कुखुरा बिक्री नभएपछि जिउँदै गाडियो

कुखुरा बिक्री नभएपछि जिउँदै गाडियो

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले देशलाई गरेको लकडाउनले दाना अभाव भएपछि प्रदेश २ का व्यवसायीहरुले धमाधम जिउँदै कुखुरा गाडेर नष्ट गर्न थालेका छन्।

सर्लाहीको मलंगवास्थित चन्दन पोल्ट्री फार्मका सञ्चालक चन्दन सिंहले करिब १५ हजार कुखुरा नष्ट गरिसके। उनको फार्ममा अझै २० हजार कुखुरा छन्। दाना अभावकै कारण कुखुरा आफैं मर्न थालेको फार्म सञ्चालक सिंहले बताए। तयार भइसके पनि बिक्री हुने अवस्था देखेपछि बाध्य भएर कुखुरालाई खाल्टो खनेर नष्ट पारेको उनको गुनासो छ।

सिंह भन्छन्, ‘लकडाउनको ८-१० दिनपछि दाना सकियो। त्यसपछि भोकले कुखुराहरु मर्न थाले। करिब ५ हजारभन्दा बढी आफैं मरे। अनि करिब १० हजार कुखुरा तयार भए पनि विक्री नभएपछि बाध्य भएर माटो खनेर नष्ट गर्नुपर्यो।’

उनले पछिल्लो समय केही दाना उपलब्ध भएपछि करिब २० हजार कुखुरालाई बचाएर राखेको बताए। ‘भएको दाना पनि सकिन लाग्यो, लकडाउन खुल्ने अवस्था छैन’, उनले भने, ‘यस्तै अवस्था रह्यो भने बाँकी कुखुरा पनि नष्ट गर्नुपर्छ।’ लकडाउनका कारण करोडौंको घाटा लागेको उनले दुःखेसो पोखे।

यस्तै रौटहटको राजदेवी नगरपालिका-४ स्थित पशुपंक्षी एण्ड फिस फार्मका सञ्चालक राधेश्याम साहले पनि एक हजार कुखुरा नष्ट पारेका छन्। उनले खाल्टो खनेर जिउँदै कुखुरालाई माटोले पुरेर नष्ट पारेका हुन्। लकडाउनले दाना नपाएपछि कुखुरा नष्ट गर्नुपरेको उनले बताए।

‘लकडाउनमा न कुखुरा बिक्री गर्न दिन्छन्, न कतै दाना पाइरहेको छ’, व्यावसायी साहले भने, ‘बिक्री गर्ने कुनै उपाय नदेखेपछि बाध्य भएर खाल्टोमा जिउदै कुखुरालाई नष्ट गर्नुपरेको छ।’ दाना अभाव र बिक्री गर्न नपाएका प्रदेश २ का हजारौं किसानले लाखौं कुखुरा नष्ट गरिसकेको उनको भनाइ छ।

सरकारले पीडा नबुझेको गुनासो
कुखुरापालक किसानले आफूहरुको दुःख सरकारले पनि नबुझेको गुनासो गरेका छन्। कुखुरा खाएपछि कोरोनाको संक्रमण फैलिने गलत हल्लाबारे सरकारले प्रष्ट पार्न नसक्दा पनि समस्या भएको उनीहरु बताउँछन्।

कुखुरापालक राधेश्याम साहले प्रदेश सरकारका कृषिमन्त्री शैलेन्द्र साह र राज्यमन्त्री योगेन्द्र राय यादवसँग कुखुराको मासु पसल खोल्न दिने वातावरण बनाइदिन आग्रह गर्दा पनि बेवास्ता गरेको गुनासो पोखे। उनले भने, ‘कुखुरा खाँदा कोरोना लाग्छन् भन्ने भ्रमलाई सरकारले चिर्न सकेन। जसले गर्दा आज हामी व्यावसायी ठूलो संकटमा परेका छौं।’

तरकारी तथा फलफूलको पसल सञ्चालन गर्न दिएजस्तै व्यवस्थित किसिमले कुखुरा मासु पसल खोल्न दिने वातावरण बनाउन नसकेकोमा उनले दुःख व्यक्त गरे। ‘कुखुरा व्यावसायीहरु संकटमा पर्नुको मुख्य दोषी प्रशासन र सरकार नै हो,’ उनले थपे।

सम्बन्धित खवर