानीय समाचार सम्प्रेषणमा सक्रिय छन् । पत्रकार फिपराज बेघाको प्रधान सम्पादकत्वमा २०७९ सालदेखि सुरु भएको ‘सेवारो पोस्ट डटकम’ नियमित सञ्चालनमा छ ।
२०८१ असोज ८ गते कम्पनी रजिस्टारको कार्यालयबाट ‘तर्कशाला मिडिया’ दर्ता गरी त्यसैअनुरूप पत्रकार ईश्वर दुलालले ‘पथरी अपडेट’ सञ्चालन गर्दै आउनुभएको छ । पालिकाको वडा नंं. ९ शनिश्चरे बजारमा कार्यालय राख्ने गरी दर्ता भएको तर्कशाला मिडियाका सम्बन्धमा पत्रकार दुलाल भन्नुहुन्छ– ‘अहिले पथरी अपडेट सञ्चालनमा छ । अब चाँडै सबै समाचार एकै ठाउँमा समेट्ने उद्देश्यसहित अनलाइन टेलिभिजन पनि चलाउने जमर्को भइरहेको छ । तर्कशालामातहत विभिन्न तालिम, गोष्ठी आदि पनि सञ्चालन भइरहेका छन् ।’
पथरीशनिश्चरेबाटै अनलाइन पत्रकारितामा नयाँ अभ्यास सुरुवात हुँदै छ । पत्रकार रामकुमार परियार, भूमिप्रसाद पाठक र छविलाल ढकालले वडा कार्यालयमातहत ‘मिडिया, छपाइ तथा पत्रपत्रिका अनलाइन’का लागि व्यवसाय दर्ता गरी विधिवतरूपमा खबर पेजहरू सञ्चालनमा ल्याउनु भएको छ । परियारले वडा नं. ६ मा ०८१ चैत्र २६ गते ‘हसन्दह खबर’, पाठकले पनि सोही मितिमा वडा नं. १ मा ‘खबर मिडिया’ र ढकालले वडा नं. २ मा ०८१ चैत्र २५ गते ‘पूर्वेली खबर मिडिया’ दर्ता गरी सञ्चालनमा ल्याउनु भएको हो । यस सन्दर्भमा पत्रकार छविलाल ढकाल भन्नुहुन्छ– ‘पहिलो चरणमा स्थानीय सरकार मातहतबाट दर्ता गरी सुरु भएको अनलाइन अब क्रमशः सूचना तथा प्रसारण विभागसम्मै दर्ता गरी व्यावसायिकता दिने प्रयत्न हो । करदाता सेवा कार्यालय, पथरीबाट स्थायी लेखा नम्बर (पान) समेत लिई बिलबिजक प्रयोग गरिँदै छ ।’
नेतृत्वदायी भूमिका र सम्भावना
सम्पूर्ण व्यावसायिक पत्रकारहरूको नेतृत्वदायी छाता संस्था मानिने नेपाल पत्रकार महासङ्घ मोरङमा सबैभन्दा पहिले विराटनगरबाहिर सहसचिव र उपाध्यक्ष हुँदै कार्यवाहक अध्यक्ष (मोहन भट्टराई) पनि यही पालिकाले प्राप्त गरेको छ । महासङ्घको सहसचिवमा सन्तोष राईले पनि नाम दर्ज गरिसक्नुभएको छ भने पहिलेदेखि नै कार्यसमितिमा यहाँका धेरै पत्रकारले कुशलतापूर्वक भूमिका निर्वाह गरिसकेका छन् । पूर्वोत्तर मोरङका पत्रकारहरूको साझा संस्था मानिने सञ्चार क्लब नेपाल, उर्लाबारीमा पनि यस नगरपालिकाबाट कोषाध्यक्ष (ईश्वर दुलाल), सचिव (भूमिप्रसाद पाठक) र उपाध्यक्ष (सन्तोष राई र केशव निरौला) हुँदै सल्लाहकार (अर्जुन जम्नेली राई र सन्तोष राई) सम्मको भूमिका निर्वाहा गरिसक्नुभएको छ । गत वर्षमात्र भएको गोरखापत्र संस्थानको ६२ औँ वार्षिकोत्सवको अवसरमा ‘दि राइजिङ नेपाल’ तर्फ उत्कृष्ट संवाददाताको रूपमा सम्मानित नायक पौडेलले पथरीशनिश्चरेको वडा नं. ४ मा स्थायी बसोबास गर्नुहुन्छ । पत्रकारिताको दरिलो आधार खडा गरी शिक्षण/प्राध्यापन पेसामा सक्रिय सोमनाथ निरौला, चेतन पौडेल, रोहिणी घिमिरे (रोहित पराई) लगायतको योगदान नगरको पत्रकारिताका लागि एउटा कोसेढुङ्गा सावित भएको छ । विभिन्न राष्ट्रिय स्तरका सञ्चारमाध्यममा पनि पत्रकारिता र साहित्यको विषयसन्दर्भलाई शीर्ष स्थानमा पुर्यारइरहने यहीँका भूपेन्द्र तिम्सिनाको खोजमूलक लेखनले धेरैलाई प्रेरणा दिइरहेको हुन्छ । सूचना तथा प्रसारण विभागबाट ‘स्वतन्त्र पत्रकार’को परिचय प्राप्त पत्रकारसँगै अन्य समग्र मिडियासम्बद्ध कुशल प्रशिक्षकको भूमिकामा पनि यहाँका सञ्चारकर्मी परिचित बन्नु एउटा गौरवको विषय हो । साविक शनिश्चरेअन्तर्गत मिलनचौक निवासी सरस्वती कार्कीले कान्तिपुर राष्ट्रिय दैनिकमा सम्पादनको भूमिका निर्वाह गर्दा नगरको प्रतिबिम्ब झल्किने गरेको आभास हुन्छ ।
