हात्तीबाट त्रसित स्थानीय बासिन्दाहरु

हात्तीबाट त्रसित स्थानीय बासिन्दाहरु

कञ्चपुर : जंगली हात्तीको बथानले एकैरातमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-५ मा नौ विघा बढी जग्गामा लगाएको गहुँबालीमा क्षति पुर्‍याएको छ। गएराति शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट खजुवा, गर्जमुनिलगायतको बस्तीमा छिरेका हात्तीको बथानले गहुँबालीमा क्षति गरेको हो।

स्थानिय बासिन्दा देवराज जोशीले हात्तीको बथानले बाला लागेको गहुँबाली खाएर र खुट्टाले कुल्चेर नोक्सान पुर्‍याएको बताए। ‘धेरै किसानको पूरै गहुँबालीमा क्षति गरेको छ,’ उनले भने, ‘खेतको गहुँ पूरै नष्ट भएपछि परिवारका लागि बाह्य क्षेत्रबाट गहुँ खरिद गर्नुपर्ने अवस्था आएको छ।’ हात्तीले गहुँबाली क्षति पुर्‍याएको किसानको खेतमा बिहीबार अनुगमन गर्दै नगर प्रमुख दिलबहादुर ऐरले तीन दर्जन बढी किसानको आठदेखि नौ विघा जग्गमा लगाइएको गहुँबालीमा हात्तीको बथानले क्षति पुर्‍याएको बताए।

किसानको गहुँबालीसँगै तोरी, केरालगायतमा बालीमा पनि क्षति गरेको पाइएको छ। उनले हात्ती नियन्त्रणका लागि नगरपालिकाको एक्लो प्रयासले नसकिने भएकाले संघीय सरकार र प्रदेश सरकारले सहयोग गर्नुपर्ने उनले बताए।

‘विसं २०७४ सालदेखि हात्तीको बथानले निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दाको अन्न बाली खाएर नोक्सानी गर्दै आएको छ’ उनले भने, ‘तीन वर्षको अवधिमा नौ सय ५० परिवारले हात्तीकै कारण क्षति व्यहोरेका छन।’ हात्तीका कारण नगरपालिका-१, २, ३, ४, ५, ६, ७, ८ र १२ वडाका बासिन्दा प्रभावित हुँदै आएका छन्।

सम्बन्धित खवर