विश्वमै उत्कृष्ट ध्वाँसे चितुवा संरक्षण

विश्वमै उत्कृष्ट ध्वाँसे चितुवा संरक्षण

नेपालको ध्वाँसे चितुवा संरक्षण परियोजना विश्वकै उत्कृष्ट बन्न सफल भएको छ । यसअघि उत्कृष्ट पाँचमा पर्न सफल भएका यो परियोजनासहित पाँचवटालाई खुला मतदानका लागि आह्वान गरिएको थियो । विश्वभरबाट प्राप्तमध्ये सबैभन्दा बढी मत प्राप्त गर्दै ध्वाँसे चितुवा परियोजना उत्कृष्ट बनेको युरोपियन आउटडोर कन्जर्भेसन एसोसिएसनले जनाएको छ ।
अनलाइन मतदान भएकामा यस समूहमा रहेको अन्य चार परियोजनालाई उछिन्दै नेपालको परियोजना उत्कृष्ट भएको हो । मङ्गलबार राति सार्वजनिक नतिजाअनुसार पाँच परियोजनाका लागि कुल १८ हजार ८७२ मत खसेको थियो ।
कुल ४४ प्रतिशत अर्थात् आठ हजार ३४२ मत प्राप्त गर्दै नेपालको परियोजनाले बाजी मारेको जनाइएको छ । नेपाल पछ्याउँँदै अघि बढेको आर्मे्नियाको मानव भालु द्वन्द्व समाधान परियोजनालाई एक हजार ७३७ मतले नेपालले पछि पारेको थियो ।
परियोजना निर्माणकर्ता प्रकृतिका साथीहरू संस्थाका कार्यकारी निर्देशक राजु आचार्यले भन्नुभयो, “अन्तिम समयमा मतदानमा अत्यधिक प्रतिस्पर्धा भयो तर अन्त्यमा हामीले नै जित्यौँ । लगातारको प्रयासपछि बल्ल यो जित हात परेको हो । ”
नेपालको ध्वाँसे चितुवाबाहेक म्याक्सिोकोको मरुन फ्रन्टेड प्यारोट संरक्षण परियोजना, कोलम्बियाको वन हेरालु संरक्षण परियोजना, इक्वेडरको दशजार वृक्षरोपण परियोजना र अर्मा्नियाको मानव–भालु द्वन्द्व समाधान परियोजना उत्कृष्ट पाँचभित्र रहेको थियो ।
प्रतिस्पर्धामा सहभागी १५ परियोजनालाई पाँच–पाँच परियोजना सामेल गरी तीन समूहमा विभाजन गरी मतको आह्वान गरिएको थियो । पन्ध्र परियोजनामा पनि सबैभन्दा धेरै २६ प्रतिशत मत नेपालले प्राप्त गरेको थियो ।
परियोजना उत्कृष्ट भएसँगै आयोजक संस्थाले ३० हजार युरो डलर अर्थात् करिब ३७ लाख रुपियाँ नेपालमा ध्वाँसे चितुवा संरक्षणका लागि प्रदान गर्ने छ । प्राप्त रकमले कास्कीको मादी गाउँपालिकास्थित सिक्लेस र ताङ्तिङ गाउँमा संरक्षण कार्यक्रम सञ्चालन हुने आचार्यले जानकारी दिनुभयो । साथै पर्यटन र संरक्षणमार्फत स्थानीयको जनजीविका अतिरिक्त बनाउने काम गरिने उहाँले बताउनुभयो । गोरखापत्र

सम्बन्धित खवर