नेपाल पत्रकार महासङ्घ मोरङका निवर्तमान कार्यवाहक अध्यक्ष मोहन भट्टराई यहाँको पत्रकारिताबारे भन्नुहुन्छ– ‘‘पथरी शनिश्चरेको पत्रकारिताले विगतमा भोग्नुपरेका प्रमुख समस्यामध्ये प्रेस स्वतन्त्रताको अभाव, सूचना पहुँचमा कठिनाइ, आर्थिक अभाव र स्थानीय सत्ता वा प्रभावशाली समूहबाट हुने दबाब उल्लेखनीय थिए । पत्रकारिता अधिक व्यक्तिनिष्ठ, सञ्जाल केन्द्रित र स्रोतहीन थियो, जसले विश्वसनीयता र सार्वजनिक भरोसामा असर पाथ्र्यो । तर, अहिलेको अवस्था केही फरक देखिन्छ । युवा पत्रकारहरूको सहभागिता, डिजिटल मिडियाको प्रयोग र समकालीन मुद्दाप्रति सचेत रिपोर्टिङले पथरी शनिश्चरेको पत्रकारिता क्रमशः जिम्मेवार, तथ्यमा आधारित र समुदायमैत्री बन्दै गएको छ । प्रेस स्वतन्त्रताको अभ्यास, स्थानीय सवालको उजागर र जनउत्तरदायित्वप्रति प्रतिबद्धता बढ्दो छ ।’’ उहाँको भनाइमा अझै पनि पत्रकारितालाई पूर्णरूपमा पेसागत बनाउन आर्थिक आत्मनिर्भरताको खाँचोमाझ सकारात्मक रूपान्तरणको सङ्केत देखिन्छ ।
विगतको पत्रकारितालाई अहिलेको समयमा तुलना गर्दै नेपाल आदिवासी जनजाति महासङ्घका केन्द्रीय उपाध्यक्ष एवम् पे्रस सेन्टर नेपालका उपाध्यक्ष अर्जुन जम्नेली राई भन्नुहुन्छ– ‘हामीले पत्रकारिता सुरुगर्दा घट्नास्थल र सार्वजनिक कार्यक्रमहरूमा जाँदा सरोकारवालाहरुले चिन्दैन थिए । म पत्रकार हो भन्नु पथ्र्यो । सोत, साधन र सुविधा अत्यन्त न्यून थियो । मोवाइल, इमेल, सामाजिक सञ्जालको प्रचलन आइसकेको थिएन । हातले लेखेर फ्याक्स गर्नुपथ्र्योे । कहिलेकाहीँ फ्याक्स गर्दागर्दै लाइन गएर पूरा समाचार पठाउन नपाउँदा दिनभरिको काम स्वाहा हुन्थ्यो । फोटो पठाउन सहज थिएन । दुःख थियो । तर, पत्रिकामा छापिएर आएपछि वा रेडियो, टेलिभिजनमा प्रसारण भएपछि भने पाठक÷श्रोताले समाचारलाई चिज मान्थे । त्यो बेलाभन्दा अहिलेको नयाँ पुस्तालाई हरेक हिसावले सहज छ । मेहनत र अध्ययन भए नाम र दाम प्रशस्त कमाउन सक्ने युग छ ।’ कुनै बेला छिमेकी पालिका उर्लाबारी गाविस हुँदाका बखत सबैभन्दा बढी पत्रिका प्रकाशन गर्ने गाविस भनेर चिनिएझै अब पथरीशनिश्चरे ‘मिडिया हब पालिका’ बन्ने दिशामा अग्रसर भइरहेको धेरैजसो मिडियाकर्मीको बुझाइ छ ।
पत्रकारिता शिक्षा र पालिकाको भूमिका
मोरङमै सबैभन्दा पहिले यही नगरपालिकाको वडा नं. १ मा रहेको पञ्चायत माध्यमिक विद्यालयले कक्षा ११ र १२ मा आमसञ्चार तथा पत्रकारिता विषयको पठनपाठन सुरु गरेको छ । विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीका अनुसार २०७८ सालदेखि पहिलोपटक पञ्चायत माविले कक्षा ११ र १२ मा आमसञ्चार तथा पत्रकारिता विषय थप गरी पढाउन थालेपछि क्रियाशील सञ्चारकर्मीसँगै मिडियाप्रति झुकाब राख्ने सम्पूर्ण विद्यार्थीको आकर्षण बढ्न थालेको छ । त्यतिबेला नेपाल पत्रकार महासङ्घ मोरङको प्रतिनिधि मण्डलले पहिलो पटक यही विद्यालयमा पत्रकारिता विषयको पठनपाठन सुरु गराउन माग गर्दै ज्ञापनपत्रसमेत बुझाएको थियो ।
