हामी घर भित्र बस्दा समाज र देशलाई सहयोग हुन्छ भने किन नबस्ने ?

हामी घर भित्र बस्दा समाज र देशलाई सहयोग हुन्छ भने किन नबस्ने ?

प्रबेश बिष्ट

विश्वव्यापीरुपमा फैलिएको कोरोना भाईरस ( कोभिड १९ ) ले संसारलाई नै त्रसित बनाएको छ । कोरोना भाईरसको रोकथाम गर्न विभिन्न देशहरु यसको प्रयासमा लागिरहेका छन् । कतै लकडाउन कतै कर्फ्यूको स्थिति छ । वर्तमान समयमा कोरोनाको प्रकोपबाट त्रसित नभएको सायद कुनै क्षेत्र छैन होला ।

यसको प्रकोप नेपालमा पनि देखा परेको छ । कोरोना भाईरसबाट विश्व नै आतंकित भइरहेको बेला नेपालमा पनि कोभिड १९ का संक्रमित बिरामी भेटिएका छन् । यससँगै नेपाल सरकारले कोरोना भाईरसको सम्भावित रोकथाम तथा नियन्त्रणका लागि लक डाउन घोषणा गरेको छ । सामाजिक पृथ्वीकरणले गर्दा मानिसहरुको समूहमा भेला हुने प्रचलन निषेधित गरिएको छ ।

कसैले पनि नसोच्नु की लक डाउनको अर्थ सरकारले मनोरञ्जनका लागि विदा दिएको हो । तर यो कफर््यू लगाएको पनि होइन । लक डाउनले दिन खोजेको सन्देश र यसको अर्थ कफर््यू भन्दा गम्भिर छ । यो आपतकालीन र संकटकालीन अवस्थामा नागरिक आफैँ पनि सचेत हुन अति आवश्यक छ ।

कोरोना भाईरस र नेपाल
कोभिड १९ नामक कोरोना भाईरसको संक्रमण खासगरी चीनको वुहान सहरबाट सुरु भएको हो । चीनसँग सिमा जोडिएको र ऐतिहासिक रुपमा द्विपक्षिय सम्बन्ध गाँसिएको हुनाले नेपालमा उच्च जोखिम रहेको छ । सिमा जोडिएको हुनाले नेपाललाई समयमै सतर्कता अपनाउन भनिएको थियो । ककसले कति सतर्कता अपनाए त्यो आफ्नो ठाँउमा छ ।

कोरोना भाईरस भित्रिए कसरी सामना गर्ने भन्ने विषयमा नेपाल सरकारको समयमै ध्यान केन्द्रित हुनुपर्ने थियो । विमानस्थल र नाकाको कडाईमा समयमै सम्बन्धित निकायले चासो नदिएकै कारण आज नेपालमा कोरोना संक्रमण देखा परिसकेको छ ।

कोरोना भाईरसले हाम्रो समुदायका आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा नकारात्मक प्रभाव पार्ने निश्चित छ ।

कोरोना र हाम्रो समाज
कोरोना भाईरसबाट हामी कोही संक्रमित भैहालेका त छैनौँ होला तर कोरोनाको भय र भ्रमले गर्दा हामी थलिइसकेका छांै । कोभिड १९ भन्दा पनि डरलाग्दो भाईरसका रुपमा खडा भएको छ हामीले समाजमा जन्माएको अनावश्यक भ्रम ।

जे होस्, अहिलेको प्राथमिकता कोरोना भाईरसको संक्रमणबाट जोगिनु र जोगाउनु बाहेकको विकल्प हामीसँग छैन । यो जटिल परिस्थितिमा एकअर्काको साथको आभास गर्नुपर्छ । यो अन्य प्राकृतिक विपद्भन्दा पृथक छ । यसले विश्वलाई नै एकैसाथ ग्रसित बनाएको छ । हामी घरभित्र बसिदिँदा आफू सुरक्षित हुनुका साथै परिवार, समाज र मूलुकलाई बचाउन ठुलो सहयोग हुन्छ भने हामीले यति किन नगर्ने ?

कोरोना र सुरक्षाकर्मी
सुरक्षाकर्मीहरु उच्च जोखिम मोलेर देश र जनताका निम्ति सुरक्षा दिइरहेका छन् । उद्दार, राहत र सिमा, विमानस्थल, सडक, भिडभाड लगायतका क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरुले उच्च सतर्कता नअपनाउने हो भने कोरोनाले निम्त्याउने संकट अझ भयबाहक हुन्छ । सरकार र आम जनताको जस्तो सुरक्षाकर्मीहरुको मनोबल पनि उच्च बनाउनुपर्छ । ड्युटिमा खटिँदा सुरक्षित भई आवश्यक मास्क, पञ्जा, पोशाक, सेनिटाइजर लगायतका सामाग्री तत्काल उनीहरुलाई उपलब्ध गराउनुपर्छ ।

कोरोना र कालोबजारी
हाम्रा देशका व्यापारीहरुलाई देशमा संकट देखा पर्दा ठुलै चाडपर्व आए झँै हुन्छ । कयौं संकटका समयमा पनि चेत्न नसकेका व्यापारीहरु अहिले विश्व नै त्रसित भई रहेको अवस्थामा कालोबजारी सुरु गर्न थालिसकेका छन् । व्यापारीहरुले मानवता भन्ने चिज नै पर सारिसकेका छन् ।

व्यापारीहरुले कसलाई कतिबेला के आपत पर्छ भनेर मौका पर्खिरहेका छन् । सर्वसाधरणले आफ्नो चुल्हो बाल्न नसकेको अवस्थामा बिहान बेलुकाको छाक टार्न गाह्रो भैरहँदा सामानको भाऊ आकाशिन थालेको छ ।

अन्य संकटको समयमा जस्तो आफूसँग भएको सामान लुकाएर अभाव खडा गर्न व्यापारीहरु पल्किसकेका छन् । व्यापारीहरु सामान लुकाउने अनि महँगोमा बिक्री गरेर नाफा कमाउने दाउमा यतिबेला कोरोना भाईरसलाई पनि बनाईरहेका छन् ।

कोरोनाको प्रभाव बाँझो खेत जोतिए
कोरोना भाईरसले गर्दा वर्षाैँदेखि विदेशिएका छोराहरुका कारण बाँझिएका खेतहरु जोतिन थालेका छन् । विदेशिएका युवाहरु र सहर पसेका युवाहरु गाँउ पस्न थालेपछि बाँझो खेतहरु जोतिने आश पलाएको हो । लक डाउनले गर्दा बाहिर हिँडडुल गर्न नपाएपछि खेतबारीमा काम गरेर मानिसहरुले दिन बिताउने गर्ने गरेका छन् ।
अहिले मानिसहरु होम क्वारेनटाइनमा भन्दा खेत क्वारेनटाइनमा बढी भेटिन्छन् । लक डाउनले गर्दा देनिक उपभोग्य वस्तुमा समस्या आएपछि उनिहरुमा आफैमा आत्मनिर्भर बन्ने अठोट जागेको छ ।

सम्बन्धित खवर