नगरपालिकाले समेत यहाँको पत्रकारिताको श्रीवृद्धिका लागि मिडिया प्रवर्धन कार्यक्रमअन्तर्गत प्रोत्साहन रकमको व्यवस्था मिलाउँदै आएको छ । नगर प्रमुख मोहन तुम्बापोका अनुसार नगरपालिकामा रहेका मिडियालाई लोककल्याणकारी विज्ञापनमार्फत र पत्रकारका लागि विभिन्न समयमा उपयुक्त प्रभावकारी कार्यक्रमको आयोजना गरी सम्बोधन गर्ने गरिएको छ । नगरका सूचना सहजै सम्प्रेषण गर्नका लागि पत्रकारमध्येबाटै सूचना सम्पादकको नियुक्ति गर्ने प्रचलनलाई यस नगरपालिकाले निरन्तरता दिइरहेको छ । कम्तीमा १५ वर्षदेखि पत्रकारितामा निरन्तर सक्रिय रहेर यहाँको पत्रकारिताको श्रीवृद्धिमा उल्लेखनीय भूमिका निर्वाह गर्ने एक जना अग्रज पत्रकारलाई सम्मान र क्रियाशील पत्रकारलाई पुरस्कार गर्ने नीतिगत व्यवस्थाको कार्यान्वयन भइरहेको छ ।
मिडिया प्रवर्धन कार्यविधि बनाउन विशेष भूमिका निर्वाह गर्नुहुने पथरीशनिश्चरे नगरको सूचना सम्पादकसमेत भइसक्नुभएका अग्रज पत्रकार भूपेन्द्रराज तिम्सिना भन्नुहुन्छ– ‘‘पथरीशनिश्चरेमा स्थानीय सञ्चारमाध्मको प्रवद्र्धनको काम विगत ७ वर्षदेखि अघि बढेको भए पनि व्यावसायिकतामा अलि दर्बिलो योजना आवश्यक छ, जो अन्यत्रका लागि यो खाले योजना अघि सारेर स्थानीय तहले दिगो पत्रकारिताको प्रवद्र्धन र विकास गराउनु आवश्यक हुन्छ । यसो गर्नु भनेकै सङ्घीयताको मर्म आत्मसात गर्नु हो । अब अनलाइन माध्यमलाई प्रवद्र्धन गरेर जानु आवश्यक छ ।’’
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शशि राईका अनुसार चाँडै नगरपालिकाको तर्फबाट आमसञ्चार तथा पत्रकारिता विषय अध्ययन गर्ने विद्यार्थीलाई लक्षित गरी छात्रवृत्ति र अन्य नवप्रवर्तनमुखी कार्यमा थप योजना बनाई कार्यान्वयनमा ल्याइँदै छ ।
निष्कर्षतः नगरभित्रको वर्तमान पत्रकारिताको स्तरलाई अझ उच्च बनाउने उद्देश्यले सम्बन्धित सञ्चार माध्यमहरूले विशेष योजना तयार गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक छ । आजको अनलाइन र प्रसारण युगलाई ‘सूचनाक्रान्ति’ को रूपमा लिइँदै आएको सन्दर्भमा मिडियाले पुस्तौंदेखि कायम रहेको जनविश्वासलाई जोगाइराख्न सधैं सतर्क रहनुपर्छ । यसका लागि सत्य, वस्तुनिष्ठ र खोजमूलक सामग्री प्रस्तुत गर्नु पत्रकारिताको प्रमुख जिम्मेवारी बन्छ ।
स्थानीय सरकार र समुदायसँग सहकार्य गर्दै सञ्चार माध्यमहरूले जनसहभागिता अभिवृद्धि गर्न सक्ने विशेष परियोजनाहरू सञ्चालन गर्न सकिन्छ । शैक्षिक सामग्री उत्पादनमा सक्रियता देखाउँदै मिडियाले शैक्षिक संस्था तथा अन्य संघसंस्थासँग मिलेर गुणस्तरीय सामग्री उपलब्ध गराउन सक्छ । त्यस्तै, स्वास्थ्य, वातावरण, सरसफाइ र सामाजिक उत्तरदायित्वसम्बन्धी परियोजनामूलक तथा अनुसन्धानमुखी कार्यक्रमको प्रकाशन र प्रसारण गरिनु उपयुक्त हुन्छ । यसबाहेक स्थानीय स्तरमा क्रियाशील विभिन्न संघसंस्थासँग सहकार्य गरी अनुसन्धानमूलक विषयवस्तु उजागर गर्ने कार्यमा पनि नगर क्षेत्रका सञ्चार माध्यमहरू अझ सक्रिय भई अगाडि बढ्न जरुरी छ ।
(पथरीशनिश्चरे नगरपालिकाकाे लेखनवृत्तिका लागि तयार पारिएको सामग्री)